नेकपा माओवादी केन्द्रका जारी केन्द्रीय समिति बैठकमा अनेरास्ववियू क्रान्तिकारीको जारी महाधिवेशन र यसको नेतृत्वबारे प्रशस्त बहस भएको छ।
अध्यक्ष पुष्पकमल दाहालसहित पूर्व विद्यार्थी अध्यक्षहरू तथा युवा नेताहरुले क्रान्तिकारीको नयाँ नेतृत्व तथा ३२ वर्षे उमेर हद लागेर बिदा भएका देशभरका झण्डै ६ सय नेता कार्यकर्ताबारे चासो राखिरहेका छन् ।
आज तेस्रो दिनको बैठकमा क्रान्तिकारीका पूर्व अध्यक्ष रञ्जित तामाङले पार्टी केन्द्रीय समितिको यही बैठकबारे बिदा भएका नेताहरूबारे निर्णय गरेर जान प्रस्ताव गरेका छन् । बैठकमा बोल्दै उनले भने, ‘युवाहरूको भर्ती खोलेर पार्टी निर्माणका जिम्मा दिनु पर्दछ । युवाहरूलाई निराश बनाएर पार्टीमा उत्साह आउँदैन । उमेर हदका कारण बिदा हुने विद्यार्थीहरूलाई सबै तहमा प्राथमिकताका साथ यहीबाट न्यायोचित निर्णय गरेर जाउँ ।’
तामाङले वर्तमान सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङमाथि गर्न लागेको कारबाहीबारे पनि बैठकमा धारणा राखे । ‘विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएमा तत्काल पार्टी सडक सङ्घर्षमा जानुपर्छ,’ उनले भने ।
अध्यक्ष दाहालको नेतृत्वको विकल्प पार्टीमा नभएको तर्क अघि सार्दै तामाङले भने, ‘प्रचण्ड पोश्चर नै माओवादीको विगत, वर्तमान र भविष्य हो, पार्टी पदाधिकारीमा पनि आशालाग्दा नेताहरु हुनुहुन्छ । उहाँहरुको पासपोर्ट साइजको फोटोको पनि कार्यकर्तालाई हेक्का छ । उहाँहरूले धैर्यता गर्नुपर्दछ । माओवादीलाई २०६४ सालमा फर्काउनका लागि पार्टीमा एकता र केन्द्रीकरण जरुरी छ ।
प्रकाशित: २३ पुस २०८१ १४:०३ मंगलबार