२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

जनसंख्यामा बहुमत : अब संसदमा पनि जेन-जी

फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनबाट आठ जना जेनजी सांसद बनेका छन्।

नेपाली राजनीतिमा लामो समयदेखि 'पुरानै अनुहार' प्रति आक्रोश र बहस चलिरहँदा यसपटकको चुनावले फरक संकेत दिएको हो। प्रत्यक्ष निर्वाचनतर्फबाट सांसदमा जेनजी पुस्ताका आठ जना सांसद प्रवेश गरेका छन्। उमेरका हिसाबले तीस वर्ष ननाघेका प्रतिनिधिले युवापुस्ताको प्रतिनिधित्व मात्र गर्ने छैनन् राजनीतिमा युवाको सम्भावना छ भन्ने प्रमाणित गर्नेछन्। 

जनसांख्यिक दृष्टिले सन् १९९७ देखि २०१२ बीच जन्मिएको पुस्तालाई जेनजी भनिन्छ। प्रविधिमा अब्बल र  सामाजिक सञ्जालमा सक्रिय र राजनीतिक सचेतना बोकेका पुस्ताको उपस्थिति सदनमासमेत प्रभावकारी हुनु आवश्यक छ। जेनजी आन्दोलनपछि भएको चुनावमा उनीहरुको उपस्थिति हुनुले नेपाली राजनीतिमा युवाको आकर्षणलाई पुष्टि गरेको छ। 

यसपटक प्रतिनिधिसभामा प्रवेश गरेका जेनजी सांसदमध्ये सात जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित भएका छन्। एक जना युवा भने श्रम संस्कृति पार्टीबाट विजयी भएका हुन्। 

रास्वपाबाट झापा-१ म निर्वाचित २९ वर्षीया निशा डाँगी अघिल्लो कार्यकालसमेत समानुपातिक कोटाबाट सांसद बनिसकेकाले युवा भए पनि उनमा अनुभवसमेत छ। 

उनले ५४ वर्षका केशव राज पाण्डे, ४८ वर्षका केवलराम राई, ६७ वर्षका रामचन्द्र उप्रेती लगायतलाई पछि पारिन्। नेपाली कांग्रेसका पाण्डेले डाँगीभन्दा ३५ हजार १३० मत कम ल्याए। 

सिरहा-१ बाट २८ वर्षीय बब्लु गुप्ता निर्वाचित भएका छन्। उनी भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको चुनावी सरकारका युवा तथा खेलकुद मन्त्रीसमेत हुन्। उनले ६३ वर्षका रामसुन्दर चौधरी, ६४ वर्षका राम शंकर यादव र ६४ वर्षकै रामचन्द्र यादवलाई भारी मतले पछि पारे। नेपाली कांग्रेसका रामसुन्दर चौधरी ९ हजार ७ सय ८४ मतमा सीमित हुँदा बब्लुले ४१ हजार ३२२ मत प्राप्त गरे।

काठमाडौं-५ बाट २९ वर्षका सस्मित पोखरेलले हाइ प्रोफाइल मानिएका ५० वर्षका प्रदीप पौडेल, ७२ वर्षका इश्वर पोखरेल र ७० वर्षका कमल थापालाई पराजित गरे। सस्मितले ३० हजार ७३७ मत ल्याउँदा नेपाली कांग्रेसका पौडेल ९ हजार १५९, नेकपा (एमाले)का पोखरेल ४ हजार ७०१ र राप्रपाका थापाले १ हजार ९२२ मतमा चित्त बुझाए। 

मकवानपुर-२ बाट २५ वर्षका प्रशान्त उप्रेतीले ४३ वर्षका महेश कुमार वर्तौला, ५८ वर्षका वुद्ध लामा र ५४ वर्षका लव शेर विष्टलाई पछि पारे। उप्रेतीले ३० हजार ५० मत ल्याउँदा एमालेका वर्तौला १८ हजार ८४६ मतमा खुम्चिए। 

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)-२ बाट २६ वर्षका मनीष खनालले ६१ वर्षका तिलबहादुर महत क्षेत्री, ५० वर्षका ओमबहादुर घर्ती र ५८ वर्षका गणेश मान महतोलाई पराजित गरे। खनालले एमालेका क्षेत्रीभन्दा २५ हजार ५९२ बढी मत ल्याए। उनले ४१ ह्जार ३४७ मत ल्याउँदा क्षेत्री १५ हजार ७५५ मा सीमित भए। 

रुपन्देही-२ बाट २८ वर्षका सुलभ खरेलले पनि हाइप्रोफाइल मानिएका एमालेका ६६ वर्षका विष्णु प्रसाद पौडेललाई पराजित गरे। खरेल ५६ हजार ५५० मतसहित निर्वाचित हुँदा पौडेलले १२ हजार ८६१ मत मात्र प्राप्त गरे। 

कैलाली-२ बाट २६ वर्षका केपी खनाल रास्वपााबाट युवाको प्रतिनिधित्व गर्दै संसद् प्रवेश गरेका छन्। उनले ४६ वर्षका पति राम चौधरी, ५८ वर्षका सुर्यबहादुर थापा र ५५ वर्षका विजयबहादुर स्वाँरलाई पछि पारे। 

