२० श्रावण २०८३ बुधबार
image/svg+xml
अपराध

मुद्दा मिलाएर जेलबाट छुटाइदिन्छु भनी पाँच लाख ठगी गर्ने पक्राउ

कारागारमा रहेका व्यक्तिलाई छुटाइदिने प्रलोभन देखाएर साढे ५ लाख रुपैयाँभन्दा बढी असुली गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

अदालत, कारागार र प्रहरीमा आफ्नो उच्च पहुँच रहेको दाबी गर्दै रकम असुल्ने शिवराज नगरपालिका-५ बालानगर निवासी ३६ वर्षीय जग्गु तेलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

सवारी ज्यानसम्बन्धी कसुर मुद्दामा बाणगंगा नगरपालिका-४ गजेहडाका ६५ वर्षीय अब्दुल मोबिन मुसलमानका छोरा अकबर अली कारागार कार्यालय तौलिहवामा थिए। सोही पारिवारिक संकटको फाइदा उठाउँदै तेलीले विभिन्न सरकारी निकायमा आफ्नो पहुँच रहेको र मुद्दा मिलाएर जेलबाट छुटाइदिने आश्वासन दिएका थिए।

तेलीले मिलाइदिने बहानामा विभिन्न मितिमा पटक-पटक गरी कुल ५ लाख ६२ हजार रुपैयाँ असुल गरेका थिए। रकम बुझाएपछि पनि काम नभएपछि आफू ठगिएको थाहा पाएर पीडितले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएका थिए।

जाहेरी परेलगत्तै जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र इलाका प्रहरी कार्यालय बहादुरगञ्जको संयुक्त टोलीले तेलीलाई शिवराज नगरपालिका-७ रुद्रपुर क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

उनीमाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिएका छन्।

तेलीविरुद्ध कपिलवस्तु जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर प्रहरीले हिरासतमा राखी अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: २० श्रावण २०८३ १९:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App