ताप्लेजुङ सदरमुकाम फुङ्लिङको मुख्य प्रवेशद्धार काबेलीमा मंगलवारबाट यात्रुको परीक्षण गरी नाम थर सहितको विवरण संकलन थालिने भएको छ । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको नेतृत्वमा सोमवार काबेली पुगेको टोलीले मंगलवार बिहानबाट ताप्लेजुङ प्रवेश गर्ने यात्रुको ज्वरोको मापन लिने तथा नाम, थर र वतनसहितको विवरण संकलन थाल्ने गरी तयारी गरेको हो । काबेलीसहित गुफापोखरी र सुकेटार बिमानस्थलमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय आइतवार बसेको जिल्ला कोरोना नियन्त्रण समितिको बैठकले गरेको थियो ।‘ मंगलवार बिहानबाट काबेलीमा ज्वरो मापन र यात्रुको ठेगाना सहितको विवरण लिनेल कार्य सुरु हुने छ’ प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र बिभिन्न पालिकाकाबाट खटिने स्वास्थ्यकर्मीले त्यस कार्यको अगुवाई गर्ने प्रजिअ पाण्डेले जानकारी दिए । काबेली ताप्लेजुङ प्रवेश गर्ने मुख्य नाका हो । अघिल्लो बर्ष कोरोनाको भयवह भएको बेला कायम रहेको काबेलीको हेल्थ डेस्क कोरोना कहर केहि शान्त भएपछि हटाइएको थियो । अहिले पुनः सुरु गरिएको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिले सोमवार नै काबेलीमा अर्को सूचना जारी नभइञ्जेल सम्मका लागि पाथीभरा मन्दिरको दर्शन नगर्न अनुरोध सहितको होर्डिङ बोर्ड समेत राखेको छ । प्रजिअ पाण्डेले पाथीभरा मन्दिर सहितका मन्दिर तथा तीर्थस्थलहरुमा तत्कालका लागि प्रतिबन्ध गरिएकोले मानिस भिडभाड हुने सबै कार्य तत्काल नगर्न÷नगराउन सबैलाइ आग्रह गरेका छन् ।
बाणिज्य संघको अधिवेशन तत्काललाई रोक्न पत्र
जिल्ला प्रशासन कार्यालयले सोमवार ताप्लेजुङ उद्योग वाणिज्य संघलाई पत्र लेख्दै २५ जना भन्दा बढी मानिस उपस्थित÷भेला भइ हुने सबै कार्य तत्काललाइ स्थन गर्न पत्र लेखेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेले अधिबेशनमा २५ जना भन्दा बढीको जमघट हुने अवस्था आएको र गृह मन्त्रालयले यसअघि नै २५ जना भन्दा बढीको उपस्थितिमा हुने सभा,भेला,कार्यशाला,सम्मेलन स्थगन गर्न भनी सकेकोले ताप्लेजुङ उद्योग बाणिज्य संघलाइ पत्र पठाइएको जानकारी दिए । नयाँ नेतृत्व चयन गर्नेगरी ताप्लेजुङ उद्योग बाणिज्य संघको अधिबेशन आउँदो २९ बैशाखमा हुने कार्यक्रम तय भएको थियो ।
७२ जनाको स्वाब संकलन
कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको अगुवाइमा सोमवार ताप्लेजुङबाट ७२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाउने तयारी गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख राजकुमार पोखरेलले ताप्लेजुङ जिल्ला अस्पतालमा कार्यरत कर्मचारी र फुङ्लिङ नगरपालिका वडा नं ४ स्थित पाथीभरा क्याम्पस आसपासका गरी ७२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाइने जानकारी दिए ।
प्रकाशित: १३ वैशाख २०७८ १२:२३ सोमबार





