१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सातामा दुई दिन बिदा तत्काल लागु नहुने

चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकमा सातामा दुई दिन बिदा दिने र त्यसको सट्टा हप्ताको पाँच दिन बिहान ९ देखि ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने विषयमा छलफल भयो। यसमा सैद्धान्तिक सहमति पनि भयो।

मन्त्रिपरिषद्मा छलफल भएको विषय बाहिर आएपछि वैशाख १ गतेदेखि सातामा दुई दिन बिदा हुने अनुमान धेरैले गरेका थिए। तर सो निर्णय कार्यान्वयनमा आइसकेको छैन। निजामती कर्मचारीहरू अझै पनि सातामा दुई दिन बिदा हुने या नहुने भनेर अन्योलमा छन्।

कतिपयले वैशाख ४ गते आइतबारदेखि सार्वजनिक बिदा हुने अनुमान पनि गरेका छन्। ‘चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकमा यसबारे छलफल मात्र भएको हो। यो छलफलको विषय मात्र हो,’ एक मन्त्रीले भनिन्, ‘यसबारे निर्णय भएको छैन।’

सातामा दुई दिने बिदा दिने सम्बन्धमा निर्णय नभएको र यसबारे कुनै तयारी र गृहकार्य पनि नभएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले बताए। ‘मन्त्रिपरिषद्मा छलफल भयो या भएन। थाहा भएन तर यसबारे कुनै तयारी र गृहकार्य भएको छैन,’ अधिकारीले भने, ‘त्यसैले सातामा दुई दिन बिदा दिने निर्णय तत्काल लागु हुँदैन।’

गृह मन्त्रालयको प्रवक्ता फणीन्द्रमणि पोखरेलले पनि सातामा दुई दिन बिदा दिने विषयमा बाहिर हल्ला मात्र भएको बताए। ‘यो सबै हल्ला मात्र हो,’ उनले भने, ‘यसबारे कुनै तयारी र छलफल भएको छैन।’ बिदा सम्बन्धमा मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने जिम्मेवारी गृहको हो तर गृहकै अधिकारीहरू यसबारे सामान्य छलफल पनि नभएको बताउँछन्।

चैत २४ को मन्त्रिपरिषद्मा इन्धन र सार्वजनिक खर्च कटौती गर्न सातामा दुई दिन बिदा दिने विषयमा छलफल भएको थियो। अर्थ मन्त्रालयका एक उपसचिवका अनुसार सातामा दुई दिन बिदा दिने हो भने इन्धनमा मासिक करिब १८ लाख खर्च कटौती हुन्छ। तर यसबाट त्योभन्दा बढी राज्यलाई नोक्सान हुने उनले बताए। सातामा दुई दिन बिदा दिए अपेक्षाकृत कर संकलन नहुने र सेवाग्राहीहरूलाई ठुलो सास्ती हुने उनले बताए।

योगेश भट्टराई पर्यटनमन्त्री भएको बेला उनले सातामा दुई दिन बिदा दिनका लागि अध्ययन गर्न एउटा कार्यदल गठन गरेका थिए। उक्त कार्यादलले सातामा दुई दिन बिदा दिन उपयुक्त हुने सिफारिस पनि गरेको थियो। तर कार्यदलले तयार गरेको प्रस्तावलाई भट्टराईले मन्त्रिपरिषद्मा पनि लगेनन।

मन्त्रिपरिषद्मा प्रस्ताव लैजानुअघि यस विषयमा विरोध भयो र मन्त्री पछि हटे। कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्रलाई राहत दिन भट्टराईले सातामा दुई दिन बिदा दिने सोच बनाएका थिए। सातामा दुई दिन बिदा घोषणा गरे सरकारी कर्मचारीहरू घुमघाममा व्यस्त हुने र यसबाट आन्तरिक पर्यटन ह्वात्तै बढ्नेको भट्टराईको विश्वास थियो।

सातामा दुई दिन बिदा दिने निर्णय २२ वर्षअघि २०५६ सालमा लागु गरिएको थियो तर यो निर्णय करिब ६ महिना मात्र लागु भयो। सातामा दुई दिन बिदा दिने निर्णय व्यावहारिक भएन भनेर धेरै आलोचना भयो। त्यसपछि सरकार दुई दिने बिदा दिने निर्णयबाट पछि हट्यो।

२०६६ सालमा सरकारले सार्वजनिक बिदाको सम्बन्धमा पुनरावलोकन गर्न तत्कालीन गृह सचिव गोविन्द कुसुमको संयोजकत्वमा एउटा कार्यदल गठन गरेका थियो। उक्त कार्यादलले अन्य बिदा कटौती गरी सातामा दुई दिन बिदा दिन उपयुक्त हुने सुझाव सरकारलाई दिएको थियो।

उक्त कार्यदलका सदस्यहरूले विभिन्न देशमा अध्ययन गरी त्यहाँको वस्तुस्थितिसमेत बुझेर सातामा दुई दिन बिदा दिनु उपयुक्त हुने सुझाव दिएका थिए तर सरकार सातामा दुई दिन बिदा दिन तयार भएन। त्यसपछि उक्त प्रतिवेदन पनि कार्यान्वयन भएन। प्रशासन विज्ञहरू नेपालमा दिइने सार्वजनिक बिदा धेरै नै भएको भन्दै त्यसमा पनि सातामा दुई दिन बिदा दिने हो भने सर्वसाधारणलाई निकै मर्का पर्ने बताउँछन् ।

प्रकाशित: ४ वैशाख २०७९ ०१:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App