७ वैशाख २०८१ शुक्रबार
समाज

'पत्रकारको स्वास्थ्य तथा पेशागत सुरक्षा मुख्य चुनौती'

कोरोना भाइरस (कोभिड–१९) को महामारीको दोस्रो लहरले विश्वको हरेक क्षेत्र, तह–तप्कालाई आक्रान्त बनाएको पृष्ठभूमिमा नेपाली पत्रकार र पत्रकारिताको अवस्था जर्जर बनिरहेको छ । कोरोना महामारी तीव्र रुपमा बढीरहेका बेला मंगलबार बसेको नेपाल पत्रकार महासंघको दोस्रो केन्द्रीय समिति बैठकले पत्रकारको स्वास्थ्य तथा पेशागत सुरक्षामा केन्द्रित भएर काम गर्ने निर्णय गरेको छ।  

जुममार्फत बसेको बैठकले कोरोना संक्रमणसंग जुध्दैँ सूचना प्रवाहको महत्वपूर्ण दायित्व निर्वाह गरिरहेका पत्रकारको स्वास्थ्य तथा पेशागत सुरक्षा अहिले महत्वपूर्ण चुनौती बनेको उल्लेख गरेको छ। पत्रकारको स्वास्थ्य र पेशागत सुरक्षालाई केन्द्रविन्दुमा राखेर आवश्यक कदम चाल्न, त्यसका लागि समुदायस्तरका संघसंस्थासँग सहकार्य गर्न, पारदर्शी रुपमा कोभिड कोष निर्माणको पहल थाल्न र प्रेस पासको दुरुपयोग हुनबाट रोक्न महासंघका सबै प्रदेश समिति, जिल्ला शाखा, एसोसिएट, प्रतिष्ठान शाखा र वैदेशिक शाखालाई आह्वान गरेको छ।  

यस्तै, पत्रकारलाई कोरोनाविरुद्धको लडाइका ‘फ्रण्टलाइनर’ घोषित गरी उनीहरुको स्वास्थ्य र सुरक्षाका लागि उचित प्रबन्ध गर्न, पत्रकारसहित सबै ‘फ्रण्टलाइनर’ को निःशुल्क उपचारको प्रबन्ध गर्न तथा बिमा र इन्टरनेट सुबिधाको व्यवस्था गर्न राज्यको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। महासंघले नेपाल सरकारको आगामी बजेटमा कोरोना संक्रमणबाट पीडित सञ्चारकर्मी र संकटग्रस्त संचारसंस्थाका लागि फरक फरक राहत प्याकेजको व्यवस्था गरी घोषणा गर्न माग गरेको छ। यस्तै, कोरोना संक्रमण बढ्दै गरेको अवस्थामा नागरिकको स्वास्थ्यलाई गम्भीरतापूर्वक लिँदै आफ्ना संरचनामार्फत नागरिकको जीवन बचाउनका लागि प्रभावकारी ढंगले प्रस्तुत हुन सरकारलाई आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।

महासंघले स्वास्थ्य सेवा सुलभ र सहज रुपमा पाउने नागरिकको संवैधानिक अधिकारको सम्मान गर्दै कोरोना संक्रमणको परीक्षणलाई सहज र निःशुल्क बनाउन, अक्सिजनको सहज आपूर्तिको व्यवस्था मिलाउन तथा अस्पतालको उपलब्धतालाई सुनिश्चित गर्नका लागि पनि सरकारलाई ध्यानाकर्षण गराएको छ। हाल स्वास्थ्य सामग्री, औषधिको कृत्रिम अभाव देखाइ चर्को मूल्य लिइरहेको, एम्बुलेन्स, हेलिकोप्टरसहितका यातायातका साधनले पनि मनोमानी रुपमा बिरामीसंग रकम लिइरहेको भन्ने गुनासो अत्यधिक रुपमा सुनिदै आएकाले त्यस सम्बन्धमा आवश्यक नियमनका लागि सरकारको ध्यानाकर्षण गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।  

महासंको बैठकले प्रेस काउन्सिलले पत्रपत्रिकाको मूल्यांकन गर्ने क्रममा हाल कोरोना संकटले पत्रपत्रिकाको प्रकाशनमा पारेको असरलाई ध्यान दिँदै व्यवहारिक ढंगले निर्णय प्रक्रियालाई अगाडि बढाउन काउन्सिललाई आग्रह गर्ने भएको छ । साथै, लोककल्याणकारी बिज्ञापनवापतको रकम निकासा प्रक्रियालाई सहज बनाउन र बिभिन्न बहानामा रोकिएको रकम तत्काल भुक्तानी गर्न सूचना तथा प्रसारण बिभागलाई आग्रह गर्ने अध्यक्ष विपुल पोखरेलले जनाए ।  

कोरोनाका बहानामा कोही पनि संचारकर्मीलाई कामबाट निश्कासन नगर्न, सुबिधामा कटौति नगर्न, पत्रकारले पाउनुपर्ने बक्यौता रकम अविलम्ब उपलब्ध गराउन, सञ्चार प्रतिष्ठानमा देखिएका श्रम समस्याहरु तत्काल समाधान गर्न सञ्चार प्रतिष्ठान र सरकारको ध्यानाकर्षण गराउने तथा स्वास्थ्य सजगताका लागि आवश्यक प्रबन्ध मिलाउन संचारसंस्थालाई आग्रह महासंघले आग्रह गरेको छ। कोरोनाका कारण मृत्यु भएका ९ जना पत्रकारसहित सबै मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संक्रमित पत्रकार तथा सबै नागरिकको संक्रमणमुक्तका लागि कामना पनि गरेको छ।

प्रकाशित: २८ वैशाख २०७८ १४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App