८ वैशाख २०८१ शनिबार
समाज

धरानमा भदौ ४ गतेदेखि १३ गतेसम्म लकडाउन गर्न सिफारिस

तस्बिर: नागरिक

कोरोना संक्रमण दर उच्च रहेको भन्दै धरान उपमहानगरपालिकाले भदौ ४ गतेदेखि १० दिन लकडाउन गर्ने निर्णय गरेको छ। नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले भदौ ४ गतेदेखि १३ गतेसम्म धरानमा पुर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको हो। उक्त निर्णय डिसिसिएमसिमा सिफारिश गरिने र प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेपनि कार्यान्वयनमा आउनेछ।

उपमेयर मञ्जु भण्डारी सुवेदीले धरानमा संक्रमण दर बढिरहेको कारण चेन ब्रेक गर्न अन्तिम विकल्पकोरुपमा पुर्ण लकडाउन गर्ने निर्णय गरेर सिफारिश गरिएको बताइन्। उनका अनुसार लकडाउन अवधिमा औषधी पसल र दुध बिक्री गर्न मात्र छुट दिइनेछ। ‘तरकारी पसल पनि खोल्न नदिने निर्णय भएको छ, दुध विरामीलाई चाहिने भएकोले क्रेटमा राखेर मात्र बेच्न दिइनेछ, डेरी पसल पनि खोल्न पाइदैन,’उपमेयर भण्डारीले भनिन्।

लकडाउन अवधिमा वडाका सम्पुर्ण जनप्रतिनिधिहरु र संयन्त्र परिचालन गर्ने कार्यपालिकाको निर्णय छ। प्रहरी प्रशासनसँग समन्वय गरेर नियमित अनुगमन गर्ने, टोल विकास संस्थाहरुलाई पनि शंकास्पद व्यक्तिहरुको तथ्यांक संकलन, पिसिआर तथा एन्टिजेन परीक्षणमा परिचालन गर्ने निर्णय भएको छ। परिक्षणबाट पोजेटिभ रिपोर्ट आएकाहरुलाई नियमित समन्वय गरेर आइसोलेसनमा राख्ने र आवश्यक परेमा वीपी प्रतिष्ठानसँग समन्वय गरेर उपचार गराउने व्यवस्था गर्ने पनि बैठकले निर्णय गरेको उपमेयर भण्डारीले जानकारी दिइन्।

बैठकले ३ दिनसम्म सर्वसाधारणहरुलाई आवश्यक खाद्यान्न तथा सामग्रीहरु खरिद गर्न समय पनि दिइएको छ। संक्रमण दर बढ्दै गएकोले चेन ब्रेक गर्न आवश्यक भएको कारण अप्रिय भएपनि लकडाउनको निर्णय लिन बाध्य भएको मेयर तिलक राईले बताए। उनले १० दिनसम्म घरबाट बाहिर ननिस्कन र संक्रमणलाई शुन्यमा झार्न सहयोग गर्न पनि आग्रह गरेका छन्।  

कोरोना संक्रमण दर बढ्दै गएपछि साउन १८ गते धरानका ११ राजनीतिक दलहरुले १५ दिन कडा लकडाउन गर्न उपमहानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको थियो। लकडाउनबारे आवश्यक निर्णय लिन हिजो सोमबार सुनसरीका प्रजिअ उमेशकुमार ढकालको उपस्थितिमा सर्वदलीय तथा सर्वपक्षीय बैठक भएको थियो। उक्त बैठकमा उद्योगी, व्यापारीहरुले भने स्वास्थ्य मापदण्ड पुर्णरुपमा लागु गराउन पहल गर्नुपर्ने भन्दै लकडाउनको विपक्षमा उभिएका थिए। यसअघि लकडाउन गर्नुपर्ने माग गर्ने माओवादी केन्द्र भने लकडाउनको विकल्प खोज्नुपर्ने पक्षमा उभिएको थियो भने अन्य दलहरुले लकडाउन गर्नुपर्ने धारणा राखेको थियो। 

प्रकाशित: १ भाद्र २०७८ १०:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App