सार्क विदेशमन्त्रीहरुको बैठक चैत १ देखि ४ सम्म हुँदैछ। पहिलो २ दिन सचिव/ सहसचिवस्तरीय र पछिल्लो २ दिन मन्त्रीस्तरीय बैठक हुनेछ। होटलहरुको अवलोकनपछि मन्त्री थापाले यही होटल भन्ने निर्णय केही दिनभित्रै टुंग्याइने जानकारी दिए। 'बैठक पोखरामा गर्ने निर्णय हामीले गरिसकेका छौं,' उनले भने, 'केही दिनमै होटल पनि टुंगो लागिहाल्छ ।' पोखरामा ५ तारे स्तरका २ वटा फूलबारी र पोखरा ग्रान्ड होटल छन्।
कास्कीका स्थानीय विकास अधिकारी (एलडिओ) रामचन्द्र तिवारीले परराष्ट्र मन्त्रालयका प्रोटोकल अफ चिफ आउँदा यहाँका पाँचतारे पूmलबारी, पोखरा ग्रान्ड, फिस्टेल र सांग्रिला, होटलको अवलोकन गरेको जानकारी दिए। परराष्ट्रमन्त्री थापाले पनि ती होटलहरुको अवलोकन गरेका थिए । सार्क राष्ट्रका विदेश मन्त्रीसहितका पाहुनाहरुका लागि आवश्यक पर्ने सुइट रुमहरुको अवलोकन परराष्ट्र मन्त्री र प्रोटोकल चिफले गरेका थिए ।
पोखराको होटल पूmलबारीमा १३, पोखरा ग्रान्डमा ४ वटा सुइट रुम छन् । ग्रान्डले अरु ४ वटा थप्न सक्नेछ । टेम्पल ट्रीमा एउटा सुइट रुम छ । सार्क विदेश मन्त्री स्तरीय बैठकका लागि ८ वटा सुइट रुम चाहिने बताइएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय प्रशासक शंकर कोइरालाले बैठकका लागि पोखरा शान्ति सुरक्षाका दृष्टिले उपयुक्त रहेको बताए । 'सुरक्षा व्यवस्थाका लागि हामी सक्षम र बलियो छौं,' उनले भने, 'बैठकका लागि सुरक्षाका तर्फबाट कुनै कमजोरी हुने छैन ।'
बैठकका लागि आवश्यक पूर्वाधार बनाउन तयार रहेको कास्कीका स्थानीय विकास अधिकारी (एलडिओ) रामचन्द्र तिवारीले जानकारी दिए । 'नगरको सरसफाइ, सडकबत्ती व्यवस्थापनदेखि सडकका खाल्डाखुल्डी पुर्न स्थानीय निकाय तयार छन्,' उनले भने । केन्द्रले औपचारिक रुपमा भन्नासाथ आवश्यकता अनुसार सडकको स्तरोन्नति लगायत काम सुरु हुने जानकारी उनले दिए । सडक स्तरोन्नतिसँग आवश्यक सवारी साधन पनि व्यवस्था मिलाइले तिवारीले बताए ।
पोहोर मंसिरमा १८ औं सार्क शिखर सम्मेलन भएको थियो। उक्त सम्मेलन पोखरामा आयोजना गर्ने भनिए पनि सडक, आवतजावत र व्यवस्थापकीय समस्या देखाउँदै सरकारले काठमाडौंमै आयोजना गरेको थियो। पोहोरको शिखर सम्मेलन लगत्तै विदेश मन्त्री स्तरीय बैठक हुनुपर्ने थियो। तर, बैठक भएन। अब यो वर्षको नोभेम्बरमा पाकिस्तानमा शिखर सम्मेलन हुने भएको छ । सोही कारण पनि त्यसअघि नै विदेश मन्त्री स्तरीय बैठक गर्न नेपाललाई दबाब छ ।
प्रकाशित: १ फाल्गुन २०७२ ०५:४५ शनिबार