नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज र सिराहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाको छानबिनका लागि सरकारले गठन गरेको समिति सरकारका कमजोरी लुकाउन मात्र सीमित हुने आशंका व्यक्त गर्दै स्वतन्त्र उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ।
बुधबार पार्टीले सार्वजनिक गरेको समसामयिक धारणा पत्रमा कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा भएको दुःखद घटनापछि सिर्जित तनावपूर्ण अवस्था गम्भीर चिन्ताको विषय भएको उल्लेख गर्दै पछिल्लो समय देशका विभिन्न स्थानमा देखिएको सुरक्षा संयन्त्रको कमजोरी र तयारीको अभावले नागरिकको सुरक्षा थप असुरक्षित बनेको जनाएको छ।
कांग्रेसले सुनसरी र सिराहाको घटनामा राज्य संयमित तथा जिम्मेवार ढंगले प्रस्तुत हुन नसकेको आरोप लगाएको छ। नागरिकले राज्यको उपस्थिति सुरक्षा र विश्वासका रूपमा होइन, गोली, लाठी र दमनका रूपमा महसुस गर्नुपरेको टिप्पणी गर्दै सरकारका जिम्मेवार व्यक्तिहरू सामाजिक सञ्जालमै सीमित भएको तथा निजी सहयोगीलाई घटनास्थलमा पठाएको घटनाले सरकारको कार्यशैली उजागर गरेको दाबी गरेको छ।
राष्ट्रमा देखिएका यस्ता संकट कुनै एक दल वा सरकारको मात्र नभई सम्पूर्ण राष्ट्रको साझा चुनौती भएको उल्लेख गर्दै कांग्रेसले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र विविधतामा एकतालाई बलियो बनाउनु नै अहिलेको आवश्यकता रहेको जनाएको छ। पार्टीले देश र जनतालाई दलभन्दा माथि राख्दै शान्ति, सद्भाव र सामाजिक एकताका लागि आफ्नो सम्पूर्ण शक्ति परिचालन गरेको पनि जनाएको छ।
कांग्रेसले घटनामा ज्यान गुमाएकाका परिवारको सुरक्षा र संरक्षण, घाइतेको निःशुल्क उपचार तथा आगजनी र तोडफोडबाट भएको क्षतिको उचित क्षतिपूर्ति तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
सरकारले गठन गरेको छानबिन समितिमाथि अविश्वास व्यक्त गर्दै कांग्रेसले उक्त समिति सरकारका कमजोरी ढाकछोप गर्न सीमित हुने संशय रहेको जनाएको छ। त्यसैले निष्पक्ष, स्वतन्त्र र सबै पक्षले विश्वास गर्ने उच्चस्तरीय न्यायिक आयोग गठन गरी घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग कांग्रेसले गरेको छ।
प्रकाशित: २० श्रावण २०८३ १९:४२ बुधबार