त्यस्तैगरी हर्कराज राई (साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टीबाट खोटाङ-१ बाट २९ वर्षीय आरेन राई संसद्मा प्रवेश गरेका छन्। उनले ५६ वर्षका देव विक्रम राई, ५१ व्र्षका वीर काजी राई, ६७ वर्षका हरि रोकालाई पराजित गरे। 

यी सांसद्हरूको समानता भनेको उनीहरूको उमेर मात्र होइन। परम्परागत राजनीतिक भन्दा फरक ढंगको सोच र क्षमता पनि हो। सामाजिक गतिविधि र सामाजिक सञ्जालबाट  प्रत्यक्ष जनसम्पर्क बढाएर उनीहरुले मतदाताको मन जितेका हुन्। उनीहरु परिवर्तनको नारासँग जोडिएका जेनजी पुस्ताका प्रतिनिधि पात्र हुन्। 

जनसंख्यामा जेन-जी बलियो

जेनजी शब्द भदौ २३ र २४ को आन्दोलनपछि मात्र हाम्रो समाजमा सामान्य बनेको हो। जेनजी पुस्ताको प्रभाव राजनीतिक प्रतिनिधित्वमा मात्र होइन, जनसंख्याको संरचनामा पनि स्पष्ट देखिन्छ। वि.सं. २०७८ को राष्ट्रिय जनगणनाअनुसार नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५ सय ७८ छ। जसमध्ये ९७ लाख ६० हजार ३ सय ६८ जना उमेर समूहको छ। यो  कुल जनसंख्याको करिब ३३ दशमलव ५ प्रतिशत हुन आउँछ।  

लैङ्गिक हिसाबले हेर्दा ४८ लाख ६५ हजार १ सय ८ जना पुरुष र ४८ लाख ९५ हजार २ सय ६० जना महिला यस समूहमा पर्छन्। यो तथ्यांकले नेपाली समाजमा जेनजी पुस्ता संख्यात्मक रूपमा मात्र होइन, सामाजिक आर्थिक गतिविधिमा पनि निर्णायक शक्ति बन्ने कुरा प्रष्टसँग देखिन्छ।  

सदनमा पुस्ता परिवर्तनको संकेत

नेपालको संसदीय राजनीतिमा औसत उमेर लामो समयदेखि उच्च रहँदै आएको छ। यस्तो अवस्थामा २५-२९ वर्षका युवाको प्रवेशले ‘पुस्ता परिवर्तन’को बहसलाई बलियो बनाएको छ। 

जेनजी प्रविधिमैत्री, खुला विचार बोक्ने र पारदर्शिताको अपेक्षा गर्ने पुस्ता हो। संसद्मा उनीहरूको उपस्थितिले नीति निर्माण, सेवा प्रवाह र शासनशैलीमा नयाँ प्राथमिकता ल्याउन सक्ने अनुमान गर्न सकिन्छ। संसदीय प्रक्रियामा प्रवेश गरेपछि देशको कानुन निर्माण प्रक्रियाप्रति युवा पुस्ताको चासो बढ्ने देखिन्छ। सांसदको जिम्मेवारी लिइसकेपछि उनीहरूले मतदातासँग गरेका वाचा, पारदर्शिता र सुशासनका प्रतिबद्धतालाई व्यवहारमा उतार्नुपर्ने चुनौती पनि उत्तिकै ठूलो छ। 

‘संसद् लोकतन्त्रको मन्दिर हो। मन्दिरमा प्रवेश गर्दा आफूलाई जनताको मालिक होइन, सेवक सोचेर प्रवेश गरौं’, राजनीतिशास्त्रका प्राध्यापक रिना भट्ट भन्छिन्, ‘अहिले रास्वपाको करिब दुई तिहाई मत आउने निश्चित देखिन्छ। सरकार दुई तिहाइको दम्भले चलाए पनि संविधान चलाउनु हुँदैन। विधिको शासन गर्नु अहिलेको आवश्यकता हो।’ संसद्मा प्रतिपक्षसँग सहकार्य गरेर नीति निर्माणमा ध्यान दिन उनको सुझाव छ। 

जनसंख्याको संरचनाले नै साथ दिएको जेनजी अहिले शिक्षा, रोजगारी, उद्यम, प्रविधि र सामाजिक अभियानमा अग्रपङ्क्तिमा देखिन्छ। यही पुस्ता अहिले राज्यका संस्थामा पनि प्रवेशले देशमा सकारात्मक परिवर्तन हुने विश्वास यो पुस्तामा हुने देखिन्छ। 

सरकार र राजनीतिक दलले यो पुस्ताका माग, भावना र आकांक्षालाई गम्भीरतापूर्वक सुन्नु जरुरी देखिन्छ। यो उमेर समूहको जोस, श्रम र सिर्जनशील दिमागलाई राष्ट्र निर्माणमा कसरी प्रयोग गर्ने भन्ने प्रश्न अब केवल बहसको विषय मात्र होइन, नीतिगत प्राथमिकताको विषय बन्दै गएको छ। 

सदन प्रवेश गेका यी आठ जेन-जी सांसद् भदौ २३ र २४ गतेको परिवर्तनको प्रतीक बन्ने कि पुरानै राजनीतिक संरचनाभित्र समाहित हुने ? यो गम्भीर प्रश्नको सामना गर्नु युवा पुस्ताका लागि चुनौती बन्ने देखिन्छ।

प्रकाशित: २७ फाल्गुन २०८२ १३:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App