६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

मधेस दर्शनः मधेसको आकर्षण धार्मिक पर्यटन

सप्तरीको कंकालिनी मन्दिर, लहानको राजदेवी मन्दिर , जनकपुरको जानकी मन्दिर। तस्विरःमिथिलेश यादव/नागरिक

मधेस आफैँमा एउटा सुन्दर फूलबारी हो। मधेसमा मधेसी–पहाडी, हिन्दू, मुसलमान, जैन धर्मावलम्बी मिलेर बसेका छन्। मधेसभित्रको मुख्य अकर्षणमा यहाँका मन्दिरहरू पर्छन्। जानकी मन्दिर, गढीमाई मन्दिर, कंकालिनी मन्दिर, छिन्नमस्ता भगवती मन्दिर,राजदेवी मन्दिर, सलहेश फूलवारी, लक्ष्मीनारायण मन्दिरल, पारशनाथ मन्दिरगायतका शक्तिपिठ यस प्रदेशको आकर्षण हो।

यी धार्मिक मठमन्दिरले यस प्रदेशको पर्यटन सम्भावनालाई व्यापक बनाउँदैछ। धनुषाको जानकी मन्दिर विश्वभरका हिन्दुहरूको आस्था केन्द्र हो। यो मन्दिर प्रदेशकै बढी पर्यटक आउने ठाउँ हो।

सन् १९११ मा जानकी मन्दिर निर्माण गरिए पनि मध्यभारत लोहागढका सन्त शुरकिशोर दासले १५ औं शताब्दीमा जनकपुरधामको खोज गरी मन्दिरको जग बसाएको भनाइ छ।

धनुषामै अर्को धार्मिकस्थल धनुष मन्दिर छ। त्रेता युगमा भगवान रामले सीतासँग बिहे गर्न शिव धनुष उचालेर ताँदो चढाउन खोज्दा तीन टुक्रा भएर भाँचिएको थियो। एक टुक्रा आकाशमा, एक टुक्रा पातालमा र एक टुक्रा पृथ्वीमा झरेको वाल्मिकी रामायणमा उल्लेख छ। पृथ्वीमा झरेको धनुषको टुक्रा झरेको स्थल धनुषाधाम भएको लोकविश्वास छ।

त्यहाँ नेपाल र भारतका विभिन्न स्थानबाट दर्शनार्थी पुग्छन्। धनुषाधाम क्षेत्रमा धनुष मन्दिरबाहेक धनुषाधाम वन, धनुषाधाम वनभित्रै रहेको बाणगंगा नदी जस्ता पर्यटकीय स्थल छन्। महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिरले प्रदेशको पर्यटकीय महत्व बढाउन विशिष्ट भूमिका खेल्छ।

पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका–५ को पारसनाथ मन्दिर यस प्रदेशको अर्को आकर्षक धार्मिक केन्द्र हो। पर्सा जिल्लाको नामकरण यसै मन्दिरको नामबाट गरिएको विश्वास छ।

बारा जिल्लाको गढीमाई नगरपालिका–१ मा रहेको गढीमाई मन्दिर विश्वभरका हिन्दु श्रद्धालुको गन्तव्य हो। गढीमाई मन्दिरमा प्रत्येक पाँच वर्षमा मंसिर शुक्ल सप्तमीदेखि मेला लाग्छ। यहाँ नेपाल, भारतसहित अन्य देशबाट समेत लाखौं श्रद्धालु आउँछन्। यस मन्दिरमा मेला लाग्दा महिनाभरीमा दुई दिन मात्रै बलि हुन्छ।

धार्मिक पर्यटनको एक प्रमुख गन्तव्य हो, सप्तरीको भारदहस्थित कंकालिनी भगवती मन्दिर । यस मन्दिरको वरपर पूर्वाधार विकास गरिएको छ, गरिदै छ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका –१ भारदहस्थित उक्त मन्दिरमा नेपाल र भारतका गरी दैनिक करिब १ हजार भक्तजन आउँछन्। दसैंको घटस्थापनादेखि त लाखौं दर्शनार्थी यहाँ आउजाउ गर्छन्। वरिपरि पोखरी, ताल, खोला र घाटसहित २० बिघाभन्दा बढी क्षेत्रफलमा उक्त मन्दिरको क्षेत्र फैलिएको छ। सरकारी सहयोग र आन्तरिक आम्दानीबाट समेत यस क्षेत्रमा निर्माणका कामहरु भएका छन्, हुँदैछन्।

