२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

कुहिने फोहोर व्यवस्थापनका लागि स्थान पहिचान भएन

काठमाडौँ उपत्यकामा उत्पादन हुने कुहिने फोहोर यहीँ नै व्यवस्थापन गर्ने भने पनि हालसम्म स्थान पहिचान हुन सकेको छैन। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले कुहिने फोहोर यहीँ व्यवस्थापन गर्ने घोषणा गरेपनि हालसम्म कार्यान्वयन  हुन सकेको छैन।  

सम्भावित पाँच स्थानको पहिचान गरे पनि स्थानीय सकारात्मक हुन नसक्दा थप प्रक्रिया अघि बढ्न नसकेको महानगरले जनाएको छ।  महानगरका प्रमुख साहको सचिवालय सदस्य सुनील लम्सालका अनुसार अहिलेसम्म विभिन्न पाँच स्थानमा ५० देखि एक सय ५० रोपनी जग्गाको पहिचान भएको छ। उक्त विषयमा स्थानीय सकारात्मक हुन नसकेका उनको भनाइ छ। उनीहरुलाई कुहिने फोहोरबाट मल उत्पादन गर्दा हुने फाइदा र त्यसको सकारात्मक पक्षका बारेमा जानकारी दिन आवश्यक रहेको लम्सालले बताए। 

स्थानीय सकारात्मक नभएकै कारण गत साउन अन्तिम सातादेखि कीर्तिपुरमा केही कुहिने फोहोर व्यवस्थापन गर्ने भने पनि काम सुरु हुन नसकेको महानगरले जनाएको छ। तीन महिनापछि हानिकारक फोहोर बञ्चरेडाँडामा नफाल्ने गरी कार्य अघि बढाइएको महानगरको दाबी छ। दुई महिनादेखि विसर्जन हुन नसकेको काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको सम्बन्धमा बुधबार काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच पुरानै सम्झौताका बुदाहरु कार्यान्वयन गर्ने सहमतिपछि बिहीबारदेखि साबिक बमोजिम फोहोर व्यवस्थापन हुन थालेको छ।  

पटकपटकको सहमति कार्यान्वयन नगरेको भन्दै स्थानीयले समयसमयमा अवरोध गर्दै गर्दा काठमाडौँमा फोहोरको डङ्गुर थुप्रने गरेको छ। यसरी स्थानीयले सहमतिपछि पनि अवरोध गर्ने गरेकाले हालको सम्झौता पनि दीर्घकालीन नभएको भन्दै महानगरले अन्य स्थानमा पनि फोहोर व्यवस्थापन गर्न स्थान पहिचानको काम जारी राखेको जनाएको छ।  

साबिक बमोजिम फोहोर व्यवस्थापनका लागि स्थानीयले अवरोध नगरे, पानी परेर बाटो बन्द नभए आगामी १० दिनमा यसअघि थुप्रिएको सबै फोहोर अन्तिम व्यवस्थापनस्थलसम्म लग्ने महानगरको योजना छ।  रासस

प्रकाशित: ४ भाद्र २०७९ १२:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App