coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अस्पताल धाउँदाधाउँदै कोरोना संक्रमितको मृत्यु

'एन्टिजेन पोजेटिभ आएपछि भर्ना लिन मानेनन्'

विराटनगरस्थित कोसी अस्पतालको आइसोलेसनमा एक जना कोरोना पोजेटिभ भएकी महिलाको सोमबार मृत्यु भएको छ।

उदयपुर गाईघाटीकी ३५ वर्षीया जैनव खातुनले उपचार नपाएपछि मृत्यु भएको परिवारले जनाएको छ। आइतबार राति एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि गाईघाटबाट विराटनगर ल्याइएको थियो। तर, विराटनगरका कुनै पनि अस्पतालले उपचार नगरी रिफर मात्रै गर्दा उनको मृत्यु भएको परिवारले जनाएको छ।  

विराटनगरको गोल्डेन अस्पताल ल्याएपछि उनको त्यहाँ कोरोनाको एन्टिजेन परीक्षण भएको थियो। रिपोर्ट पोजेटिभ आएपछि गोल्डेनले उनलाई भर्ना लिन अस्वीकार गरेपछि विराट शिक्षण अस्पताल लगिएको थियो। त्यहाँसमेत उनको रिपोर्ट हेरेपछि भर्ना गर्न अस्वीकार गरियो।  

त्यसपछि विराटनगरकै अर्को अस्पताल म्याक्स अस्पतालमा फोन सम्पर्क गर्दा नल्याउनु भन्ने जवाफ दिएपछि बिरामीलाई कोसी अस्पताल लगिएको परिवारले बताए। बिहान ४ बजेतिर कोसी अस्पताल पुगेपछि बिरामीलाई आइसोलेसन भर्ना गरे पनि उपचार नथालेपछि नोबेल शिक्षण अस्पताल लगिएको थियो।  

आफन्तले बिरामीलाई नोबेल अस्पताल लगे पनि भर्ना लिन नमानेपछि उनलाई पुनः कोसी नै ल्याइएको थियो। अस्पताल धाउँदाधाउँदै उनको बिहान साढे ६ बजे मृत्यु भएको थियो। कोसी अस्पतालका प्रवक्ता डाक्टर लक्ष्मीनारायण यादवले बिरामीको अक्सिजन लेभल न्यून भएका कारण बिरामीको मृत्यु  बताए।

प्रकाशित: ६ वैशाख २०७८ १४:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App