२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

इजरायल पठाउने भन्दै ठगी

दैलेखको आठबीस नगरपालिका-६ का गोकर्ण विक एक गैरसरकारी संस्थामा काम गर्थे। घरको उब्जनीले खान–लाउन पुग्थेन। जागिरको कमाईले बचत गर्न नसकेपनि घर व्यवहार राम्रै चलिरहेको थियो। एकदिन गोकर्णले थोरै खर्चमा रोजगारीका लागि इजरायल जान पाइने कुरा सुने।  

सुर्खेतस्थित कोहीनुर मल्टि टेक्निकल कलेजले इजरायलका लागि विज्ञापन गरेको थियो। विज्ञापनमा एक लाख ५० हजार रुपैयाँमै इजरायल जान पाइने उल्लेख थियो। गोकर्णसँग कम्पनीलाई बुझाउनका लागि पैैसा थिएन्। इजरायल जानका लागि गाउँको खेत बेचे। त्यसले पनि नपुगेपछि छिमेकीहरुसँग ऋण लिए। गोकर्ण अहिले त्यहीँ ऋण तिर्नका लागि इजरायल होइन्, भारतमा मजदुरी गरिरहेका छन्।

‘विदेशमा राम्रो कमाई हुन्छ भनेर छोराले भएको जागिर छोड्यो, कमाएर खाने खेत बेच्यो,’ गोकर्णकी आमा पवित्राले भनिन्, ‘अहिले उब्जाउने जमिन छैन्, छोरोको जागिर छैन्, छिमेकीको लागेको ऋण तिर्न छोरो कालापहाड (भारत) गएको छ।’

गोकर्णले इजरायल जाने लोभमा कम्पनीलाई सुरुमै एक लाख ५० हजार रुपैयाँ बुझाए। तीन महिनासम्म कोहिनुरको सुर्खेतस्थित होस्टेलमा बस्दा छुट्टै पैसा तिर्नुप¥यो। इजरायल जान नपाइने भएपछि उनले कोहिनुरका सञ्चालक बखतबहादुर भण्डारीसँग पैसा फिर्ता मागे। पैसा फिर्ताको त कुरै छोडौं, उल्टै ज्यान मार्ने धम्की आयो।  

आठविस नगरपालिका–७ का धीरबहादुर कठायत पनि इजरायल जान लगेको ऋण तिर्न भारतको चण्ढीगढमा मजदुर गरिरहेका छन्। इजरायल जान पाइने लोभमा कठायतले विभिन्न मितिमा गरेर कोहिनुरलाई एक लाख ५० हजार रुपैयाँ नगद बुझाए। कठायतको पनि घरको आर्थिक अवस्था न्यून छ। सात जनाको परिवार पाल्ने उनी कालापहाड गइरहन्थे। इजरायल जान पाइने लोभमा उनी कालापहाडबाट फर्केका थिए।  

‘इजरायल जाने लोभमा साथी-भाईहरुसँग ऋण गरेर कम्पनीलाई पैसा बुझाएँ, त्यो भन्दा धेरै होस्टलमा बस्दा, खाँदा र घुम्दा खर्च भयो,’ उनले भने, ‘त्यहीँ ऋण तिर्नका लागि अहिले चण्ढीगढमा मजदुरी गरिरहेको छु।’  

गोकर्ण र धीरबहादुर जस्तै सुर्खेतको कोहिनुरबाट कर्णालीका ६३ जना युवाहरु ठगिएका छन्। ६३ जना युवाहरुबाट कोहिनुरले ९५ लाख भन्दाबढी रकम उठाएको थियो। कोहिनुरबाट ठगिएका एक युवाका अनुसार एक लाख ५० हजार नगदसँगै मासिक ११ हजार रुपैयाँ होस्टेल चार्ज पनि छुट्टै तिर्नुपर्दथ्यो। 

‘गण्डकी प्रदेश सरकारको कोटा कर्णालीमा ल्याएका हौं, इजरायलमा सीपसँगै कमाइ पनि राम्रो हुन्छ भनेपछि विश्वासमा परेर अग्रिम पैसा थियौं,’ एक पीडितले भने, ‘दुई वर्षभयो, न पैसा फिर्ता आयो, न इजरायल जान पाइयो।’  

कोहिनुरका सञ्चालक बखत भण्डारी भने आफूले कम्पनीको जिम्मा लिनुअघि ६३ जना युवाहरु गठिएको थाहा पाएको बताउँछन्। ‘हामीले पनि गण्डकी प्रदेश सरकारसँग कोटा माग गरेर कर्णालीका युवाहरुलाई अहिले इजरायल पठाउने अन्तिम चरणको काम गरिरहेका छौं,’ भण्डारीले भने, ‘मैले कोहिनुर जिम्मा लिनुअघि केही युवाहरु ठगिएको जानकारी पाएको छु।’ भण्डारीका अनुसार दुई साताभित्र कर्णालीका ५० जना युवाहरुलाई इजरायल पठाउने तयारी भइरहेको छ। ‘त्यसैका लागि अहिले काठमाडौंमा छु,’ उनले भने, ‘दुई साताभित्र कर्णालीका युवाहरु इजरायल पुग्छन्।’

गण्डकी प्रदेश सरकारले प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि दुई सय प्रदेशभित्रका कृषकलाई इजरायल पठाउने निर्णय गरेको थियो। सोही अनुसार प्रदेश सरकारले आराभा नेपालमार्फत इजरायल पठाउने संझौता भएको थियो। तर कर्णालीमा गण्डकी प्रदेश सरकारको कोटाबाट ५० जना युवाहरु पठाउने भन्दै कोहिनुरले ठगीधन्दा चलाइरहेको छ।  

प्रदेश सरकारलाई यो विषयमा कुनै जानकारी छैन्। सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले कर्णालीका युवाहरुलाई इजरायल पढाउने विषयमा सरकारको कुनै संलग्नता नरहेको बताए। ‘सार्वजनिक सञ्चार माध्यममार्फत इजरायल पठाउने भन्दै कर्णालीका युवाहरु ठगिएको जानकारी प्राप्त भएको छ,’ उनले भने, ‘हामी आवश्यक छानविन र अनुसन्धान गर्दैछौं, युवाहरुलाई इजरायल पठाउने विषयमा प्रदेश सरकारको कुनै संलग्नता रहेको छैन्।’

प्रकाशित: १५ चैत्र २०७८ ०८:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App