८ वैशाख २०८१ शनिबार
समाज

तराईमा शीतलहरले जनजीवन प्रभावित

फाइलतस्बिर

केही दिनदेखि चलेको शीतलहरले जनजीवन प्रभावित भएको देखिएको छ। घाम नलागेको र पश्चिमा चिसो हावा चलिरहेकोले तराई मधेसको जनजीवन प्रभावित भएको छ। दिन र रात एकै किसिमको जाडो भइरहँदा मुख्य गरी विपन्न समुदाय, बालबालिका, वृद्ध तथा बिरामी र सुत्केरी बढी प्रभावित भएको देखिएको छ।

अत्यधिक चिसोले सर्लाही र रौतहटका डोम, मुसहर, ढांगर, हलखोर, चमारजस्ता दलित समुदायको बस्ती रहेको क्षेत्रमा बढी प्रभाव परेको देखिएको छ। जिल्लाको गढीमाई नगरपालिकाको हथिऔल र समनपुर, माधव नारायण नगरपालिकाको मानपुर विशुनपूर्वा, राजदेवी नगरपालिकाको वडा नम्बर १ स्थित सार्वजनिक बाटो छेउको ऐलानी जमिनमा बस्दै आएका दलितहरु जाडोमा अत्यन्तै कष्टकर जीवन बिताइरहेका छन्।  

राजदेवी नगरपालिका वडा नम्वर १ स्थित सार्वजनिक बाटो छेउमा रहेको ऐलानी जग्गामा बस्दै आएको १४ जना डोम समुदायको परिवारलाई मुख्यमन्त्री आवास योजना अन्तर्गत  फुसको छाप्रो हटाएर पक्कि घर बनाउने कार्य गत फागुन महिनादेखि नै भइरहेको भए पनि अहिलेसम्म पर्खाल लगाउने बाहेक कुनै पनि काम नभएकोले पुसको शीतलहरमा अत्यन्तै कष्टकर जीवन बिताउनु परिरहेको छ।

साउन महिनाको झरीदेखि लिएर पुस महिनाको कपकपाउदो चिसो मौसममा प्लास्टिकले छाना झुण्डयाएर करिव १४ परिवारको ६० जना सदस्यहरु बस्दै आएका छन्। त्यसै छानाभित्र खाना पकाएर खाने, सुत्ने, वंगुर राख्ने लगायतको समस्याबाट जुध्दै आएको देखिएको छ। ६५ बर्षिय कुश्मि देवी डोम चार दिनअघि चिसोबाट कठ्याँग्रिएर पारालाइसिसको शिकार भएको स्थानीय नरसिंह मल्लीले जानकारी गराएका छन्।  

अत्यधिक जाडोले बंगुर पनि धमाधम मरिरहेको डोम समुदायको भनाइ छ। अहिलेसम्म जाडोले कठांग्रिएर १० वटाभन्दा बढी बंगुर मरिसकेको मल्ली बताउँछन्। गढीमाई नगरपालिका ३ हथियौलको डोम बस्तीमा घरको छानो जस्ताले छाएको हुनाले रातभरि शीत चुहिएर बसिनसक्नु भएको स्थानीयको भनाइ छ। घाममा पोलेर हैरान हुने र जाडोको मौसममा शीत चुहिएर घरभित्र बस्न नसकिने तथा घरबाहिर चिसो हावाले बस्न नसकिने अवस्था आएको एक पीडित बताउँछन्।  

आफ्नो घर नभएका कतिपय दलित तथा विपन्न समुदायका मासिनलाई शीतलहरले निकै समस्या पुर्‍याएको देखिएको छ। शीतलहर बढेपछि स्वास्थ्य केन्द्रहरुमा बिरामीको संख्या बढेको देखिएको छ। स्वास्थ्य केन्द्रमा पुग्ने अधिकांश मानिस विपन्न र दलित समुदायकै हुने गरेको पाइएकोले शीतलहरले दलित र विपन्न समुदायलाई निकै कष्टकर जीवन बाँच्न विवश बनाएको छ।

प्रकाशित: २० पुस २०७८ १२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App