७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

एक बुबा र तीनै छोरा पाइलट, एकै ककपिटमा!

‘अरुहरुले जे सकिँदैन भन्छन्, हामी त्यो सकिन्छ, हुन्छ, गर्न सकिन्छ भन्ने ठान्छाँै। काम गर्न नचाहनेले मात्रै यस्ता तर्क गर्छन्। अगाडि बढ्न चाहनेले कहिल्यै सकिँदैन, हुँदैन, सम्भव छैन भन्दैन। नेपालमा काम गर्नुपरेपछि यस्ता तर्क गर्नेहरु भने धेरै भेटिन्छन्’’ कुराकानीको शुरुआत नै यसरी भयो।  

पाइलटहरुको एउटा परिवार। शुरुमा पिता अनि तीनभाइ छोरा पनि बुबालाई पछ्याउँदै पाइलट। संसारमा यस्तो संयोग पनि कमै जुर्छ होला। तेस्रो पुस्तालाई समेत सोही पेशामा लगाउने सोच छ त्यो परिवारको छ।  

यो पाइलट परिवारले झण्डै ६५ हजार घण्टा विमान उडाएको रेकर्ड समेत बनाएको छ। त्यही रेकर्ड बनाएको परिवारको दोस्रो पुस्ताको जेठो सदस्य हुन्, सुवास रिजाल।  

नेपालको राष्ट्रिय झण्डा बोकेर उड्ने नेपाल वायु सेवा निगम आफैमा गर्विलो विरासत बोकेको संस्था हो। काठमाडौँको नयाँ सडकको ढोकैमा आकाश भैरवको प्रतिमा शिरमा राखेर ठडिएको यो संस्थाले राजनीतिक उतारचढाव धेरै भोग्यो। सोही संस्थाले दिएको नाम र कामसँग नङमासु जसरी जोडिएको छ रिजाल परिवार।  

धनकुटाबाट विराटनगर हुँदै काठमाडौँ आइपुगेको रिजाल परिवारले बनाएको प्रतिष्ठा धेरैका लागि लोभलाग्दो पनि छ। पिता गंगाप्रसाद रिजाल निगमका वरिष्ठ पाइलट थिए। उनी लामो समय सेवा गरेर हाल अवकाश जीवनमा रमाइ रहेका छन्। उनका तीन भाइछोरा नै पाइलट छन्। अहिले त उनीहरु पनि वरिष्ठ भइ सकेका छन्।

कुनै समय थाइ एयरलाइन्ससँग जोडिएर आउँथ्यो, निगमको नाम। शाही नेपाल वायु सेवा निगमबाट शुरु भएको यात्रा नेपाल वायु सेवासम्म आइपुग्दा झनै खस्किएको छ। झनै खुम्चिएको छ भन्दा अन्यथा हुदैन होला। विदेशी एयरलाइन्सको धमाधमको कमाइका अघिल्तिर निगमको गन्तव्य भने सीमित छ। सीमित मात्र होइन झन खुम्चिँदै गएको छ।  

देशभित्रै निजी वायुसेवा प्रदायकले दैनिक दर्जनौँ उडान भर्दा, निगमका जहाज घाम पानी थापेर विमानस्थलमा ग्राउण्डेड हुन बाध्य छन्। आन्तरिक उडानका लागि ल्याइएका चिनियाँ जहाज उड्न सक्छ, सम्भव छ भन्नेहरुका कुरा सायदै सुनिन्छ। पछिल्लो पटक त निगमले ती जहाज व्यवस्थापन गरिदिन सरकारलाई आग्रह गरिसकेको छ। अन्तर्राष्ट्रिय उडानमा रहेका दुई न्यारोबडी र दुई वाइडबडीका पनि आ–आफनै कहानी छन्। निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारले आँट गरेर जहाज नल्याएको भए आज निगम विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ्मा मात्रै सीमित हुन्थ्यो भनेर टिप्पणी गर्नेहरु पनि उत्तिकै छन्।  

निगमलाई धेरै अगाडि बढाउन सकिन्छ, यहाँ त हुँदैन, सकिदैन भन्ने मान्यताले काम गरेको छ। जसले  हुँदैन र सकिँदैन भन्छन् उनीहरुलाई नै निगमको खास जिम्मेवारी दिइएको आरोप पनि लाग्ने गरेको छ।  

