काठमाडौंको चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र अवैध रूपमा सञ्चालित जुवा अखडामा प्रहरीले छापा हानी ६ जनालाई नियन्त्रणमा लिएको छ।
बुधबार दिउँसो चन्द्रागिरि-५ स्थित दाउराडिपोमा तास खेलिरहेको अवस्थामा उनीहरूलाई प्रहरी वृत्त थानकोटको विशेष टोलीले पक्राउ गरेको हो।
मकवानपुरको बकैया गाउँपालिका-४ घर भई हाल चन्द्रागिरिको दाउराडिपोमा डेरा गरी बस्ने २८ वर्षीय राजु लामाको कोठामा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले कारबाही अघि बढाएको थियो।
सोही सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कोठामा छापा मार्दा घरधनी राजु लामासहित ६ जनालाई रङ्गेहात फेला पारेको हो।
प्रहरीले जुवाको खालबाट नगद ३ लाख १५ हजार ९ सय रुपैयाँ र ६ बुक ताससमेत बरामद गरेको छ।
यसका साथै, जुवा खेल्ने व्यक्तिहरूले प्रयोग गरेका बा.प्र.०२–०६२ प १९५० नम्बर र बा.प्र.०२–०६६ प १०८६ नम्बरका दुईवटा स्कुटरसमेत प्रहरीले बरामद गरेको छ। ती सवारीसाधनहरूलाई पनि आवश्यक अनुसन्धानका लागि प्रहरी कार्यालयमा राखिएको छ।
पक्राउ परेका सबै व्यक्तिहरूलाई थानकोट हिरासतमा राखी थप कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
प्रकाशित: २८ जेष्ठ २०८३ १३:३७ बिहीबार