कोसीघाट र बाढीपहिरोबाट मन्दिरको भवन जोगाउन सडक विभागको केन्द्रीय कार्यालयको ८० लाख रुपैयाँ सहयोगमा ‘रिटेनिङ वाल’ निर्माण गरिएको छ। पहिलोपटक ०५९ सालमा झन्डै ७० लाख रुपैयाँ लागतमा उक्त प्राचीन मन्दिरको भवनलाई नयाँ एवं आकर्षक स्वरूप दिइएको थियो। नेपाली पगौडा शैलीमा निर्माण गरिएको उक्त मन्दिरमा पाँच तहको छाना छ।

सदरमुकाम राजविराजबाट १८ किमि पूर्व र कोसी पुलबाट ४ किमि पश्चिम मुख्य राजमार्ग छेउको यो शक्तिपीठमा मनोकामना पूरा हुने जनविश्वास छ। किंबदन्तीअनुसार भारदहमा मानव बस्ती निर्माण गर्न जग खन्दै जाँदा फेला परेको दुर्गाको ढुंगे प्रतिमालाई मन्दिर स्थापना गरेर स्थानीयले पूजाआजा सुरु गरेका थिए। मुख्य चाडबाड एवं महत्त्वपूर्ण अवसरमा पूजाआजा लाग्ने हुँदा टाढाटाढाबाट भक्तजन यहाँ आउँछन्।

मधेसको अर्को शक्तिपिठ हो छिन्नमस्ता भगवती जो सखडा भगवत्ती भनेर लोकप्रीय छ । राजविराज बजारबाट १० किलोमिटर दक्षिणमा छ छिन्नमस्ता भगवती अर्थात सखडा मन्दिर। छिन्नमस्ता सिद्धपीठ र शक्तिपीठ मानिन्छ। देवीको भाकल गरेमा मनले चिताएको पूरा हुने जनविश्वास छ। भाकल पूरा भएपछि तिर्थालु बोका, हाँस, परेवा, भेडा, कुखुरा आदिको बलि चढाउँछन्।

मुल मन्दिरमा सखडा देवीको मूर्ति छ। देवीको पाउमा मैशासुर बधको दृश्य छ। छिन्नमस्ता परिसरमा गणेश, पञ्चमुखि हनुमान, पँचमुखि नाग, शनि आदिका मूर्ति छन्। विशाल पोखरी (शान्ति सागर) छ।

छिन्नमस्ता भगवती मन्दिरको इतिहास सिम्रौनगढको इतिहाससँग जोडिएको छ। किम्बदन्ती अनुसार सन् १०९७ मा मुस्लिम शासकले आक्रमण गर्दा कर्नाटकका कर्नाटवंशी राजा नान्यदेव ज्यान बचाएर पाटलीपुत्र (पटना) हुँदै मिथिला आइपुगेर सिम्रौनगढ (बारा)मा राजधानी कायम गरेका थिए।

नान्यदेव वंशको पाँचौं पुस्तामा शक्रसिंह देव राजा भए। शक्रसिंह आफ्नो नाबालक छोरा हरिसिंह देवलाई राजगद्दीमा राखी निर्वासित जीवन बिताउन सप्तरी पुगे। त्यसबेला जंगलले ढाकिएको यस स्थानमा जंगल सफा गर्दा भेटिएको भगवतीको प्रतिमालाई आफ्नो कुलदेवीको रूपमा स्थापना गरी आफ्नै नामबाट देवीको नाउँ शक्रेश्वरी राखेको मान्यता छ।

सखडा भगवतीको मूर्तिलाई सूक्ष्म रूपले हेर्दा तीनवटा टुक्रा मिलाए गरिए जस्तो देखिन्छ। सन् १३२८ मा गयासुद्दिन तुगलकले तिरहुतमाथि आक्रमण गरेका थिए । जसको फलस्वरूप सिम्रौनगढ ध्वस्त भयो।

सखडा भगवतीको मूर्ति पनि त्यही आक्रमणमा फुटेको हुन सक्ने इतिहासकार बताउँछन्। सिम्रौगढका अन्य मूर्तिहरू पनि फुटेकै अवस्थामा छन्। छिन्नमस्ता भगवतीको मन्दिर मुस्लिम समुदायको पनि आस्थाको केन्द्र हो।

धार्मिक पर्यटनको अर्को अकर्षक केन्द्र लहान नजिकै एउटा फूलबारी हो जहाँ हरेक वर्ष वैशाख १ गतेका दिन ठूलो मेला लाग्छ। त्यो दिन मात्र बगैंचामा सेतो रंगको सुनाखरी फूल्छ । बगैंचामा सलहेस महाराज तथा मालिनीको मन्दिर छ । मन्दिरमा गरेको भाकल पूरा हुने जनविश्वास छ । त्यसैले मन्दिरमा प्रेमिल युवाको भीड लाग्छ ।  