नेपालको हवाई उड्डयन व्यवसाय रु. ९५ अर्ब भन्दा माथिको छ जसमा नेपालमा स्थापित सबै वायुसेवाहरुको कूल हिस्सा रु. २० देखि २५ अर्ब मात्र रहेको छ। हामी सबैले कसैको पनि कुभलो नचिताई स्वस्थ प्रतिस्पर्धा गरेरै अघि बढ्दा समृद्धि हाँसिल गर्न सकिने सकारात्मक मत पनि छ।  

निगमका वरिष्ठ पाइलट समेत रहहेका सुवास भन्छन्।, ‘उच्च व्यवस्थापनमा रहेकाहरुले जे कुरा सम्भव छैन भनिरहनु भएको छ, त्यो कुरा हामी सम्भव छ भनेर देखाउन सक्छौँ । हामीमा आँट छ, गर्ने ल्याकत पनि छ।’ सबैतिर बन्द भएको उडान तत्कालीन अवस्थामा सुगतरत्न कंसाकार महाप्रबन्धक भएको समयमा शुरु भएको थियो। सुवासको बुझाइमा सन् २०१६ देखि २०१८ को बीचमा झण्डै ४० गन्तव्यमा उडान शुरु भएको थियो। सो समयमा सुवास निगमको अपरेशन डाइरेक्टर थिए। त्यसपछि झनै गन्तव्य थपिनुपर्ने थियो। नयाँ नयाँ जहाज पनि थपिनुपर्ने थियो।  

अवस्था भने ठिक विपरित भएर गएको छ। आन्तरिक उडानका लागि भनेर ल्याइएका चिनियाँ जहाज घाम तापेर, बर्षा सहेर बसेको छ। भएका दुई वटा ट्वीनअटर जहाजले कुन कुन गन्तव्यमा उडान भरोस्। निजी विमान कम्पनीले धमाधम उडान भरीरहँदा निगमका जहाज भने पखेटा काटिएको चरा जस्तै रहन किन बाध्य भयो त? सुवासको टिप्पणी छ, ‘यो पनि सकिदैन, त्यो पनि सकिँदैन, हुँदैन भन्ने मान्यताले निगममा घर गरेको छ। यो प्रवृत्तिलाई बदलेर, सकिन्छ, हुन्छ, गर्न सकिन्छ भन्ने मान्यता स्थापित गरिए सबै कुरा सम्भव छ। हामी सम्भव बनाउन सक्छौँ।’

‘जहाज उडाउने भनियो, पाइलट छैन भनिन्छ, इन्जिनियर छैन भनिन्छ, अर्कोलाई दोष लगाउन थालिन्छ तर म यो काम गर्छु, यसरी सम्भव छ भनेर कोही कसैले पनि तयारी गरेको देखिएन। बरु राम्रा काम गरेकालाई हिलो छ्याप्ने काम गरियो’, वरिष्ठ क्याप्टेन सुवास भन्छन्, ‘जसलाई संस्थाको भन्दा अन्यत्रैको माया छ भने कसरी निगम उभो लाग्छ।’  

गुनासै गुनासाका पोका मात्रै होइन, हामीसँग निगमलाई अगाडि बढाउने मास्टर प्लान पनि छ। खुम्चिएर बसेको निगमलाई फुकाउने, व्यवसायिक कार्ययोजनाका साथ अगाडि बढ्ने सोच पनि छ। विगतमा अगाडि बढाइएका सकारात्मक कार्ययोजना पूरा गर्ने हो भने निगमले चोला फेर्न धैरै पर्खनुपर्ने छैन ।  

सुवासको भनाइ छ ‘जे हुदैन, सम्भव छैन भनिन्छ त्यो काम सम्भव छ, गर्न सकिन्छ। निगम पनि अन्य व्यवसायिक निजी कम्पनीभन्दा अब्बल बनाउन सकिन्छ । प्रतिस्पर्धी बनाउन सकिन्छ।’  हुन पनि हो । काम गर्दा  भन्दा नगर्दा नै फाइदा भएपछि किन मानिसले दुःख गरोस् ? अहिले निगममा भएको पनि त्यही हो । सायद यसैले हुनसक्छ उनको आक्रोशपूर्ण अभिव्यक्ति देखिन्छ बेलाबखतमा।  

कोरोनाको विपदमा उद्दार गर्नु पर्दा निगमको जहाज चाहिएको छ। स्वास्थ्य सामग्री ल्याउनु परेको छ, जहाज त फेरि पनि निगमको नै चाहिन्छ तर निगमलाई व्यवसायिक बनाऔं भन्ने सन्दर्भ कहीँकतैबाट आयो भने, कोही जिम्मेवारी लिन तयार नभएको उनको गुनासो छ। किनकी त्यहाँ जवाफदेही हुनुपर्छ। निगम बनाउँछु भनेर आएका एकाध बाहेक अधिकांशसँग जवाफदेहिता छैन भन्ने आफूले देखेको सुवासको भनाइ छ।  

