३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

वीरेन्द्रनगरमा आँखा पोल्ने तुवाँलो

कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर उपत्यकामा आँखा पोल्ने तुवाँलो बढ्दै गएको छ। आइतबारको तुलनामा सोमबार तुवाँलो बाक्लो र प्रदूषित देखिएको छ।  

सोमबार बिहानैदेखि लागेको तुवाँलोले वीरेन्द्रनगर उपत्यका ढाकिएको थियो। तराई हुँदै पहाड उक्लिएको तुवाँलो उपत्यकाबाट बाहिरिन नसक्दा झन्झन् बाक्लिँदै गएको छ। बाक्लो तुवाँलोले आँखा पोल्ने गरेको स्थानीयको भनाइ छ। आइतबारको तुलनामा सोमबार बढी देखिएको स्थानीय चन्द्रबहादुर बुढाले बताए। ‘आइतबारको तुवाँलो त्यति बाक्लो थिएन,’ उनले भने, ‘सोमबार प्रदूषण बढ्दा आँखा पोल्यो।’ 

तुवाँलो बढ्दै गएको र विमान सुरक्षित अवतरण हुन यान्त्रिक भिजिविलिटी कम हुँदा सुर्खेतबाट सबै उडान रद्द भएका छन्। सुर्खेत विमानस्थलबाट दैनिक आठदेखि १० वटासम्म उडान हुन्छन्। आइतबार दुई हजारदेखि तीन हजारसम्म भएको भिजिविलिटी सोमबार दुई हजारभन्दा कम भएको नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेशकुमार पन्थीले जानकारी दिए। भिजिविलिटी घट्दै जाँदा सोमबारका उडान सबै रद्द भएको उनको भनाइ छ। ‘सोमबारको तुवाँलोले आँखा पोलेको महसुस भयो,’ उनले भने, ‘यस्तो अवस्थामा उडान गर्न सकिएन।’  

लामो समयदेखि पानी नपर्दा पनि तुवाँलो बढ्दै गएको मौसमविद् उड्डयन कार्यालय सुर्खेतका प्रमुख पन्थीले जनाए। ‘यो तुवाँलो कि ठूलो हावा लाग्नुपर्छ,’ उनले भने, ‘कि भने पानी पर्नुपर्छ।’ तराईसँगै अन्य ठूला जंगलमा जथाभावी डढेलो लाग्दा प्रदूषित तुवाँलो बढ्दै गएको उनले बताए। ठूला उद्योग वातावरणमैत्री नहुँदा पनि प्रदूषित तुवाँलो बढेको उनको भनाइ छ। यस्तो अवस्थामा अत्यावश्यक कामबाहेक अन्य काममा घरभन्दा बाहिर ननिस्कन मौसमविद्को भनाइ छ। वायु प्रदूषण बढ्दा यसले स्वास्थ्यमा असर गर्ने उनीहरूको भनाइ छ। श्वासप्रश्वासमा समस्या पर्ने हुँदा मास्क अनिवार्य लगाउनुपर्ने चिकित्सक केएन पौडेलले जानकारी दिए। रुखबिरुवाको संरक्षण गर्ने र नयाँ बिरुवा लगाउने कार्यमा पनि ध्यान दिनुपर्ने उनले बताए। पुराना गाडी सञ्चालनमा रोक लगाउनु पर्ने उनको भनाइ छ।

प्रकाशित: २४ चैत्र २०७७ ०२:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App