७ वैशाख २०८१ शुक्रबार
समाज

हटियालाई ‘लायन्स नमुना उद्यमी गाउँ’ घोषणा

‘लायन्स नमुना उद्यमी गाउँ’ घोषणा गरिएको हटिया गाउँ। तस्बिरः सरिता/नागरिक

नेवारी र गुरुङ भेषभुषामा सजिएका नीलकण्ठ नगरपालिका वडा नं ९ निगलपानीको हटिया गाउँका महिलाहरु। कोही मकै, भटमास भुट्न व्यस्त देखेन्थे भने कोही मोही पार्न त कोही सिस्नुको अचार बनाउन भ्याइनभ्याई थिए। गाउँमा आएका पाहुनालाई आफ्नै गाउँघरमा उत्पादन भएका यी चीजहरु खाजाका रुपमा चखाइरहेका थिए। रमाइलो नृत्यसहित पाहुँनाहरुलाई पन्चेबाजा बजाएर स्वागत पनि गरिरहेका थिए।

दूरीको हिसाबले धादिङ सदरमुकाम धादिङबेसीबाट नजिकै रहेपनि हटिया गाउँ विकास, आयआर्जनका हिसाबले पछाडि परेको गाउँ हो। गाउँको विकास, आयआर्जनका लागि सहयोग मिल्ने भएपछि यहाँका स्थानीयहरु उत्साहित थिए। गरिबीको रेखामुनि रहेका मानिसहरुको आयआर्जन तथा उपार्जनका लागि लायन्स क्लबले हटिया गाउँलाई लायन्स नमुना उद्यमी गाउँ घोषणा गरिएको छ। सामाजिक कार्यमा सक्रिय रहँदै आएको लायन्स क्लबले एक कार्यक्रमका बीच नमुना गाउँको रुपमा घोषणा गरेको हो।

नमुना गाउँका रुपमा घोषणा गरेसँगै हटियामा पुरानो नेवार समुदायको संस्कार, संस्कृतिको संरक्षण र प्रवर्द्धन गरी उनीहरुको सामाजिक र आर्थिक जीवनस्तमा परिवर्तन ल्याउने र आत्मनिर्भर बनाउने अभियानमा लागि परेका छन्। यस क्षेत्रको विकास गर्न सके आन्तरिक पर्यटनको सम्भावना प्रचुर मात्रामा रहेको कारण यो गाउँमा यो कार्यक्रम लागु गर्नको लागि छनौट गरेको लायन्स नमुना उद्यमी गाउँ परियोजनाका संयोजक राजेन्द्रप्रसाद सुवेदीले बताए।

गरिबीको रेखामुनी रहेका वर्गलाई लक्षित गरी आयआर्जन बढाएर आत्मनिर्भर बनाउने उद्देश्यले उद्यमीको परियोजना सुरु गरेको लायन्स नमुना उद्यमी गाउँ परियोजनाका संयोजक सुवेदीले बताए। ‘लाइन्स क्लबले विभिन्न जिल्लामा उद्यम विकासको लागि काम गदै आएको छ, जसमध्ये धादिङ जिल्लामा पहिलो पटक नीलकण्ठ नगरपालिका वडा नम्बर ९ हटिया गाउमा काम सुरु गरेका छौँ,’ सुवेदीले भने, ‘अभियान मार्फत स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर बनाउने उद्देश्य रहेको छ।’

यस कार्यक्रमले यहाँका स्थानीय नेवार र गुरुङको समुदायलाई लक्षित गरि आन्तरिक पर्यटन हवको रुपमा विकास गर्न होम स्टेको अवधारणसहित विकास गर्ने लक्ष्य र उदेश्य रहेको पनि सुवेदीले बताए। यस गाउँको नजिकै ऐतिहासिक ज्वालामुखी माईको मन्दिर, निर्माणाधीन अवस्थामा रहेको छोईलिङ गुम्बा र भ्यु टावरका कारण पनि यो स्थान पर्यटकीय हिसाबले संभावना रहेको पाईन्छ। यस स्थानबाट धादिङको उत्तरी क्षेत्र, गणेश हिमाल, पाविल हिमाल, गंगाजमुना झरना, सल्यान्टार, मनाशलु हिमाल, र गोरखा जिल्लाको केही महत्वपूर्ण स्थानहरुको दृश्यावलोकन गर्न सकिन्छ।

नीलकण्ठ नगरपालिकाको प्रमुख भीमप्रसाद ढुङगानाले कृषि, पर्यटन तथा औद्योगिक हिसाबले गाउँलाई नमुनाको रुपमा विकास गर्दै लैजान नगरपालिकाले पनि सहयोग गर्ने बताए। लायन्सले चालेको यस कदमले स्थानीय जनतामा उद्यमी बन्नका लागि थप हौसला मिल्ने र सामाजिक संस्थाले पनि गाउँको विकास गर्न सक्छ, आय मूलक, उत्पादन मूलक र पर्यटकीय गाउँ बनाउन सक्छ भन्ने उद्देश्य लिएको बताए।

लायन्स क्लव अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक ३ सय २५ बी वान नेपालका गर्भनर विश्वेश्वर आचार्यले हटियाको स्थानीयलाई आत्मनिर्भर बनाउने, आयआर्जन गर्न स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न लायन्सले गर्ने नियमित सेवाका कार्यसंगै नमुना उद्यमी गाउँ बनाउने अभियानमा लागि परेको बताए। गर्भनर आचार्यले हटियालाई बाख्राको पकेट क्षेत्र बनाउन बाख्रा पालन गर्ने, मौरी पालन गर्ने, मौरीको लागि फूल खेती गर्ने र रमणीय ठाउँ भएकाले होमस्टे संचालन गर्ने अवधारण लिएको जानकारी दिए।

कार्यक्रमले पहिलो चरणमा स्थानीय कृषि उत्पादनहरुलाई आधुनिकिकरण गर्ने लक्ष्य राखेको छ। लायन्स नमुना उद्यमी गाउँ कार्यक्रम अन्तर्गत शुभारम्भमा स्थानीय ४९ जना कृषकहरुलाइ एक–एक वटा बाख्रा, २ वटा हाते ट्याक्टर, १ वटा धान झार्ने मेशिन र २ वटा सिलाई मेशिन वितरण गरेका छन्।

आगामी दिनमा आवश्यकताको आधारमा अन्य सहयोगका कार्यक्रमहरु पनि थप गरिने बताइएको छ। लायन्स क्लवले शिक्षा, स्वास्थ्य, कृषि, उद्यमी लगायतका क्षेत्रहरुमा काम गर्दै आएको छ। अन्तर्राष्ट्रिय लायन्स क्लवको चार वटा डिष्ट्रिक रहेको छ। जसमध्ये एक ३२५ वि–१ डिष्ट्रिक हो। यस अन्तर्गत कुल १७ वटा जिल्लाहरु मध्ये १४ वटा जिल्लामा लायन्स नमुना उद्यमी गाउँ कार्यक्रम संचालन भएको छ।

प्रकाशित: १९ पुस २०७८ ०७:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App