१५ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

ब्रेललिपिमा खरर समाचार

चितवन-उनी आँखा देख्दैनन् तर अरुसरह लामा लामा समाचार रेडियामा खरर भन्न सक्छन्। माडी सिम्रहनीका भूपराज पाठकले ब्रेल लिपिमा समाचार तयार पारेर माडी एफएमबाट सबैलाई सुनाउँदै आएका छन्।एफएमसँग चार महिनाअघि जोडिएका उनले समाचार पढ्न थालेको एक महिना भयो। तर, नयाँ र फरक क्षमताको व्यक्तिले समाचार पढेको भन्ने भान कसैलाई पर्दैन। स्नातक पढ्दै गरेका पाठकलाई रेडियोमा बोल्ने सानै देखिएको रहर थियो। त्यो अहिले पूरा भएको छ।
हाँस्यव्यंग्य कार्यक्रम ‘यसमै छ मज्जा' उनले चलाउने कार्यक्रम हो। जुन कार्यक्रम माडीसँगै देशका अन्य १६ वटा एफएममा प्रसारण हुन्छ। अन्य कार्यक्रम चलाउनुभन्दा समाचारवाचन अलि चुनौतीपूर्ण हुन्छ भन्छन् पाठक।
‘समाचारमा आफ्नो कल्पना भन्ने कुरा हुँदैन, जे हो त्यही भन्नुपर्छ, सबै कुरा सम्झेरमात्रै पनि नसकिने, गल्ती नहोस् भन्नका लागि ब्रेललिपिमा लेखेर लैजान्छु,' पाठकले भने। स्टुडियो छिर्नुअघि सहयोगीले समाचार पढेपछि उनी त्यसलाई ब्रेललिपिमा उतार्छन्। 
ब्रेललिपिको समाचार बोकेर स्टुडियोभित्र जान्छन्। समाचारको समय भएपछि पढ्न सुरु गर्छन्। माइक्रोफोनअघि बसेका पाठकको औंला लिपिमा दौडिरहेको हुन्छ। बाहिर सुन्दा समाचार दृष्टिविहीनले पढेको भनेर कसैले अन्दाज गर्नै सक्दैन।
उनको घरमा पाँचजना छन्। बुबा र दिदी पनि भूपराज जस्तै दृष्टिविहीन छन्। भूपराज जे गर्छन्, त्यो काम सामान्य दृष्टि भएकाले गर्ने बराबर नै हुन्छ।
‘अरुभन्दा कमजोर छु, केही गर्न सक्दिन भनेर बसेको भए कोठामै हुन्थें होला, सक्छु भन्ने आँटले पढाइ पनि जारी राखें, अरु काम पनि गर्न थालें,' भूपराजले भने। माडी एफएमका निर्देशक देवअन्जान साह भूपराजको काममा गुनासो गर्ने ठाउँ नभएको बताउँछन्। उनको दाबी छ, ‘भूपराज नेपालकै एक्ला दृष्टिविहीन समाचारवाचक हुन्।' 
उनको कामले शारीरिक रुपमा अरुजस्तो तन्दुरुस्त नभएको मान्छेले पनि आँटेको काम गर्न सक्छ भन्ने सन्देश गएको साहले बताए।
भूपराजका दाइ विपिन भन्छन्, ‘ऊ सानैदेखि गाउने र क्यारिकेचर गर्न सिपालु थियो। भरतपुर बस्न थालेपछि मिडियामा काम गर्न रुचि देखायो। भरतपुरका एक दुई रेडियोमा कुरा गरे पनि धेरैले ल ल भनेर टारे।' 
एक–दुईपटक कुरा गरेपछि माडी एफएमका निर्देशक देवअन्जान साहले भूपराजलाई भेट्ने इच्छा देखाए। भेटेर कुरा गरेपछि काममा लगाउन तयार भए। हाँस्यव्यंग्य कार्यक्रमबाट सुरु भएको उनको रेडियो यात्रा समाचारसम्म पुगेको छ। समाचारका लागि ब्रेललिपि तयार पार्ने विशेष खालको कागज चाहिन्छ, त्यो अहिलेसम्म भूपराज आफैंले जुटाउने गरेका छन्।
‘घरमा बाबु, भाइ र बहिनीमा एकैखालको समस्या देखिँदा धेरैले अब यो परिवारको दुःख झनै बढेर जाने भयो भन्थे तर हौसला राखेर काम गर्दै जाँदा सफलता मिलिरहेको छ,' दाइ विपिनले भने। उनको परिवार आर्थिक रूपमा पनि त्यति सक्षम थिएन। त्यसैले छोरालाई कसरी पढाउने भन्ने पिरोलो थियो।
गाउँकै शिक्षक शोभाखर भुसालले दृष्टिविहीनलाई पढाउने स्कुल चितवनको झुवानीमा छ भनेपछि उनीहरु निकै खुसी भए। माडीका भूपराजले पूर्वी चितवनको झुवानीस्थित विद्यालयमा आवासीय रुपमै बसेर कक्षा एकदेखि एसएलसीसम्म पढे।
‘एकपटक सुनेको कुरा नबिर्सने क्षमता छ। नाम र तथ्य तथ्यांक याद हुन्छ। त्यसैले सुरुदेखि नै पढाइमा राम्रो गर्दै गयो। सुरु–सुरुमा त कक्षामा पहिलो–दोस्रो हुन्थ्यो। ठूलो कक्षामा गएपछि सुनेका कुराले मात्रै पुग्दैन रहेछ, अलि पछि पर्योय,' दाइ विपिनले भने। २०५२ सालमा जन्मेका विपिनले २०६८ सालमा पहिलो श्रेणीमा एसएलसी उर्त्तीण गरे।
एसएलसीपछि भरतपुरमै बसेर प्लस टु पढे। प्लस टु दोस्रो श्रेणीमा उत्तीर्ण भए। स्नातक तहको पढाइमा राम्रो गर्ने उनको सोच छ। भूपराज सरकारी जागिर पनि खान चाहन्छन् तर पढाइ सकिएपछि नै त्यतातर्फको तयारीमा लाग्ने उनले योजना बनाएका छन्।

प्रकाशित: २१ पुस २०७१ २२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App