५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

‘आकस्मिक घरदैलो रक्तदान अभियान’ सञ्चालन गर्दै भक्तपुर रेडक्रस

‘रगत नपाए भक्तपुर जानू’ भन्ने नारा चलाइरहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले कोभिड महामारीको अवस्थामा पनि रगतको सहज व्यवस्थापनका लागि आकस्मिक घरदैलो रक्तदान अभियान सञ्चालन गरिरहेको छ।  

बढ्दो संक्रमणलाई रोकथाम तथा न्यूनीकरणका लागि वैशाख १६ गतेबाट गरिएको लकडाउनदेखि नै ब्लड डोनर्स एशोसियसन (ब्लोदान), जिल्लामा रहेका नेपाल रेडक्रसका उपशाखाहरु, तथा अन्य सहयोगी संघसंस्थाको सहयोगमा उपत्यकाका तीनै जिल्लाको समुदायस्तरमै पुगी घरदैलो रक्तदान अभियान गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका सभापति मनोजकुमार थापाले बताए।

सभापति थापाका अनुसार आकस्मिक घरदैलो रक्तदान अभियान सञ्चालनका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका मन्त्री परशुराम पाण्डेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ। जसमा सुडाल उपशाखाका सभापति विदुर नेपाल, दुवाकोट उपशाखाका सभापति सोम प्रधान, नगरकोट उपशाखाका कावा सभापति कल्पदिप खड्का, सिपाडोल उपशाखाका सभापति राकेश थापा, बालकोट उपशाखाका सभापति दिवाकर सिलवाल, दिव्यश्वरी उपशाखाकी निर्मला थापा, समाजसेवी नवराज काफ्ले र सदस्य सचिव उमा थापा रहेका छन्।

कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि भएकोे बन्दाबन्दीको अवस्थामा पनि एकसय पचास जनाभन्दा बढी रगत लिन भक्तपुर रक्तसञ्चार केन्द्रमा हरेक दिन आउने संयोजक पाण्डे बताउछन्। ‘सबै घरभित्र हुनुहुन्छ, रक्तदान कार्यक्रम भएका छैनन, यो अवस्थामा रगतको व्यवस्थापन गर्नु चुनौतीपूर्ण छ’, संयोजक पाण्डेले भने। रगतको अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको सिर्जना नहोस् भनी स्वयंसेवी रक्तदाता र संघसंस्थाको सहयोग र समन्वयमा आकस्मिक रुपमा घरदैलो मै पुगी रक्तदान अभियान सञ्चालन गरिएको सभापति थापाको भनाइ छ। ‘हामी नियमित रक्तदाताहरुलाई फोन गर्छौं। उहाँहरुले बोलाउनु भएपछि उहाँहरुको घरमै वा टोलमै पुगेर रगत संकलन गर्ने गरेको छौं’ संयोजक पाण्डेले भने।

नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखाले अघिल्लो वर्ष कोभिड महामारीका कारण भएको लकडाउनको समयमा टोल टोलमा रक्तदान अभियान सुरु गरेको थियो। रगतको अभावलाई सहज र सरल तरीकाले उपलब्ध गराउन सकियोस् भनेर सञ्चालन गरिएको टोलटोलमा रक्तदान अभियान बढ्दो कोभिड संक्रमणलाई ध्यान दिँदै अझै सुरक्षित रुपले रक्तदान कार्यक्रम सञ्चालन गर्न सकियोस् भनेर घरदैलोमा अभियान सञ्चालन गरिएको सुडाल उपशाखाका सदस्य जयराम लामाले बताए।  

लकडाउनका समयमापनि रगतको अतिआवश्यक पर्ने बिरामीहरु हुने भएकोले सुरक्षित तवरले रक्तदान गर्नका लागि जिल्ला शाखा भक्तपुरले आव्हान गरेको छ।

प्रकाशित: १४ जेष्ठ २०७८ ०९:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App