४ वैशाख २०८१ मंगलबार
समाज

कोरोना रोकथाममा स्थानीय सरकार : न क्वारेन्टिन, न आइसाेलेसन

बितेको एक महिनाको अवधिमा नेपाल भारत सीमा क्षेत्र कोयलाबासबाट ७ सय जना नागरिक नेपाल भित्रिए । स्वास्थ्य कार्यालयका अनुसार उनिहरु सबै भारतमा रोजगारीका लागि गएका नेपाली नागरिक हुन् । सरकारले निर्धारण गरेको मापदण्ड अनुसार नाकामा स्थापना भएको हेल्पडेस्कमा उनिहरु सबैको कोरोना एन्टिजेन परीक्षण भयो । यो परीक्षण बिधिले ७ सय मध्य एकजनामा मात्रै कोरोना संक्रमण देखायो ।  

गढवा गाउँपालिका वडा नम्बर २ का ति ब्यक्तिलाई स्थानीय सरकारको सम्पर्कका आधारमा होम क्वारेन्टिनमा पठाइयो । एकजना मध्य अन्य बाँकी संक्रमण नरहेको पुष्टि भए र निर्वाध घर फिर्ता भए । एन्टिजेन जाँच बिधिबाट कोरोना नेगेटिभ देखिएका उनिहरु स्वास्थ्य मन्त्रालयको मापदण्ड पूरा नगरि घर गए ।  

स्वास्थ्य मन्त्रालयले एन्टिजेन बिधिबाट नेगेटिभ देखिएकाहरुलाई पिसिआर परीक्षण गर्नै पर्ने निर्देशिका बनाएको छ । यो निर्देशिकाले एन्टिजेन परीक्षण बिधिको विश्वसनियतामाथि पनि प्रश्न उठाएको छ नै । ‘अन्तर्राष्ट्रिय सीमा नाकाबाट प्रवेश गरेका र कोभिड १९ को चिन्ह वा लक्षण भएका ब्यक्तिको एन्टिजेन परीक्षण गर्ने र नतिजा नेगेटिभ आएको भएतापनि त्यस्ता व्यक्तिको हकमा समेत पिसिआर परीक्षणको ब्यवस्था गर्ने’स्थानीय तहहरुले गर्नुपर्ने कामका बारेमा स्वास्थ्य मन्त्रालयले बनाएको निर्देशिकामा उल्लेख छ ।  

यो निर्देशिका बिपरित पिसिआर परीक्षण नगराईएका उनिहरु एन्टिजेन परीक्षणको नतिजा अनुसार कोरोनामुक्त छन् । तर सरकारको निर्देशिका अनुसार पिसिआर परीक्षणको नतिजा बिनै उनिहरु संक्रमणमुक्त भएको मानिदैनन् ।  

भारतबाट आएका यि नागरिकहरुको पिसिआर परीक्षणमा चासो नदिएका स्थानीय तहहरु यो विषयमा मात्रै हैन, कोरोना रोकथामका हरेक सवालमा गैरजिम्मेवार देखिएका छन् । सरकारले कोरोना संक्रमण रोकथामका लागि उनिहरुलाई तय गरिदिएको निर्देशिका नै उल्लंघन गरि चुपचाप बसिरहेका छन् । नेपाल भारत सीमा क्षेत्रसंग नजिकै रहेको लमही नगरपालिकामा भारतबाट कति नागरिक आए भन्ने जानकारी लमही नगरपालिकालाई छैन । भारतबाट आएका उनिहरु परिवार तथा समाजमा घुलमिल भएरै बसिरहेका छन् । भारतबाट आएका नागरिकहरुको अवस्था पहिचान गरेर उनिहरुको ब्यवस्थापनको जिम्मेवारी भने नगरपालिकाकै हो ।  

सरकारले जारी गरेको निर्देशिका अनुसार उनिहरुलाई स्थानीय तहलेनै क्वारेन्टिन निर्माण गरेर १४ दिनसम्म बसाल्नु पर्ने हो । स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकामा स्थानीय तहहरुलाई भनिएको छ, ‘क्वारेन्टिन, आइसाेलेसन, केस ईन्भेष्टिगेशन, कन्ट्रयाक्ट ट्रेसिङ, उपचार व्यवस्थापन, परीक्षणलगाएत अत्यावश्यक सामाग्री खरिद तथा जनशक्ति परिचालनका लागि आवश्यक व्यवस्था मिलाउने ।’ लमही नगरपालिकाका अनुसार लमहीकै एक गाउँमा आईतबार २७ जनामा गरिएको एन्टिजेन परीक्षणका क्रममा २१ जनालाई कोरोना संक्रमण देखियो । एकै गाउँमा देखिएको कोरोनाको यो उच्च दरपछि नगरपालिका झस्कीएको छ । ‘कोरोनको दर धेरै उच्च भैसकेको रहेछ,’ लमही नगरपालिकाका मेयर कुलवहादुर केसीले भने, ‘अब आइसाेलेसन निर्माण गर्ने तयारी गरिरहेका छौँ ।’ अबको दुई दिनसम्ममा आइसाेलेसन सञ्चालन गर्ने गरि तयारी भैरहेको पनि उनले बताए ।  

उनका अनुसार लमही नगरपालिकामा अहिलेसम्म क्वारेन्टिन छैन । नत आइसाेलेसननै छ । बाहिरी मुलुकबाट आएकाहरु घर परिवारसंगै घुलमिल भएर बसिरहेका छन् भने संक्रमितहरु पनि घरमै छन् । यसले संक्रमण फैलने जोखिम अत्यन्त बढिरहेको छ ।  

