१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

द्वन्द्वपीडितलाई पुर्नस्थापना गराउन कार्यक्रम सञ्चालन

कार्यक्रममा त्रियुगा उपमेयर महेश्वरी राई। तस्विरः महेश्वर

सशस्त्र जनयुद्धदेखि विभिन्न खाले आन्दोलन र संघर्षको क्रमका द्वन्द्वपीडित भएका परिवारलाई पुर्नस्थापित गराउने उदेश्यले उदयपुरमा परियोजना सञ्चालन हुने भएको छ। द्वन्द्वपीडित परिवारका सदस्यहरुलाई पुर्नस्थापित गराई सामाजिक हैसियतमा ल्याउन ‘द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल’ ले परियोजना सञ्चालन थालेको हो।  

तत्कालीन नेकपा (माओबादी)को १० वर्षे सशस्त्र जनयुद्ध र त्यसपछिका विभिन्न आन्दोलनका क्रममा राज्य र बिद्रोहीपक्षबाट अभिभावक, परिवारका सदस्य गुमाउन पुगेका, अंगभंग र घाइते भएका, बिस्थापित तथा वेपत्ता भएकाहरुको परिवारलाई समाजमा पुर्नस्थापित गराई सामाजिक हैसियत दिलाउन परियोजना सञ्चालनमा ल्याएको हो।  

सञ्जालले ‘न्यायमा पहु्ँच सबलीकरण परियोजना’मार्फत सुरु परियोजनाले द्वन्द्वपीडित परिवारका सदस्यलाई पुर्नस्थापना गरी न्यायमा पहुँच पुर्‍याउँदै सामाजिक हैसियत बनाउन परियोजनाले सहयोग गर्ने अपेक्षा गरिएको कार्यक्रम संयोजक दुर्गा कार्कीले बताइन्।

गएको पुसदेखि परियोजना सञ्चालनमा ल्याएको सञ्जालले परियोजनाबारे जानकारी गराउन मंगलबार जिल्लाका विभिन्न सरोकारवाला निकाय र व्यक्तिहरुको सहभागितामा ‘परिचयात्मक कार्यक्रम’ आयोजना गरेको छ। त्रियुगा नगर उपप्रमुख महेश्वरी राई, जिल्ला समन्वय समिति उदयपुरकी सदस्य गोमा ढुंगानालगायत जनप्रतिनिधि, नेकपा (एमाले) जिल्ला सचिवालय सदस्य सृजना दनुवार, नेकपा (माओबादी केन्द्र) प्रदेश कमिटी सदस्य सम्झना तामाङलगायत सरोकारवालाहरुको उपस्थितिमा भएको कार्यक्रममा द्वन्द्वपीडितका समस्याबारे आयोजकले राय संकलन गरेको थियो।  

संयोजक कार्कीका अनुसार परियोजनाको मुल उदेश्य नै द्वन्द्वपीडितका समस्या र समाधानका उपाय भएकाले त्यसैमा केन्द्रित रहेर परियोजना सञ्चालन भईरहेको छ। सञ्जालकी अध्यक्ष कल्पना ढकालले द्धन्द्धपीडितको तथ्यांक संकलन गरी समाजमा स्थापित गर्नेगरी मेलमिलाप, वहस, पैरवी, कानुनी सहायता र पहुँच निर्माणमा पैरवी गर्ने गरेको उनले बताइन्। सञ्जालले ४ जना कर्मचारी परिचालन गर्दै महिला समूह गठन, गाउँगाउँ पुगेर स्थानीयस्तरका झैझगडाको मेलमिलाप, द्वन्द्व व्यवस्थापन, न्यायका लागि बहस गर्ने काम गरिरहेको बताइन्।

सबभन्दा पहिला द्वन्द्व के हो? किन हुन्छ? र यसको व्यवस्थापन कसरी गर्दा शान्ति स्थापना हुन्छ भन्ने विषयमा समूहमार्फत समुदायलाई बुझाउने काम परियोजनाले गरिरहेको छ। द्वन्द्वपीडितलाई मनोपरामर्श मार्फत उनीहरुको दैनिकीमा सुधार ल्याउने लक्ष्य परियोजनाले लिएको ढकालको भनाई छ। उपमेयर राईले द्वन्द्वपीडितको भौतिक विकास र मानवीय विकासमा सहयोग पुग्नेगरी कार्यक्रमहरु गर्न सञ्जाललाई सुझाईन्। द्वन्द्वपीडितलाई हेर्ने दृष्टकोण अझै सकारात्मक नभईसकेको भन्दै उनले सामाजिक हैसियत निर्माणको अभियानमा लाग्नुपर्नेमा उपमेयर राईको जोड थियो।  

प्रकाशित: ११ श्रावण २०७९ ०९:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App