नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले कुनै खास विचार, सिद्धान्त नभएका र हुईयाँमा बनेका दलहरु स्थायी नहुने बताएका छन् । प्रेस चौतारी चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्ता दलले दह्रोसँग राष्ट्रको प्रतिनिधित्व गर्न नसक्ने बताए ।
उनले भने, ‘दुनियाका जुनसुकै मुलुकमा पनि विचार र सिद्धान्तबाट बनेको, जमिनमा टेकेका दलहरुले नै त्यो देश थाम्ने हो । कुनै खास एजेन्डा र हुईममा बनेका दलहरु स्थायी हुँदैनन् ।’
यिनीहरुले दह्रोसँग राष्ट्रको प्रतिनिधित्व गर्न नसक्ने भन्दै उनले भने, ‘राजनीतिक दल भनेको राष्ट्रका खम्बाहरु हुन् । त्यो खम्बा कमजोर हुनु हुँदैन ।’
अहिले नेपालमा नक्कली मानिसहरु देखा परेर पपुलिजमको आधारमा नक्कली पार्टी खडा गरेको उनले बताए ।
राजनीतिक दल र नेतृत्व जनतासँग संवाद गर्ने हुनुपर्ने भन्दै उनले जनताले सुनिने र देखिने हुनुपर्ने बताए । उनले भने, ‘राजनीतिक दल र नेतृत्व जनताको पहुँचमा हुनुपर्छ । जनताले छुन, हेर्न र आलोचना गर्न सक्ने र जनताको विरोध र आलोचना सहन सक्ने हुनुपर्छ ।’
जनताले नदेखेको छुन पनि नपाएको र प्रश्न पनि गर्न नपाएको नेतृत्व अहिले आईरहेको उनको भनाई छ । उनले प्रश्न गर्दै भने ‘नेतृत्व जनतासँग बोलिदैन, सुनिदैन । नागरिकसँग संवाद गर्दैनन् भने ति दलहरुले के गर्छन् ?’
यो राष्ट्रको भविष्यसँग जोडिएको विषय भएकाले आम जनतालाई आवेग र उत्तेजनामा आएर वा पपुलिजमको भरमा नभई ठण्डा दिमागले सोचेर आगामी ५०–१०० वर्ष देश कसरी अगाडि जान सक्छ भन्ने सोचेर मतदान गरी विश्वासिलो नेतृत्व चयन गर्न उनले अपिल गरेका छन् ।
प्रकाशित: १८ माघ २०८२ २१:०३ आइतबार





