रौतहटको बागमती नदीमा दाउरा टिप्ने क्रममा एक वृद्धाको ज्यान गएको छ। बागमती नदीमा आएको बाढीमा दाउरा टिप्ने क्रममा आइतबार बिहान माधवनायाण नगरपालिका ८ का हरिबंस रायको ७५ वर्षीया श्रीमती पनमा देवीको पानीमा डुबेर ज्यान गएको हो।
बिहान ९:३० बजेको समयमा बागमती नदीमा दाउरा टिप्ने क्रममा बाढीको भेलले बगाउन थालेपछि पनमालाई उनी संगै दाउरा टिप्न गएका छिमेकीहरूले निकाल्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक पनमाको शव पोस्टमार्टमका लागि गौर अस्पतालमा लगिएको डिएसपी राजु कार्कीले बताए।
यस्तै बृन्दावन नगरपालिकाको बागमती बगरमा रहेका भोटियाटोलका करिब १ सय २५ परिवारलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। बाढीको पानी बस्तीमा पसेर चारैतिरबाट घेरामा परेका ती परिवारलाई सन्तपुर बेसबाट खटिएका टोलिले उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको प्रहरीले जनाएको छ।
प्रकाशित: १९ आश्विन २०८२ १२:३९ आइतबार





