नेपालको इँटा उद्योगमा ९० प्रतिशत भारतीय र १० प्रतिशत मात्र नेपाली कामदार भएको नेपाल इँटा उद्योग व्यवसायी महासंघका केन्द्रीय कोषाध्यक्ष तथा मधेश प्रदेश अध्यक्ष विक्रम कुमार साहले खुलासा गरेका छन्।
रौतहट इँटा उद्योग व्यवसायी संघको सातौँ साधारण सभा तथा पाँचौ अधिवेशनमा बोल्दै प्रदेश अध्यक्ष साहले नेपालमा दक्ष कामदार नपाउँदा भारतीय कामदारको आधिपत्य रहेको बताउँदै आफूहरूले केन्द्र सरकारलाई बारम्बार दक्ष कामदारको तालिमको लागि आग्रह गरेको सुनाए।
संघका रौतहट अध्यक्ष राम विनोद साहको सभापतित्वमा गरुडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष साहले प्रदेशमा एक हजार ३४९ इँटा उद्योग रहेकामा विस्तारै अहिले ७०० मा झरेको बताए। बिमा नहुँदा उद्योगी पलायन हुँदा राज्यलाई पनि ठुलो आर्थिक घाटा भएको साहको दाबी छ। सरकारले इँटा उद्योगलाई बिमा नगर्ने हो भने विस्तारै उद्योगीहरू पलायन हुँदै विदेशबाट इँटा ल्याउनुपर्ने अवस्था आउन सक्ने चेतावनी पनि दिए।
कार्यक्रममा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कल्वारले करोडौँको लगानी गरेर इँटा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धाले उद्योगी टाट पल्टिरहेकोले सबै पक्षले गम्भीर भएर विचार गर्नुपर्ने बताए।
रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले ऐन कानुनको परिधिमा रहेर उद्योग सञ्चालन गर्न सुझाव दिए। प्रजिअ खड्काले वातावरणलाई विशेष ध्यान दिनुपर्ने र बालश्रम शोषण गर्न नहुने बताउँदै पुस मसान्तपछि मात्र उद्योग सञ्चालन गर्न सुझाव दिए।
अध्यक्ष राम विनोद साहले रौतहटमा १६३ इँटा उद्योगमध्ये करिब ६० ओटा मात्र सञ्चालनमा रहेको बताउँदै इँटा उद्योगीको समस्या कसैले नबुझेको बताए।
प्रकाशित: ३० श्रावण २०८२ २१:५४ शुक्रबार