‘‘आपत विपदको समयमा काम लाग्ने भनेकै आफ्नाहरु हुन्’ नेपाली समाजमा यो भनाई लोकप्रिय छ। कुनैपनि सार्वजनिक संस्था स्थापना गर्नुको पछाडि पनि यही सामाजिक चरित्रले काम गरेको छ तर निगमलाई आम जनताको संस्था बनाउनेतर्फ कोही कसैले सोचेका छैनन् जस्तो देखिनु आफैमा दुःखद छ।  

निगमका दुई वाइडबडी जहाजमध्ये एउटालाई जानी बुझीकनै बिरामी बनाइएको छ। बिरामी निगम सुधार्न ठूलै पापड पेल्नुपर्ने बताउने सुवासलाई शुरुमा आमाले छोरो डाक्टर बनोस् भन्ने चाहेका थिए। बुबा पाइलट भइहाल्नुभयो अब छोरो डाक्टर बनोस् भन्ने भएपनि परिस्थितिले पाइलट नै बनाइदियो। पिता गंगाप्रसादका तीन भाइछोरा नै पाइलट बने।

बनारसमा आइएस्सी सकेपछि सुवास पाइलट पढ्न अमेरिका ग्ए। यो सन् १९८८ मा उहाँ त्यहाँ पुगेर करिब १० महिनामा १०–१२ हजार अमेरिकी डलर खर्च गरेर अध्ययन गरे र व्यवसायिक पाइलट बनेर फर्के।  उनले नेपाल फर्केपछि जहाज उडाउने सपना बोकेर आएका थिए तर त्यति नै बेला भने निगमसँग पर्याप्त जहाज थिएनन्। त्यसमाथि सरकारी संस्थान भएकाले सजिलै जागिर पाउने कुरा पनि थिएन।  

जहाज उडाउन नपाएपछि केही समय शिक्षक भएको स्मरण गर्छन्, सुवास। बेरोजगार पाइलट भनेर पहिलो अन्तरवार्ता दिने पनि मै थिएँ, शुरुआती दिनहरुको स्मरण उनी यसरी गर्छन्।  

संयोगले तत्कालीन प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठसँग भेट्ने अवसर मिल्यो। मरिचमानले विस्तारमा सुवासहरुको कुरा सुसे। उनलाई भेटेको कही समय लगत्तै सुवासलाई रोजगारीको खबर आयो।  

नेपाल एयरलाइन्सका पाइलट सुवासले ट्वीनअटर, बोइङ हुँदै अहिले एयरबस ३२० उडाइ रहेका छन्। उनले आफनै पितासँग एउटै ककपिटमा बसेर पनि जहाज उडाएका छन्। सन् १९६७ मा पाइलट बनेका गंगाप्रसाद, सन् २००३ मा अवकाश भए।  

कुनै बेला बाबु छोराले जहाज हाँक्ने सुवासका दाजुभाइ पनि बेला बेलामा त्यस्तै संयोग मिलेर आएको हुन्छ। भाइ श्रवणसँगै सुवासले एअरबस ३२० उडाउँछन्। अहिले भाइ एअरबस ३३० मा छन् भने भने सुवास ३२० मा प्रशिक्षक पाइलट । केही वर्ष पहिले तीनै जना दाजुभाइ एअरबस ३२० उडाउँथे।  

क्याप्टेन गंगाप्रसादका तीन भाइ छोरा, तिनै जना पाइलट। बुबाले झण्डै १८ हजार घण्टाभन्दा भन्दा बढी उडाए। सुवास भन्छन्, ‘मेरो नै २१ हजार घण्टा माथि पुग्यो। भाइहरुको १८– १८ हजार घण्टा माथि पुग्यो। यसबाट प्रष्ट हुन्छ हाम्रो परिवारको मात्रै ६५ हजार घण्टाभन्दा माथि जहाज उडाएको पुगेको छ।’  

विभिन्न क्षेत्रमा नयाँ रेकर्ड कायम भएका छन्। चारैजना एउटै एयरलाइन्स राष्ट्रिय ध्वजाबाहकमा काम गरेको पनि विरलै पाइन्छ। एउटै संस्थामा लामो समयसम्म आवद्ध भएर बसेको पनि लामो नै भएको छ। ‘पिताजी ८० पुग्नु भएको छैन। म ५३ वर्ष भएँ। भाइहरु मभन्दा चार वर्ष कान्छा छन्।’ सुवासले पारिवारिक पृष्ठभूमि बर्ता। माइला सुदीप पनि केही पहिले निगमको पाइलट थिए। अहिले उनी संयुक्त राष्ट्रसङ्घमा कार्यरत छन्।  

