coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बृहत पम्पिङ खानेपानी आयोजनाको काममा चरम ढिलासुस्ती

खोटाङको हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाको काममा निर्माण कम्पनीको चरम ढिलासुस्ती भएको छ। हलेसी तुवाचुङ नगरपालिकामा दुधकोसीको पानी निकाल्नका लागि सुरु गरिएको पम्पिङ खानेपानी आयोजनाको काममा निर्माण कम्पनीले चरम ढिलासुस्ती गरेको हो। 

दुधकोसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मेनलाईनको ठेक्काको म्याद गुज्रेको १९ महिना बित्दा करिब ८२ प्रतिशत मात्र काम सम्पन्न भएको संघीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख हेराकाजी महर्जनले बताए। यस्तै, भुम्जुडाँडा र काभ्रेडाँडामा निकालिएको पानीलाई वडा–वडामा वितरण गर्ने कामको म्याद गुज्रेको कम्तीमा १३ महिना बितिसकेको छ। वितरणलाईनको काम हालसम्म करिब ७५ प्रतिश मात्र सम्पन्न भएको प्रमुख महर्जनले बताए।  

सुक्खाग्रस्त क्षेत्र घोषित हलेसी तुवाचुङ नगरपालिकाको ७ वडाका खानेपानीको विकराल समस्या हल गर्नका लागि ९६ करोडभन्दा बढिको बृहत पम्पिङ खानेपानी आयोजनाको काम सुरु गरिएको थियो। दुधकोसीबाट पानी लिफ्ट गरेर नगरपालिकाका ७ वडाका कम्तीमा ३ हजार ७५६ घरधुरीलाई बितरण गर्ने लक्ष्य राखिएको छ। नदीको पानी गाउँमा निस्कने आशामा बसेका स्थानीय आयोजनाको काममा ढिलासुस्ती हुँदा स्थानीय आजित बनेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए।  

भ्याट वाहेक ३१ करोड ७५ लाख ९६ हजार खर्चमा २०७६ साल पुस १७ गतेसम्ममा सम्पन्न गर्नेगरी ठेकेदार कम्पनी दिवा–महादेव खिम्तीले २०७४ साल असार २१ गते बृहत पम्पिङ खानेपानी आयोजनाको मेनलाईनको कामको ठेक्का सम्झौता गरेको थियो। सो सम्झौता अनुसार २०७६ साल पुस १७ गते नै म्याद गुज्रेको मेनलाईनको कामको म्याद कोभिड–१९ का कारण देखाउँदै गत असार मसान्तसम्म थप भएको थियो। गत असार मसान्तसम्मको म्याद गुज्रिएपछि पुःन कोभिड–१८ कै कारण देखाएर ६ महिनाको दोश्रो म्याद थपको प्रकृया अघि बढाइएको प्रमुख महर्जनले बताए। दिवा–महादेवले खिम्तीले दुधकोसीको पानीलाई महादेवस्थानको भुम्जुडाँडा र काभ्रेडाँडामा निकाल्नु पर्ने सम्झौता छ।  

दुधकोसी किनारको महादेवबेँसीबाट काभ्रेडाँडा र लुलिमाबाट भुम्जुडाँडामा पानी निकाल्नका लागि दिवा–महादेव खिम्तीले नदी किनारमा सम्पवेल, महादेवबेँसीदेखि काभ्रेडाँडा र लुलिमादेखि भुम्जुडाँडाबीचमा ६/६ वटा लिफ्ट ट्यांकी निर्माण, ६/६ किलोमिटर पाईपलाईन, विद्युतीकरण, ट्रान्सफर्मर जडान लगायतका काम गर्नुपर्ने सम्झौता छ । यस्तै, भुम्जुडाँडा र काभ्रेडाँडामा ३/३ लाख लिटरको चार वटा रिजर्भ ट्यांकी निर्माण गर्नुपर्ने छ। स्थानीय तहको निर्वाचन, कोभिड–१९ को महामारी र वर्षाका कारण काममा ढिलासुस्ती भएको दिवा–महादेव खिम्तीका डाइरेक्टर रबि सिंले बताए। दिवा–महादेव खिम्तीले अपेक्षित र सन्तोषजनक प्रगती देखाउन नसकेको भन्दै हलेसी तुवाचुङ नगरपालिकाका नेताको टोलीले २०७६ साल भदौ चौथो हप्ता खानेपानी मन्त्री बिणा मगरको ध्यानाकर्षण गराएका थिए। 

प्रकाशित: ४ भाद्र २०७८ १२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App