२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सर्लाहीका वनमा एक महिनादेखि डढेलो: सरोकार निकाय मौन

सर्लाहीका वन क्षेत्रमा हावाहुरी र सुक्खाको मौसम सुरु भएसँगै डढेलो लाग्न थालेका छन्। जिल्लाका चुरे क्षेत्र, सागरनाथ वन विकास परियोजना, फूलजोर बाबा साझेदारी वन र अन्य सामुदायिक तथा साझेदारी वनमा केही दिनदेखि निरन्तर डढेलो लागिरहेको स्थानीयवासीले बताएका छन्।

चोरी, तस्करी र अतिक्रमणले उदाङ्गो बनेको वन क्षेत्रमा लागिरहेको डढेलो निभाउन कुनै पनि निकायले चासो नदेखाएको पाइएको छ। डढेलोका कारण मानवको बाक्लो बसोबास रहेको चुरेका दर्जनौँ बस्ती जोखिममा परेका छन्। लालबन्दी नगरपालिका–१४ का चन्द्रबहादुर तामाङले यो समयमा चुरेका पाखामा वर्षेनि डढेलो लाग्ने गरेको बताए। 

तामाङका अनुसार बस्ती छेउमा डढेलो आउन खोज्दा स्थानीयवासी आफैँले निभाए पनि जङ्गलमा फैलिएको डढेलो निभाउन भने कसैले पनि चासो देखाएका छैन। डढेलोले सानाठूला रूखबिरुवा जलेर खरानी भइरहेका छन्। वन तथा वन्यजन्तु विज्ञले वन क्षेत्रमा यसरी वर्षेनि डढेलो लाग्ने भएकाले सामान्य जस्तो लागे पनि यसले वन्यजन्तु लोप हुनाका साथै वातावरणमा समेत गम्भीर असर पारिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। 

वनमा डढेलो लागेपछि मानव बस्ती र किसानको खेतबारीमा पस्ने वन्यजन्तुको अहिले शिकार बढेको छ। वनका कर्मचारीले मात्रै डढेलो निभाउन सम्भव नभएको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधवप्रसाद देवले बताए। डढेलो लगाउँदा घाँसपातको पालुवा चाँडो पलाउने गलत सोचाइ राखेर गोठाला तथा स्थानीय बासिन्दाले नै वनमा डढेलो लगाउने गरेको उनको भनाइ छ।

प्रमुख देवले डढेलो लाग्न नदिन स्थानीय बासिन्दालाई वर्षेनि सञ्चारमाध्यमबाट सचेत गराउँदै आइरहेको बताए। उल्लेखित वनमा फागुनदेखि नै डढेलो लाग्न सुरु गरेको भए पनि सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन। सो क्षेत्रबाट निरन्तर वनजन्य वस्तु तथा वन्यजन्तुको शिकार पनि भइरहेको वन कार्यालयका कर्माचारीहरू नै स्वीकार्छन्। रासस

प्रकाशित: ११ चैत्र २०७७ ०६:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App