विराटनगर–४ बरगाछी स्थायी ठेगाना भएपनि रिजाल परिवार काठमाडौंँमा नै बस्यो। सुवासमात्रै विराटनगरमै जन्मिए। सुदीप र श्रवण काठमाडौंमै जन्मेका हुन्। सुवासले भानुभक्त र ल्याब्रेटरी स्कुल पढेका हुन्। सुदीप र श्रवण सिद्धार्थ वनस्थलीमा। खासमा सुदीप र श्रवण पाइलट बन्न खोजेका थिएनन् तरपछि उनीहरु पनि अन्तिममा पाइलट नै बने। सुदीप–श्रवणले इन्जिनियरिङ पढेका हुन्। त्यसमा पनि सुदीपको सफ्टवेयरमा इन्जिनियरिङ हो। श्रवणको इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ विषय थियो।  

इन्जिनियरिङ सकेर दुबैजना नेपाल फर्केर जागिरको खोजी शुरु भयो। तर केही गर्दा पनि पाउन सकिएन। काम गर्ने ठाँउ नै पाउन सकिएन। के गर्ने त भन्ने जिज्ञासाका बीचमा दुबै जनाले पाइलट पढ्ने निधो भयो। पाइलट कोर्सका लागि अमेरिका गए।

बाबु र जेठा छोरा जतिबेला सँगै जहाज उडाउँथे भने माइला र कान्छा भने पाइलट कोर्स पढ्दै थिए। सन् १९९७ मा पाइलट कोर्स सकेर आउँदा निगममा नै जागिर  खुलेको थियो। बाबु र तीन भाइ छोरा सबै निगमको नै जागिरे पाइलट भए।  

सुवास र श्रवण अनुभवी पाइलटका रुपमा स्थापित छन्। दाजुभाइ नै एकैपटक ककपिटमा रहँदा कस्तो अनुभव हुँदो रहेछ त? ‘अरुजस्तै सामान्य’ सुवासको छोटो उत्तर थियो। झण्डै अढाई सय हाराहारी उडानमा दाजुभाइसँगै छन्। प्रायः एकैसाथ उडेका छौँ । दाजुसँगै एउटै ककपिटमा धेरै उडान भरेका सुदीपले भने बुबासँग जहाज उडाउन पाएको अनुभव छैन।  

उनलई बेला बेलामा मलाई त्यो सौभाग्य भने मिलेन भन्ने लाग्दछ। एउटै ककपिटमा रहँदा दाजुभाइको नाता कि एउटा व्यवसायिक पाइलटको सम्बन्ध? कुन बढी देखिन्छ? हाम्रो अर्को जिज्ञासा थियो सुवाससँग। उनले भने, ‘दाजुभाई भन्दा पनि साथी जस्तो लाग्छ मलाई। उडेपछि हामी साथीभाइ।’ श्रवणको पनि उस्तै भनाइ छ ‘ककपिटमा बस्दा दाजुभाइ भन्ने जस्तो नै हुदैन।’

नेपालका अधिकांश विमानस्थलमा उडान भरेको अनुभव छ, सुवाससँग। यस्तै अनुभवको खानी नै छ श्रवणसँग पनि। रुम्जाटारबाट काठमाडौँका लागि उडेको ट्वीनअटर जहाजको एकापट्टिको इन्जिन उड्नेवित्तिकै बन्द भयो।  जहाजलाई नियन्त्रण गर्नुको विकल्प थिएन उनीसँग । रुम्जाटारै फर्किन पनि सकिएन। काठमाडौँ सजिलै अवतरण गराउनु ठूलो चुनौती थियो तर बन्द भएको इन्जिन दस मिनेट पछाडि स्टार्ट भयो र सङ्कट टर्यो।  

उनीहरुसँगको कुराकानी सुन्दा लाग्छ कि हवाई उडान आफैमा जोखिमपूर्ण हो। त्यो नेपालमा मात्रै नभई संसारभर नै उस्तै हो । मात्रै जोखिम नियन्त्रण गर्ने उपाय खोज्नुपर्छ।  