सलहेस अर्थात् राजा जयवर्धन सैलेश। जो लोककल्याणकारी राजा थिए। उनलाई मिथिला क्षेत्रमा अन्याय र अत्याचार विरुद्ध लडेका विद्रोही नायकका रूपमा लिइन्छ । दुसाध र दनुवार समुदायले देवताका रूपमा पूज्छ।

सिरहाको राजदेवी पञ्चावती मन्दिर(देवी थान) मधेसको धार्मिक स्थल मध्ये एक प्रमुख अस्थल हो। लहान नगरपालिका–१५ स्थित राजदेवी पञ्चावती मन्दिरमा वैशाख शुक्ल पूर्णिमाकै दिन भव्य मेला लाग्छ। यहाँ भाकल गर्न प्रत्येक शनिबार सिरहा, सप्तरी, सुनसरीसहित दूरदराजका श्रधालु आउँछन्।

पञ्चावति मन्दिरमा राजदेवी मातालाई चण्डी ‘पूर्णिमा’ का दिन एक दिनमात्र बलि चढाइन्छ। बुद्धजयन्तीको दिन काटमार गर्न नहुने जानकारी भए पनि राजदेवी माताले त्यस दिन मात्र बली लिने भएकाले यहाँ यसै दिन बलि चढाइन्छ। राजदेवी मातालाई ‘चण्डीपूर्णिमा’ मा एक दिनमात्र ‘बलि’ दिइने पुरानो चलनले अहिलेसम्म निरन्तरता पाउँदै छ।

१२ पुस्ताअघि त्यसक्षेत्रको जंगलमा जंगली जनावरहरूले दुःख दिन थालेपछि पुजारी देवीबहादुर भट्टका पुर्खालाई देवीले सपनामा त्यस क्षेत्रमा मन्दिर स्थापना गरी पूर्णिमाको दिन बलि दिन भनेअनुसार यहाँ बलि दिने परम्परा रहेको हो। मन्दिरको चारैतिर जंगलले घेरिएको र चराचुरुंगीको चिरबिरले देवस्थल रमणीय छ। स्थानीय बासिन्दाका अनुसार सो क्षेत्रमा जंगल परापूर्वकालदेखि नै थियो। मन्दिरको उत्तरपट्टि राजाजी, दिनाभद्री, कुवेर, पूर्वपट्टि लाटी बौकी र सल्हेस तथा दक्षिणमा नागनागिन र उत्तरपश्चिममा बलि दिने स्थान छ।

सन्तानप्राप्ति, रोग विनाश, कार्यसफलताका लागि भक्तजनहरुले लहान बजारदेखि ९ किलोमिटर उत्तरमा ३ बिघा क्षेत्रफलमा फैलिएको जंगलमा रहेको राजदेवी मन्दिरमा भाकल गर्न आउँछन्। भाकल पूरा भएपछि चण्डी पूर्णिमाको दिन बोका, पाठी, हाँस, परेवा र कुखुरा बलि दिन्छन्। पुरुषले भाकल गर्दा बोका र महिलाले मन्दिरमा पाठी बलि दिने चलन छ।

मेला भर्न र भाकल पूरा भएपछि मन्दिरमा पशुपक्षी बलि दिन सिरहा, सप्तरी, उदयपुर, धनुषालगायत देशका विभिन्न गाउँसहर र भारतको विहार प्रान्तबाट यहाँ आउने गर्छन्। गढीमाई मन्दिरपछि दोस्रो बलि दिने स्थान राजदेवी पञ्चावती मन्दिरलाई लिइन्छ। वर्षमा एक दिन मात्र बली लिने सो मन्दिरमा भाकल पूरा भएपछि भक्तजनले पशु र पक्षि बली दिन्छन्।

यस देवी मन्दिरमा सन्तानप्राप्तिका लागि भाकल गर्ने श्रधालुहरु बढी पाईन्छन्। बिवाह भएको वर्षौसम्म सन्तान नभएपछि यस देवी मन्दिरमा भाकल गर्दा सन्तान प्राप्ति भएको कैयन प्रमाण रहेको मन्दिर समिति बताउँछन्।

पछिल्लो समय यो देवी मन्दिर धार्मिक पर्यटकीय स्थलको स्वरुप लिँदै गएको छ। पहिला वर्षमा एक पटक मेला लाग्ने यस देवी मिन्दिरमा पछिल्लो समय प्रत्येक शनिबार दूरदराजबाट श्रधालुहरू पुजाआजा गर्न आउँने गरेका छन्।

प्रकाशित: ५ चैत्र २०७८ ०६:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App