coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सशस्त्रको आगामी आइजिपी अर्याल

सशस्त्र प्रहरीको आगामी सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) राजु अर्याल बन्ने भएका छन्। यसै वैशाख १८ गतेपछि उनको आइजिपी बन्ने बाटो खुलेको छ। सरकारले रिक्त रहेको एउटा अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा गरेसँगै उनको आइजिपीका लागि बाटो खुलेको हो।

सशस्त्र प्रहरीमा दुईजना एआइजीको दरबन्दी छ। हालका आइजिपी पुष्पराम केसी चैत २८ गते एआइजीबाट आइजिपीमा बढुवा भएका थिए। उनी आइजिपीमा बढुवा भएपछि उनको स्थानको एआइजी पद रिक्त रहन गएको थियो भने अर्को एआइजीमा उनकै ‘ब्याचमेट’ रामशरण पौडेल कायम छन्।

सोही रिक्त एआइजी दरबन्दीमा मंगलबारको मन्त्रिपरिषद् बैठकले अर्याललाई एआइजीमा बढुवा गरेको छ। अर्यालसँगै एआइजीको दाबेदारमा उनकै ब्याचमेट सशस्त्र नायब महानिरीक्षक (डिआइजी) हरू नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाल पनि प्रतिस्पर्धी थिए।

उनीहरूलाई पछि पार्दै गृह मन्त्रालयले अर्याललाई एआइजीका लागि सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा अर्याललाई मन्त्रिपरिषद्ले एआइजीमा नियुक्त गरेको छ। नियुक्ति भएसँगै उनले बुधबार सशस्त्र प्रहरी महानिरीक्षक केसीबाट दज्र्यानी चिह्न ग्रहण गरिसकेका छन्।

यसपछि अर्यालको वैशाख १८ गतेपछि आइजिपी बन्ने बाटो पनि खुलेको छ। हालका आइजिपी केसी र उनका ब्याचमेल एआइजी पौडेल ३० वर्षे सेवा अवधिका कारण १८ गते अवकाशमा जाँदैछन्। उनीहरू दुवैजना अवकाशमा जाँदा सशस्त्र प्रहरीको सिनियर अधिकृतमा अर्याल पहिलो हुनेछन्।

‘उहाँ अब महानिरीक्षक हुने पक्का भएको छ,’ सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी विदुर खड्काले भने, ‘आइजिपी साब र एआइजी पौडेल साब अवकाशमा जाँदा उहाँ एक्लो एआइजी बाँकी रहनुहुन्छ। त्यसैले सिनियर उहाँ नै भएपछि स्वाभाविक रूपमा आइजिपी हुनुहुन्छ।’ उनी सशस्त्र प्रहरी नियमावली अनुसार पूर्ण कार्यकाल (चार वर्ष) का लागि आइजिपी हुने प्रवक्ता खड्काले बताए। उनले भने, ‘उहाँलाई पूर्ण कार्यकाल चलाउन उमेर हद र सेवा अवधिले छेक्दैनन्। पर्याप्त समय बाँकी छ।’

अर्याल २०५४ सालमा नेपाल प्रहरीका प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन्। डिआइजी हुँदा पछिल्लो समय सशस्त्र प्रहरी मुख्यालयकै मानव स्रोत विभागमा कार्यरत थिए। त्यसअघि उनीसँग प्रदेश २ वाहिनी र उपत्यका वाहिनीको कमान्ड सम्हालेको अनुभव छ।

यस्तै शान्ति मिसनहरूको नेतृत्व गरेको पनि  उनको अनुभव रहेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ। १८ गतेपछि उनी आइजिपीमा बढुवा हुँदा उनका ब्याचमेट डिआइजीहरू पौडेल, गौतम र दाहालबीच दुई एआइजी पदका लागि प्रतिस्पर्धा हुने देखिएको छ।

प्रकाशित: १५ वैशाख २०७९ ०३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App