२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

टी-२० विश्वकप: भारतसँग नखेल्ने पाकिस्तानको घोषणा

सन् २०२६ को टी-२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल नहुने भएको छ। पाकिस्तान सरकारले भारतविरुद्धको खेल बहिष्कार गर्ने औपचारिक घोषणा गरेको हो।

बंगलादेशको समर्थन गर्दै पाकिस्तानले यस्तो निर्णय लिएको हो। यी दुई टोलीबीच १५ फेब्रुअरीमा कोलम्बोमा खेल हुने तालिका थियो।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बंगलादेशको सट्टा स्कटल्याण्डलाई प्रतियोगितामा प्रवेश गराएको विरोधमा पाकिस्तानले यो कदम चालेको हो।

पाकिस्तान सरकारले आइतबार एक निर्णय गर्दै आफ्नो टोलीलाई टी–२० विश्वकप २०२६ मा भाग लिन अनुमति दिएको छ। तर भारतविरुद्धको खेल भने बहिष्कार गर्ने बताएको छ।

सरकारले भनेको छ, ‘इस्लामिक रिपब्लिक अफ पाकिस्तानको सरकारले राष्ट्रिय क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकपमा भाग लिन स्वीकृति दिन्छ। यद्यपि, १५ फेब्रुअरी २०२६ मा भारतविरुद्ध हुने खेलमा टोली मैदानमा उत्रने छैन।’

नकआउट चरणमा भारत र पाकिस्तानको भेट भएमा पाकिस्तानले खेल्छ वा खेल्दैन भन्ने विषय भने हालसम्म स्पष्ट भइसकेको छैन। यसअघि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का प्रमुख मोहसिन नकवीले प्रधानमन्त्री सहबाज सरिफसँग भेट गरी यस विषयमा छलफल गरेका थिए।

पाकिस्तानले खेल बहिष्कार गरेसँगै भारतले समूह चरणमा स्वतः २ अंक प्राप्त गर्नेछ। यसले भारतको सुपर-८ मा पुग्ने यात्रा सहज बन्ने देखिन्छ। समूह ‘ए’ मा भारत र पाकिस्तानसँगै नामिबिया, नेदरल्यान्ड्स र अमेरिका रहेका छन्।

अर्कोतर्फ, भारत–पाकिस्तान खेल नहुँदा प्रतियोगिताको ब्रोडकास्टरलाई ठूलो आर्थिक धक्का लाग्ने अनुमान गरिएको छ। विश्वकपको कुल आम्दानीको करिब ८ देखि १० प्रतिशत हिस्सा ओगट्ने यो ‘महामुकाबला’ नहुँदा विज्ञापन र दर्शक संख्यामा भारी गिरावट आउनेछ।

बंगलादेशमा हिन्दुहरूको हत्या भएको भन्दै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बंगलादेशी खेलाडी मुस्ताफिजुर रहमानलाई आईपीएल खेल्न रोक लगाएको थियो।

यसको प्रतिक्रिया स्वरूप बंगलादेश सरकारले आफ्नो देशमा आईपीएल प्रसारणमा रोक लगाउँदै सुरक्षाको कारण देखाएर टी-२० विश्वकपको भेन्यु परिवर्तन गर्न माग गरेको थियो।

सोही विवादका बीच आईसीसीले बंगलादेशलाई हटाएर स्कटल्याण्डलाई मौका दिएपछि पाकिस्तान रुष्ट बनेको हो।

विश्वकपका लागि घोषित पाकिस्तानको टोलीमा सलमान अली आगा (कप्तान), बाबर आजम, शाहिन शाह अफ्रिदी, नसिम शाह, शादाब खान, अबरार अहमद, फहिम असरफ, फखर जमान, ख्वाजा मोहम्मद नफे, मोहम्मद नवाज, मोहम्मद सलमान मिर्जा, साहिबजादा फरहान, साइम अयुब, उस्मान खान र उस्मान तारिक रहेका छन्।

प्रकाशित: १८ माघ २०८२ २१:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App