सरकारले बाह्य मुलुकबाट आएका नागरिकहरुलाई अनिवार्य रुपमै क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउन निर्देशन दिएको भएपनि घोराही उपमहानगरपालिका पनि यो निर्देशनलाई ठाडै उलंघन गरिरहेको छ । यो उपमहानगरमा पनि कति नागरिक बाह्य मुलुकबाट आए र उनिहरु कहाँ छन् ? भन्ने बिषयमा उपमहानगर स्वयं अनभिज्ञ छ । ‘बाहिरी मुलुक अँझ बिशेषगरि भारतबाट धेरै नागरिकहरु हाम्रो उपमहानगरपालिकामा आएका छन्, तर उनिहरुको एकिन संख्या र उनिहरुको अवस्था बारे उपमहानगरले चासो नै राखेको छैन,’ एक वडा अध्यक्षले भने ‘स्थानीय तहबाट भएको यो लापरवाहीले कोरोना संक्रमण झनै भयावह हुने खतरा छ ।’  

जिल्लाको दंगीशरण गाउँपालिकाको वडा नम्बर २ मा एकजना संक्रमित घरमै बसिरहेका छन् । भलै गाउँपालिकाले उनको स्वास्थ्यबारे चासो भने राखिरहेको जनाउँछ । तर सरकारले जारी गरेको निर्देशिका अनुसार उनि गाउँपालिकाले नै सञ्चालन गरेको आइशोलेशनमा बसेको हुनुपर्ने हो । तर गाउँपालिकाले आफ्नो क्षेत्र भित्र कतै पनि होम आइसाेलेसन सञ्चालन गरेको छैन ।  

‘हामीहरु कहाँ आईशोलेशन छैन, त्यसैले उहाँ होम आइसाेलेसनमै बस्नु भएको छ,’गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीले भने ‘तर उहाँको स्वास्थ्य निगरानी भने गाउँपालिकाले गरिरहेको छ ।’ कोरोनाको दोस्रो लहर सुरु भएयता गाउँपालिकामा भारतबाट कति नागरिक आए ? भन्ने जानकारी यो स्थानीय तहलाई पनि छैन ।  

भारतबाट आउनेहरुलाई अनिवार्य रुपमै क्वारेन्टिनमा राख्नु पर्ने निर्देशिका लत्याएको यो गाउँपालिकाले क्वारेन्टिन सञ्चालन सम्भवै नभएको बताउँछ । ‘पोहोरको वर्ष लकडाउन थियो, भारतबाट कति नागरिक आए ? भनेर भन्न सजिलो र पहिचान गर्न सजिलो थियो,’ उनले भने ‘तर अहिले त सबै खुल्ला छ, को मान्छे कुन बाटो भएर आयो ? कुनै जानकारी नै छैन ।’

त्यसोत, कोरोना संक्रमतिहरुको सम्पर्कमा रहेकाहरुको पहिचान (कन्ट्याक्ट ट्रेसिङ) गर्नुपर्ने सरकारी निर्देशिकालाई समेत यहाँका स्थानीयहरुले लत्याएका छन् । संक्रमण भएको ब्यक्तिसंग सम्पर्कमा रहेका नागरिकहरु स्थानीय तहहरुको निगरानीमा नआउँदा पनि कोरोना संक्रमणको अवस्था भयावह बन्दै जाने देखिन्छ । तर सरकारले भने कन्ट्याक्ट ट्रेसिङको काम गर्न समेत स्थानीय सरकारहरुलाई निर्देशन जारी गरेको छ ।  

भारतबाट आएका गढवा गाउँपालिकाका एक नागरिकमा ८ दिन अघि कोरोना संक्रमण पुष्टि भयो । कोरोना संक्रमण पुष्टि भएका उनलाई होम आईशोलेशनमा बस्न भन्दै सिधै घरमा पठाइयो । उनिसंगै भारतबाट आएका वा उनि संग सम्पर्कमा रहेका कोहि कसैलाई पनि सोधीखोजी गरिएन । नत उनको घरमा रहेका परिवारका अन्य सदस्यहरुको कोरोना परीक्षणका लागि नै स्थानीय सरकारले चासो देखायो । ‘कन्ट्याक्ट ट्रेसिङ त सम्भवै छैन,हामीहरुले परिवारका अन्य सदस्यहरुलाई सहज रहनु होला भन्ने मात्रै हो,’ गाउँपालिका अध्यक्ष चौधरीले भने ‘हामीहरुलाई माथिबाट पनि कन्ट्याक्ट ट्रेसिङ गर्ने भन्ने कुरै निर्देशन छैन ।’ तर सरकारले जारी गरेको दोस्रो चरणको कोरोना रोकथाम सम्बन्धी निर्देशिकामा भने कन्ट्याक्ट ट्रेसिङको काम थाल्ने जिम्मेवारी स्थानीय तहहरुलाई दिएको छ ।  

सरकारले जारी गरेको निर्देशिका स्थानीय तहहरुले पालना नगर्दा समुदायमा कोरोना संक्रमण भयावह बन्ने खतरा बढेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भारत तथा अन्य तेस्रो मुलुकबाट आएका नागरिकहरुको बारेमा निगरानी नहुनु नै जिल्लामा कोरोना संक्रमण बढ्नुको कारण हो । ‘जिल्लामा पक्कै पनि कोरोना संक्रमण बढ्नुको कारण भारत तथा अन्य तेस्रो मुलुकबाट आएका नागरिकहरु बाटनै हो,’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगद बहादुर शाहीले भने ‘यस्ता व्यक्तिहरुको निगरानी गरेको खण्डमा संक्रमणको अवस्था धेरै कम हुने देखिन्छ ।’ जिल्लामा सोमबार सम्म ६ सय नाघेका छन् । 

प्रकाशित: १३ वैशाख २०७८ ११:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App