‘उडान मार्ग परिवर्तन गर्दै खराब मौसमलाई चिर्ने हो। आकाशमा समस्या हुन्छ नै अमेरिकाको आलास्कामा यहाँको भन्दा बढी जोखिम छ तर पनि उडान त भइरहन्छ’ सुवासको भनाइ छ।  

एयरबस उडाउने १२ जना पाइलटमा वरिष्ठमध्ये एक हुनुहुन्छ सुवास। अफगानिस्तानबाट नेपालीको उद्दारका लागि भएको उडानमा सुवास र श्रवण नै जानु भएको थियो। त्यहाँ अवतरण गरेको केही समयमै विमानस्थलको एक भागमा बम विष्फोट भएको थियो। यस्ता दर्जनौँ उदाहरण छन् उनीहरुसँग।  

सन् १९९९ डिसेम्बर २४ मा इन्डियन एयरलाइन्सको एयरबस ए–३०० अपरहणमा परेको थियो। त्यसपछि नेपाल वायु सेवा निगमको जहाज नै काबुलका लागि सोझो उडान भरेको थियो  रिजाल दाजुभाइले पटक पटक आफनो ऐतिहासिक दायित्व पूरा गर्नुभएको छ ।  

विगतमा अपरशेन डाइरेक्टर भएर ४० गन्तव्यमा नेपाली ध्वजाबाहक जहाज पु¥याउने श्रेय समेत सुवासको नाममा छ । व्यवसायिक हितका लागि काम गर्दा निगमको हित नचिताउनेहरुले दुःख दिएपनि त्यसको परवाह नगर्ने स्वभाव छ मेरो, सुवास स्पष्ट भन्छन्।

निगममा पटक पटक प्रमुख व्यवस्थापक परिवर्तन भए। पूर्व सचिव सुशिल घिमिरे दोहोर्याएर अध्यक्ष बने। मदन खरेल पनि दोहोर्यार कमान सम्हाल्न पुगे। तर अवस्था जहाँको त्यहीँ रहेको छ। उनीहरु दुवै जना कार्यकाल नै पूरा नगरी राजीनामा दिएर हिँडे। निगमलाई  बचाउन सफलता प्राप्त होस् भनी धेरैले दिएको आशिर्वाद, बधाई र सफलताका  शुभकामनाहरु फेरि अधुरै रहेको गुनासो उत्तिकै छ। यो नियति दोहोरिरहँदा नेपालको राष्ट्रिय ध्वजावाहकलाई  माया गर्नेहरु पटक पटक मर्माहत हुनु परेको बताउँछन् वरिष्ठ क्याप्टेन सुवास।  

आँट गरेर ल्याएको अन्तर्राष्ट्रिय उडान गर्ने चारवटा जहाजको भरमा निगमको साख कति दिन जोगिएला? धेरैको जिज्ञासा छ। वरिष्ठ क्याप्टेन सुवासको भनाइ छ– मौजुदा अवस्थालाई परिवर्तन गर्न आँट चाहिन्छ। त्यस्तो आँटका लागि प्लान चाहिन्छ। टिम पनि चाहिन्छ। विद्यमान व्यवस्थापनले त्यो काम गर्न सक्दैन।  

नयाँ सोचका साथ काम गर्नैपर्छ। निजी सेवा प्रदायकले गर्न सक्छ भने निगमले किन गर्न सक्दैन?  

तपाईले जिम्मेवारी पाए निगमलाई सुधार गर्न सक्नुहुन्छ? हाम्रो यो प्रश्नको उत्तरमा सुवास धेरै आशावादी देखिए। भने, ‘निगमलाई धेरै सुधार गर्न सकिन्छ। छ महिनामा परिणाम दिन सकिन्छ। निगम भित्रका तमाम विकृति पनि हटाउन सकिन्छ। दर्जन बढी जहाज पनि किन्न सकिन्छ। गन्तव्य पनि विस्तार गर्न सकिन्छ। नसकिने भन्ने केही पनि छैन। सबै सम्भव छ। गर्न सकिन्छ।’  

त्यो काम हामी गर्न सक्छौँ। कुराकानीको विट मार्दै वरिष्ठ क्याप्टेन सुवासले भने, ‘एउटा इतिहास बनेको परिवारको एउटा सदस्य भएकाले पनि मेरो रगतमा नै निगम छ। निगम डुबेको होइन, निगम फैलिएको हेर्ने धोको छ। किनकी मेरो परिवारको रगत पसिना नै यसका लागि बगेको छ। मेरा लागि यसको विकास र विस्तारभन्दा अरु कुनै स्वार्थ छैन।’

रासस

प्रकाशित: १६ असार २०७८ ०९:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App