१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ग्रावेल सडक हिलाम्मे

दुल्लु नगरपालिकाको मुख्य बजार चाँदनी चौकको हिलाम्मे सडक। तस्विर ः नागरिक

पूर्वाधार विकास कार्यालय दैलेखबाट दुल्लु नगरपालिकाको प्रमुख बजारमा गरिएको ग्रावेल एक वर्षमै हिलाम्मे भएको छ। गुणस्तरहिन सामाग्री प्रयोग गरेर ग्रावेल गरिएका कारण सडकको अवस्था विजोग भएको हो।

गत वर्ष ग्रावेल गर्दा गुणस्तरहिन काम भएको भन्दै सम्बन्धित कार्यालयलाई खबर गर्दा समेत सुनुवाई नभएको दुल्ल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणी नेपालले बताए। ‘पूर्वाधार विकास कार्यालयले टेन्डर मार्फत गरेको ग्रावेल राम्रो नहुँदा अहिले पुरै हिलो भएको छ।’ प्रमुख प्रशासकीय अधिकृत नेपालले भने, तत्काल हिलो हटाउन मन्त्रालयबाट पूर्वाधार कार्यालय दैलेखलाई निर्देशन भएको र, केही दिनपछि फेरि काम सुरु हुन्छ।’  

दैलेखको पुरानो नगरपालिका दुल्लुको मुख्य बजार नै वर्षात समयमा हिलाम्मे हुँदा चाँदनी चौकदेखी बजार क्षेत्रमा हिलो जम्न थालेपछि सवारी र पैदल हिँड्नेहरुलाई सास्ती भएको हो।  

हिलाम्मे सडक सफा गर्ने कार्ययोजना नबनाउँदा वर्षेनी दुल्लुको मुख्य चौकहरुमा हिलोले स्थानीय नागरिक र सवारीसाधनहरु आउजाउ गर्न समस्या भएको स्थानीय अगुवा कपिल खनालले बताए। स्थानीयका अनुसार धेरै स्थानीयहरु सडक पार गर्न लाग्दा हिलोमा लडेर घाइते समेत भएका छन्। आफू दुई पटक मोटरसाइकल लिएर जाँदा हिलो चिप्लिएर पल्टिएको स्थानीय भिम बुढाले बताए। उनले भने, ‘नगरपालिकाको मुटु मानिने मुख्य बजार हिलोले डुब्दा मान्छे समेत हिँड्न नमिल्ने भएको छ। यो भन्दा ठुलो लाज नगरपालिकाको के हुन सक्छ।’  

नगर पालिकाको आफ्नै डोजरदेखी टिप्पर समेत छ। तर, प्रदेश सरकारबाट ग्रावेलको काम हुँदा योजना दोहोरिने भन्दै नगरपालिकाले हात हालेको छैन।  दुल्लुको मुख्य बजार चाँदनी चौकदेखि घियातिधुसम्म पूर्वाधार कार्यालय मार्फत ग्रावेल गरिएको थियो। घर बनाउँदा माटो खनेर फिजाएका कारण बढी हिलाम्मे भएको पूर्वाधार विकास कार्यालय दैलेखका प्रमुख प्रभाकर सिंहले बताए। ‘ग्रावेल गरिएको सडकमा अलिअलि हिलो छ।’ प्रमुख सिंहले भने, स्थानीयहरुले घर बनाउँदा खनेको माटो सडकमा हाल्दा बढी हिलो देखिएको हो।’ पूर्वाधार विकास कार्यालय दैलेखले ग्रावेल गर्ने ठेकेदारलाई अहिलेसम्म भुक्तानी दिएको छैन्। 

प्रकाशित: १८ श्रावण २०७९ १३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App