७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

गाईजात्रा पर्व औपचारिकतामा सीमित गरिने, घिन्ताङघिसी नखेल्न अनुरोध

कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राखेर यो वर्षको गुन्हीपुन्ही (जनैपूर्णिमा) र सापारु (गाईजात्रा) पर्व सामान्य औपचारिकतामा मात्र सीमित गरिने भएको छ। सो अवसरमा प्रदर्शन गरिने घिन्ताङघिसी र सांस्कृतिक प्रदर्शनीहरु समेत नगर्न नगरपालिकाले अनुरोध गरेको छ।

नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा शुक्रबार वडा वडाका सांस्कृतिक गुरु एवम् सांस्कृतिक प्रतिनिधिहरु र जनप्रतिनिधिहरुसहितको बैठकले सापारुको दिन ‘ताहा साँ’ नगर परिक्रमा गराइँदा एउटा टोलीमा बढीमा २० जनासम्म मात्र सहभागी गराउन अनुरोध गर्ने निर्णय गरेको थियो।

बैठकमा नगर प्रमुख प्रजापतिले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ को संक्रमण भक्तपुरमा पनि दैनिक रुपमा बढ्दो क्रममा रहेको बताए। नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले कोभिड संक्रमितहरूको लागि सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको सेवा प्रभावकारी भएको बताउँदै विगतमा गाईजात्रामा सांस्कृतिक प्रतियोगिता गर्दै आएकोमा भक्तपुर नगरपालिकाले कोभिड संक्रमण जोखिमका कारण यस पटक पनि औपचारिकतामा सीमित गर्न नगरबासीहरूलाई अनुरोध गर्दै आइरहेको जानकारी दिए। ‘कोभिडलाई हेलचेक्र्याइँ होइन, सतर्कता अपनाएर परास्त गर्नुपर्छ।’ उनले भने।

बैठकमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नगरबासीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै घरदैलो नर्सिङ सेवा सञ्चालनमा ल्याएको र हाल ख्वप अस्पताल कोभिड युनिटमार्फत कोभिड संक्रमित तथा अन्य बिरामीहरूको उपचार सेवा प्रभावकारी ढंगले अगाडि बढाइरहेको बताइन्।

बैठकमा जात्रासँग सम्बन्धित सांस्कृतिक गुरु तथा सांस्कृतिक समूहका प्रतिनिधिहरूले कोरोना संक्रमणको जोखिम यथावत रहेको हुँदा यस वर्षको गाईजात्रालाई गत वर्ष जस्तै औपचारिकतामा सीमित गर्नुपर्ने, गाईजात्रा प्रदक्षिणा मार्गमा आवश्यक सरसफाई र क्लोरिन छर्कनुपर्ने, भीड जम्मा हुने खालका कुनै किसिमको सांस्कृतिक प्रदर्शनीमा रोक लगाउनुपर्ने, कोभिडबारे जनतालाई सचेत पार्न माइकिङ गर्नुपर्ने, गाईजात्रा व्यवस्थित गर्न स्वयम्सेवकहरू परिचालन गर्नुपर्नेलगायतका सुझावहरू दिएका थिए।

प्रकाशित: २९ श्रावण २०७८ ११:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App