१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
राजनीति

‘दिनको १६ घण्टासम्म काम गरिरहेका छौं, बजेटले नयाँ आर्थिक आधार खडा गर्नेछ’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि अर्थ मन्त्रालयको टोली दिनमा १६ घण्टासम्म खटिएको बताएका छन्।

मंगलबार अर्थ समितिको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा दिन र जनअपेक्षा सम्बोधन गर्न मन्त्रालयले तीव्र रूपमा काम गरिरहेको जानकारी दिए।

उनले भने, ‘हामी मन्त्रालयमै कैद भएर दिनको १२, १४ देखि १६ घण्टासम्म काम गरिरहेका छौं। आम जनताको भावना र मुलुकको वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै उत्कृष्ट बजेट ल्याउन हाम्रो टोली अहोरात्र खटिएको छ।’

अर्थमन्त्री वाग्लेले आगामी बजेटका मुख्य पाँच प्राथमिकताहरू समेत सार्वजनिक गरे। उनले भौतिक पूर्वाधार अन्तर्गत ‘कनेक्टिभिटी’, एभिएसन सेफ्टी र डिजिटल ग्रिडको विस्तारमा सरकारले ठूलो लगानी गर्ने बताए।

सडक पूर्वाधार निर्माणमा हालको परम्परागत शैलीलाई बदलेर निजी क्षेत्रलाई समेत सहभागी गराउने गरी ‘हाइब्रिड एन्युटी मोडल’ जस्ता आधुनिक उपकरणहरू प्रयोग गरिने उनको भनाइ थियो।

उनले सामाजिक क्षेत्रमा शिक्षा, स्वास्थ्य, पोषण र वित्तीय पहुँचलाई एकीकृत सामाजिक सुरक्षासँग जोडेर मध्यम वर्गको विस्तार गर्ने संकल्प सुनाए।

‘हाम्रो लगानी अब बालुवामा पानी खन्याए जस्तो हुनु हुँदैन, यसले ठोस प्रतिफल दिनुपर्छ,’ उनले भने, ‘यसका लागि सोसल सेक्टरमा गरिने लगानीलाई हामीले विशेष प्राथमिकतामा राखेका छौं।’

प्रवासी नेपालीहरूलाई मुलुकको विकास अभियानको मूलधारमा ल्याउन संवैधानिक, कानुनी र आर्थिक सुधार गरिने अर्थमन्त्रीले प्रतिबद्धता व्यक्त गरे।

नेपालको अन्तर्राष्ट्रिय उपस्थिति र आत्मसम्मान बढाउन विदेशस्थित ४/५ वटा राजदूतावासका आफ्नै भवनहरू निर्माण वा खरिद गर्ने योजना बजेटमा समेटिएको उनले खुलासा गरे।

‘नेपाली झण्डा गर्वका साथ फहराउनका लागि अन्तर्राष्ट्रिय स्तरमा हाम्रो सौम्य शक्ति विस्तार गर्न जरुरी छ,’ उनले सुनाए।

बजेट निर्माणको कार्यतालिकाबारे सुनाउँदै अर्थमन्त्री वाग्लेले वैशाख ३० गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि-बजेट) पेस गरिने जानकारी दिए।

उनका अनुसार जेठ १५ गते संसद्‌मा पूर्ण बजेट प्रस्तुत हुनेछ र दुई साताको विस्तृत छलफलपछि बजेट पास भई साउन १ गतेदेखि कार्यान्वयनको चरणमा जानेछ।

अर्थमन्त्री वाग्लेले सरकारले ल्याउने बजेटले आर्थिक रूपान्तरण र सामाजिक न्यायको जग बसाल्ने दाबी गरे।

उनले अर्थ समितिका सदस्यहरूलाई रचनात्मक सुझावका लागि आग्रह गर्दै राष्ट्र निर्माणको अभियानमा सबैको साथ रहने अपेक्षा व्यक्त गरे।

प्रकाशित: २९ वैशाख २०८३ २०:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App