७ वैशाख २०८१ शुक्रबार
समाज

मेयर महेश: शासक कम सेवक बढी

व्यक्तिवृत्त

‘शासक होइनौं, सेवक हौं’ भन्ने भावनाका साथ काम गरे प्रतिकूल अवस्थामा पनि अगाडि बढ्न सकिन्छ भन्ने उदाहरण बनेका छन् पाँचखाल नगरपालिकाका मेयर महेश खरेल। करिब १४ वर्ष अमेरिका बसेर २०६७ सालतिर समाजसेवा गर्न नेपाल फर्केका खरेलले राजनीतिक उतारचढावका संकीर्णताका बीच पनि उन्नतिको फराकिलो बाटो खन्ने पहल गरेका छन्। अमेरिकाको सुखसयल छाडेर नेपाल फर्किई अहोरात्र जनताको सेवामा खटिएका खरेलबाट युवा पिँढी विशेष प्रभावित बनेको छ।

स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भएका खरेल चुनाव जितेलगत्तै सम्पूर्ण नगरवासीको सेवामा समान भावले जुटे। त्यसको प्रतिफल काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकालाई वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा उत्कृष्ट नगर घोषणा गराउन सफल भए। प्रदेशभित्रका स्थानीय तहमध्ये राम्रो काम गरेको भन्दै पाँचखाललाई सम्मान प्रदान गरिएको मुख्यमन्त्री डोरमणि पौडेलले बताए। नागरिकलाई प्रभावकारी सेवा प्रवाह गरेको भन्दै कदरसमेत गरिएको उनको भनाइ थियो।

पौडेलले भनेजस्तै नगरभित्र जे समस्या खड्किएको छ, त्यसलाई प्राथमिकतामा राखेर काम अघि बढाउँदा उनले सबैको साथ र सहयोग पाएका छन्। नगरमा उनले केही यस्ता उल्लेखनीय काम गर्दैछन्, जसले सिंगो नगर रूपान्तरणको बाटोतर्फ अग्रसर भएको छ। उनी यतिबेला पाँचखालमाथि लागेको विषादीको दाग मेटाउन दिनरात लागिपरेका छन्। विषादीको प्रयोग घटाउन र उत्पादकत्व बढाउन पाँचखालका सय ठाउँको माटो परीक्षण गरेर त्यसलाई सुधारर्ने काम सुरु थालिएको छ। यसका लागि कृषकलाई १ लाख किलो कृषि चुना नगरपालिकाले अनुदान दिँदैछ।  

त्यस्तै पानी खान नपाएका जनताको धारामा सुनकोसीको कलकल पानी खसाल्ने महात्वाकांक्षी योजना अन्तिम चरणमा पुगेको छ। सिँचाइका लागि पानीको अभाव झेलिरहेको पाँचखालमा सुनकोसी बृहत् खानेपानी आयोजना ठूलो परियोजनाका रूपमा स्थापित छ। नगर विकास कोषको सहायतामा एसियाली विकास बैंक (एडिबी) को साढे २ अर्ब रूपैयाँको लागतमा एक घर एक धारा योजना अन्तिम चरणमा छ।

खरेलले चुनावको समयमा गरेको प्रतिबद्धताअनुसार पाँचखालमा कृषि क्याम्पस स्थापना गर्ने कामले पनि सार्थकता पाउँदैछ। काठमाडौं विश्वविद्यालयको कृषि डिपार्टमेन्ट पाँचखालमा स्थापना गर्नेगरी काम अगाडि बढेको छ। कृषि क्याम्पस स्थापनाका लागि नगरपालिकाले पाँचखालको दुर्गम मानिने अनेकोटमा ५ सय रोपनी जग्गा केयुलाई उपलब्ध गराएको छ। बेल्जियममा रहेको ब्रिजेक्ट फाउन्डेसनले ३ करोड युएस डलर सहयोग गर्नेगरी एमओयुमा हस्ताक्षरसमेत भइसकेको छ।  

काम गर्दा यो पार्टी त्यो पार्टीभन्दा पनि समस्यालाई सम्बोधन गर्ने उनको नीतिले सबैको मन जितेको छ। चुनावको बेला उनले प्रतिस्पर्धी दलका उम्मेदवारलाई गाली गरेनन्, विकासको योजना सुनाए। तिनै योजनालाई लागु गर्न उनी दत्तचित्त भएर लागेका छन्। अझ उनको कार्यकक्षमा राखिएको प्रतिस्पर्धीको तस्बिरबाट उनले विपक्षीको मन पनि जित्दै आएको प्रस्ट हुन्छ। मेयरको कार्यकक्षमा तीनवटा तस्बिर छन्, राष्ट्रपति विद्यादेवी भण्डारी, स्थानीय तह निर्वाचनका आफ्ना निकटतम प्रतिस्पर्धी उम्मेदवार रुद्रबहादुर बानियाँ (जसको दुई वर्षअगाडि निधन भयो) र अर्का एक समाजसेवी धर्मसिंह तामाङ। चुनाव मैले जिते पनि उहाँ (रुद्रबहादुर) मेरो आदर्श हो भन्ने खरेलको भनाइले सबैको मन जितेको छ।  

त्यस्तै उनले सुरुमै उनले आफूले तलब–भत्ता नलिने घोषणा गरे र लिएनन् पनि। महेश राजनीतिक परिवारमा जन्मिएका र जन्मजात राजनीतिक संस्कार सिकेका शिक्षित युवा पनि हुन्। उनका पिता राजेन्द्र खरेल काभ्रेका चिरपरिचित नेता हुन्। त्यस्तै नगरमा वातावरणीय सन्तुलन र विकासलाई समानान्तर ढंगले लैजाने उनको योजना छ। त्यस्तै करको मारमा परेका जनतालाई उनले राहत दिए। न्यून कर लिने नगरपालिकामा पाँचखाल अग्रस्थानमा छ। पाँचखालको कृषि उपजलाई प्रवद्र्धन गर्न हरित महिला उद्यमी केन्द्र बनाएर रोजगारी र यहाँको उत्पादन देश विदेशमा पठाउने योजना कार्यान्वयनमा आउँदैछ। महिलाले मात्र उद्यम सञ्चालन गर्न पाउने र महिला कामदार रहनेगरी टमाटरको केचप, आलुको चिप्स र लप्सीको माडालगायत उत्पादन र प्याकेजिङ गर्ने उद्यम केन्द्रनिकट भविष्यमै सञ्चालनमा आउँदैछ।  

त्यस्तै कोरोना रोकथाममा उल्लेखनीय पहल, पाँचखाल नगरपालिका देशभरका लागि उदाहरणीय कार्य गरेको छ। गाडी चढ्ने जनप्रतिनिधि पैसा स्वास्थ्यमा खर्चिएका छन्। पाँचखाल नगरका सबै वडाका जनप्रतिनिधि तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले आफ्नो सवारी साधन खरिदमा लाग्ने खर्च स्वास्थ्य क्षेत्रमा खर्चेर नौलो कामको सुरुवातले धेरैको मन जितेको छ। प्रत्येक वडामा सहरी स्वास्थ्य केन्द खोलिएको छ। जनप्रतिनिधिका लागि सवारीसाधन खरिदका लागि विनियोजित बजेटलाई एम्बुलेन्स र दमकल खरिदमा खर्च गरेर नौलो सन्देश दिन नगरपालिका सक्षम भएको छ। धर्मसंस्कृतिका लागि पनि मेयर उत्तिकै लागिपरेका छन्। 

प्रकाशित: ११ वैशाख २०७८ ०४:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App