८ वैशाख २०८१ शनिबार
समाज

सकियो दसैंतिहार, फर्किए परदेशी

प्युठानका इन्द्रवीर खत्री तिहार मनाएर रोजगारीका लागि भारत फर्किंदै गर्दा उनको अनुहारमा खुसी थिएन। खुसीबिनामा पनि उनी रोजगारीका लागि भारत फर्किनु रहर होइन बाध्यता बन्यो। त्यसैले उनी खुसी लुकाउँदै तिहारको सम्झना मनभरि संगाल्दै भारत प्रस्थान गरे। तिहारको तीन दिन अगाडि घर आएका उनी बिहीबार रोजगारीका लागि पुनः भारत जाँदै थिए।

तिहार मनाउन घर आएका चन्द्र सुनार पनि उनीसँगै भारत जाँदै छन्। तिहार मनाएर रोल्पाका मानसिंह खड्का पनि रोजगारीका लागि पुनः भारत फर्किए। अहिले नेपाल–भारत सीमा क्षेत्रमा रोजगारीका लागि भारत जानेको संख्या बढ्न थालेको छ।

स्वदेशमै रोजगारी पाइँदो हो त उनीहरु तिहारको उमंग नसकिँदै किन रोजगारीका लागि भारत जानु पर्दाे हो। मुलुकमा पर्याप्त रोजगारीको व्यवस्था नहुँदा गुजाराका लागि भारततिरै जानु उनीहरुको बाध्यता हो।

देशमै बसौं भने कामविहीन हुने भएकाले आफूहरु परिवारको लालनपालनका लागि भारत जाने गरेको उनीहरु बताउँछन्। उनीहरुसँगै नेपालीको ठूलो पर्व दसैं र दोस्रो ठूलो पर्व तिहार मनाउन घर आएकाहरु पुनः रोजगारीका लागि भारत फर्किनेको लर्काे बढ्न थालेको छ।

दसैंतिहार जस्ता पर्वमा घर फर्कनेहरुको संख्या धेरै भए पनि अहिले नेपाल आउनेको संख्या घट्दो छ भने उता (भारत) जानेको संख्या बढ्दो छ। घर फर्किएर रोजगारीका लागि भारत नजाउँभन्दा पनि बाध्यताले फर्किनु पर्ने रुकुम पश्चिमका हिरालाल गोसाइले बताए। ‘घर फर्किएपछि फेरि भारत जाने कसको इच्छा होला र,’ उनी भन्छन्, ‘तर घरमा बेरोजगार पनि त बस्न सकिँदैन।’ गाउँघरमा नियमित ज्यालादारी तथा अन्य काम नपाइँदा बाध्य भएर पुनः भारत जान लागेको उनी बताउँछन्।

दसैंतिहार मनाउन घर फर्किएका जाजरकोटका हर्क दमाइले पनि उस्तै बेदना पोखे। भारत जानु आफ्नो रहर नभइ बाध्यता भएको उनी बताउँछन्।

‘प्रत्येक वर्ष दसैंतिहार मनाउन घर फर्किन्छु,’ उनी भन्छन्, ‘अरु बाँकी समय रोजगारीका लागि भारतमै हुन्छु।’ दुई छोरा र एक छोरीसहित श्रीमतीलाई घरमा आमा बुवाको जिम्मा लगाएर भारत जान लागेको उनको भनाइ छ। ‘म सानै उमेरदेखि भारत जान थालेको हुँ,’ उनले भने, ‘रोजगारीका लागि भारत जाने नियति हटेको छैन।’

रोजगारीका लागि भारत जाने नियति स्वदेशमा रोजगारी नपाइएर दोहोरिरहेको उनी बताउँछन्। घरमा बेरोजगार बस्दा परिवार पाल्न समस्या हुने र उल्टै ऋण लाग्ने रोजगारीका लागि भारत जानेहरु बताउँछन्। ‘घरमा बस्दा काम पाइँदैन,’ उनले भने, ‘ऋण निकालेर पनि परिवार पाल्नै पर्यो। त्यो गर्न सकिँदैन, जसका लागि कामका लागि भारत जानैपर्ने बाध्यता छ।’

जमुनाह नाकाबाट दैनिक सयौं नागरिक रोजगारीका लागि भारत प्रस्थान गर्छन्। आफ्नो ज्यानको परवाह नगरी परिवार र आफ्नो लालनपालनका लागि उनीहरु रोजगारीका लागि भारत जान बाध्य छन्। जमुनाह नाकाबाट पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सर्वसाधारण कामका लागि भारत जान्छन्।

अहिलले कोरोना महामारीको सुरुवातसँगै स्वदेश फर्केका, दसैंतिहार मनाउन र अन्यहरु रोजगारीका लागि भारत जाने गरेको जमुना प्रहरी असइ रुद्रा ओलीले बताइन्। ‘दसैंतिहार मनाउन घर फर्किएकाहरु पुनः भारत जानेको संख्या बढ्दै छ,’ उनले भनिन्, ‘भारतबाट फर्किनेको संख्यामा कमी छ।’ दसैंतिहारका बेला कमै जाने गरे पनि अहिले दैनिक पाँच सयभन्दा धेरै नागरिक रोजगारीका लागि भारत प्रस्थान गर्ने गरेको प्रहरीको भनाइ छ।

प्रकाशित: २ मंसिर २०७८ १२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App