२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गाईजात्रा : टोखामा ५८ दिवङ्गतको सम्झना गरी मनाइयो

धार्मिक सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको टोखामा गाईजात्रा पर्व धुमधामका साथ मनाइएको छ।

नेवार समुदायको झण्डै १० हजार जनसङ्ख्या रहेको टोखामा वर्षभर दिवङ्गत भएका ५८ जनाको सम्झना गरी आज गाईजात्रा मनाइएको हो। टोखा नगरपालिकाको–२ र ३ मा नेवार समुदायका झण्डै दुई हजार घरधुरी रहेका वडा नं २ का वडाध्यक्ष दीपकराज जोशीले जानकारी दिए।  

टोखामा लिच्छिवीकालदेखि नेवार बस्ती बसेको इतिहास छ। टोखाबाहेक काठमाडौँको असन, इन्द्रचोक, ठमेल, मनमैजु, नैकाप, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा पनि आज गाईजात्रा पर्व मनाइएको छ। गाईजात्रा पर्वमा दिवङ्गत आफन्तको परिवारको दुःख भुलाउनका साथै मृतकलाई स्वर्गमा जान सहज बनाउने धार्मिक विश्वास रहेको छ। टोखामा गाईजात्रा पर्वकै अवसरमा मृतक परिवारको दुःख भुलाउनका लागि ‘ख्याली’ समेत निकाल्ने गरिन्छ।    

उक्त पर्वमा मान्छे मरेको घरबाट अनिवार्य रुपमा चार जनाले गाईजात्रा निकाल्नुपर्ने हुन्छ। चार जनामध्ये दुई जना गाई, एक जना गोठालो र अर्को एक जना ब्रतबन्ध नगरेको युवा वा गुफा नपसेकी युवतीलाई सिंगारेर नगरपरिक्रमा गर्ने गरिन्छ। चार जना नभएको परिवारले आफन्तलाई बोलाएर भएपनि चार जना अनिवार्य पुर्‍याउनुपर्ने हुन्छ।  

गाईजात्रामा धिमेबाजा बजाउने गरिन्छ। दुःखको समयमा बजाइने उक्त बाजा गाईजात्राको दिनमा मात्र सिक्ने, सिकाउने र बजाउने गरिन्छ। टोखाको तलेजु भगवानको मन्दिर मृतक परिवारले घुमेर गाईजात्रा निकाल्ने गरिन्छ। गाईजात्रा मनाएपछि बेलुका स्वयम्भूनाथ र टोखाको गणेश मन्दिरमा बत्ती बाल्ने प्रचलन रहेको टोखा नेवाःगुठीका अध्यक्ष रमेश नापित बताउँछन्।  

गाईजात्रामा सामेल हुने मृतक परिवारलाई मृतक परिवारकै सदस्यले पुरी, खिर, फलफूल र नगद दान गर्ने प्रचलन रहेको टोखा भवानी गुठीका मूल नाइके हेमराज श्रेष्ठले जानकारी दिए। उक्त दान बेलुका घरमा लगेर घर परिवार र छरछिमेकलाई बाँडेर खाने प्रचलन रहेको छ। मृतक परिवारले एक वर्षका लागि ३६५ पोका बनाएर दान गर्ने प्रचलन रहेको छ।  

टोखामा सरस्वती धिमे खलः र सपनतीर्थ धिमे खलःले प्रत्येक वर्ष गाईजात्रा निकाल्ने गरेको टोखा नगरपालिका–२ का वडा सदस्य एवं नेपाली कांग्रेस टोखाका नेता हेराकाजी महर्जन बताउँछन्।गाईजात्राको अवसरमा बजाइने धिमेबाजा बाहेक टोखामा मान्छे मरेको बेलामा बजाइने कसाई बाजा, कृष्ण जन्माष्टमीमा बजाइने धाँ बाजा, ठूलो एकादशीमा बजाइने खीँ बाजा टोखाका प्रमुख बाजा हुन्।  

ऐतिहासिक एवं धार्मिक महत्व बोकेको टोखामा तलेजु भगवान्, कृष्णमन्दिर, गणेश मन्दिर, सपनतीर्थ मन्दिरलगायतका धार्मिक तीर्थस्थल रहेका छन्।

प्रकाशित: ७ भाद्र २०७८ १५:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App