१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

हुने भयो बिस्केट जात्रा

फाइल तस्बिर

यस वर्षको भक्तपुरको बिस्केट जात्रा हुने भएको छ। यसअघि जात्रा औपचारिकतामा सीमित गर्ने निर्णय भएको थियो। भक्तपुर नगरपालिका नगरस्तरीय नगर प्रकोप व्यवस्थापन समिति (सीएमसी) र भक्तपुरको प्रसिद्ध बिस्केट जात्रासँग सम्बन्धित सरकोकावालाहरूको बुधबार बसेको बैठकले जात्रा गर्ने निर्णय गरेको हो।  

बैठकले नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्का जात्राअन्तर्गतको भैरवनाथको रथ तान्ने, लिंगो उभ्याउने र ढाल्ने जात्रा कोभिड १९ रोग संक्रमणको जोखिमलाई ध्यानमा राखी आवश्यक स्वास्थ्य मापदण्ड अपनाई सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय गर्‍यो। बैठकले जात्रा सञ्चालनको प्रत्यक्ष प्रसारण टेलिभिजन, रेडियो, एफ.एम, र सामाजिक सञ्जालमार्फत गर्ने र अनुशासित र मर्यादित रुपमा स्वास्थ्य मापदण्ड पालना गरी सभ्य रुपमा जात्रा सम्पन्न गर्न माइकिङ गरी सबैसँग आग्रह गर्ने निर्णय गर्‍यो। साथै बिस्का जात्रा सञ्चालनको लागि आवश्यक तयारी गर्न सरोकारवाला सबै पक्षसँग आग्रह गर्ने र जात्राको अवधिमा शान्ति सुरक्षाको सबै बन्दोबस्त जिल्लास्थित सुरक्षा निकायमार्फत गर्ने निर्णय बैठकले गर्‍यो।

बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनताको भावनालाई सम्मान गर्दै जात्रा गर्ने निर्णय भएको बताए। नगरपालिकाले बिस्केट जात्रासँग सम्बन्धित दाफा, भजन, गुठीलगायत सरोकारवालाहरूसँग नियमित छलफल गरी निर्णय गर्दै आएको उनले स्मरण गरे।  

बैठकमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जनताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी यसवर्षको ‘भैरवनाथको रथ तान्ने जात्रालाई स्वास्थ्य मापदण्डको पालना गरी गराउने जनाए। साथै लिंगो उठाउने र ढाल्ने जात्रालाई प्रशासनले केही कडाइ गर्ने पनि उनले बताए। जनभावनाअनुरुप नगरपालिकाले गरेको जात्रा सञ्चालन गर्ने सम्वन्धिको निर्णयमा प्रशाशन सकारात्मक रहेको पनि उनले बताए। बैठकमा गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख अनन्दप्रसाद कर्माचार्य र जात्रासँग सम्बन्धित सरोकारवालाहरूले पनि आ–आफ्नो धारणा व्यक्त गरेका थिए।

प्रत्येक वर्ष नयाँं वर्षको चार दिन अगाडि अर्थात् यो वर्ष वैशाख २८ गते जात्रा सुरु हुनेछ। भक्तपुर नगरको पाँंचतल्ले मन्दिर अगाडि राखेर काठैकाठबाट प्यागोडा शैलिमा बनाइएको तीनतल्ले करिव ३० फिट अग्लो भैरबनाथको रथलाई डोरीको सहायताले तानेर जात्रा सुरु हुनेछ। जात्राको मुख्य आकर्षणमध्ये यो पनि एक हो। साथै जात्राको मुख्य आकर्षणको रुपमा प्रत्येक वर्षको अन्तिम दिन अर्थात् यो वर्ष चैत ३१ गते भक्तपुर नगरकै ल्योसिंखेल भेलुखेलमा ५५ हात लामो लिगो उठाउनु र त्यही लिंगोलाई नयाँं वर्ष अर्थात् वैशाख १ गते ढाल्नु हो। जात्राको अन्तिम दिन त्यही भैरबनाथको रथलाई तानेर जात्रा समापन गरिन्छ।  

यसैबीच नगरपालिकाले जात्रा सभ्य र भव्य बनाउन सबैसँंग आग्रह गरेको छ। नगरपालिकाले बुधबार नै विज्ञप्ति प्रकाशित गरी जात्रा सञ्चालन र व्यवस्थापनप्रति नगरपालिका अत्यन्त संवेदनशील रहेको जनाएको छ।

प्रकाशित: २५ चैत्र २०७७ १२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App