२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

धर्मकाय बुद्ध मण्डलाको डिपिआर तयार नहुँदा अन्यौल

रिटेनिङ वाल लगाउन समिति र महानगरबीच सम्झौता

धर्मकाय बुद्ध मण्डलाको थिम ‘पोखरालाई भगवान बुद्धको आर्शिवाद’ हो ।  त्यही आशिर्वादलाई सार्थकता दिने योजना अघि सारिएको छ । पोखराकै अग्लो मध्येको डाँडा काँहुधरहरा कोटमा धर्मकाय बुद्ध मण्डला बनाउने योजनाको बिस्तृत परियोजना प्रतिवेदन(डिपिआर) नबन्दा कति उचाईको बुद्ध र शिवमूर्ति स्थापना गर्ने भन्ने अन्यौल छ । डिपिआर तयार पार्न धर्मकाय बुद्ध मण्डला विकास तथा व्यवस्थापन समिति सक्रिय रहेपनि बन्न सकेको छैन् ।  

‘डिपिआर अझै तयार भएको छैन्, धर्मकाय बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका सचिव राजबहादुर गुरुङले भने, ‘डिपिआर नहुँदा कति उचाईको बुद्ध मूर्ति स्थापना गर्ने टुंगोमा पुग्न सकिएको छैन् ।’ उनका अनुसार डिपिआर पछि मात्रै बुद्ध तथा शिवमूर्तिको उचाईको यकिन हुने छ । समितिले डिपिआर बन्नु अघि नै उत्तर र पूर्व तर्फ भिरालो पाखामा रिटेनिङ पर्खाल लगाउन शुरु गरेको छ । रिटेनिङ वाल लगाउन समितिले महानगरपालिकासँग सम्झौता गरेको छ । सम्झौता अनुसार महानगरपालिकाले १६ लाख रुपैयाँ उपलब्ध गराएको छ । ‘महानगरपालिकासँग गएको फागुनमा सम्झौता गरियो । सम्झौता अनुसार समिति र महानगरपालिकाले ५०÷५० प्रतिशत लगानी गरिने छ,’ उनले भने,‘महानगरपालिकाले सम्झौता अनुरुप १६ लाख रुपैयाँ सहयोग गरेको छ ।’  

सम्झौतासँगै रिटेनिङ वालको काम भईरहेको छ । कोरोनाको कहर एकातिर छ । अर्कोतिर भने कामलाई निरन्तरता दिइएको छ । उनले जुन गतिमा हुनुपर्ने हो त्यो भने हुन नसकेको उल्लेख गरे । वर्खायाममा बग्ने भेल रोक्ने तारजालियुक्त  ग्याभिन लगाउने काम समेत भईरहेको उनले जानकारी गराए । महानगरपालिकाले पनि डिपिआर बनाएर ल्याउन समितिलाई निर्देशन गरेको छ । डिपिआर पछि मात्रै मूर्तिको उचाईको निक्र्यौल गर्न सकिने उनको भनाई थियो । ‘हामीले पहिला जुन कल्पना गरेका थियौं, त्यो आकृतिको मूर्ति बनाउन नसकिने भयौं’ उनले भने, ‘त्यही भएर पहिला डिपिआर बनाउनुपर्ने भयो । महानगरपालिकाले पनि डिपिआर मनाएको छ ।’ काहँुडाडामा कालिका मन्दिर छ । मन्दिरभन्दा १ सयमिटरको दुरीमा धराहरा छ । मन्दिरको उचाई करीव ११० फिटको छ ।  

समितिले कालिका मन्दिरकै उचाईमा मूर्ति बनाउने योजना राखेको छ । ‘बुद्ध मूर्ति ८० फिट अग्लो र शिव मूर्ति ५१ फिट अग्लो राख्ने योजना छ,’ उनको भनाई थियो । शिवमूर्ति ११० फिटबाट घटाई ५१ फिटमा झारिएको हो । काहँुडाडाको क्षेत्र हवाई रुट अन्तर्गत पर्छ । हवाई रुट भएकै कारण समितिले योजना बनाएको अनुसार उचाईको मूर्ति स्थापना गर्न कठिनाई भएको हो । समितिकै नाममा १० रोपनी क्षेत्रफल छ । त्यो बाहेक १६८ रोपनी क्षेत्रफल वन छ । वनलाई समेत उपयोग गर्ने समितिको भनाई छ । ‘आवश्यक जग्गा उपभोगको लागि डिभिजन वन कार्यालय कास्कीलाई आवश्यक कागजपत्र पेश गरिसकिएको छ ।’

 उनले भने, ‘पेश गरिएको कागजपत्र मन्त्रालयमा पुगेको छ । मन्त्रालयबाट स्वीकृति भएपछि मात्रै उपयोग गर्न पाईने छ ।’ २०७२ साल बैशाखदेखि पोखराको काहुँकोटमा धर्मकाय बुद्ध मण्डला बनाउने योजना बनाईएको हो । योजना अनुसार व्यक्तिगत जग्गाको सट्टा जग्गा नै सट्टाभर्ना गरेरै बुद्ध मण्डलाको लागि व्यवस्थापन गरिएको थियो । १४ सय मिटरको उचाईमा रहेको काँहुकोटमा बुद्ध मण्डला बनाउने ध्येय राखिएको हो । सट्टाभर्ना गर्दा झण्डै ७ करोड रुपैयाँ खर्च गरिएको उनले बताए ।  

१४ सय मिटरको उचाईमा बनाईने बुद्ध प्रतिमासहितको धर्मकाय बुद्ध मण्डलाको लागि आवश्यक सर्भे गरिसकिएको छ । बातावरणीय मूल्यांकन, जमिनको भौगर्भिक अवस्थाको समेत प्राविधिक अध्ययन भैसकेको छ । स्थानीय तहमा सार्वजनिक सुनुवाई समेत गरिएको उनको भनाई थियो । अन्तर्राष्ट्रिय हवाई मापदण्ड अनुसार ५ किलोमिटर क्षेत्रभित्र ठूलो संरचना निर्माण गर्न नपाईने प्रावधान छ । धर्मकाय बुद्ध मण्डलाको परिकल्पना भने धर्मगुरु साङ्पा रिम्छोपेको हो । उनले १५ वर्ष अघिदेखि बुद्ध मण्डला बनाउने योजना बनाएका थिए । पहिला  परिकल्पना यशोधरा पार्क थियो । गुरु रिम्छोपेसँगको छलफलपछि धर्मकायबुद्ध मण्डला बनाउने निर्णय गरिएको हो । बुद्ध मण्डला अन्तर्गत इन्ट्रान्स प्लाजा, टुरिष्ट सेन्टर, पेगौडा शैलीको स्तुपा, बुद्धको प्रतिमा, पोखरा कल्चरल स्टेट, ध्यान केन्द्र, ध्यान गर्ने उद्यान लगायतका पूर्वाधार तयार गरिने गुरुयोजना छ । 

प्रकाशित: ३ जेष्ठ २०७८ १०:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App