२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

महाशिवरात्रि तथा सेना दिवस सम्पन्न

नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवस विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । सेनाले बिहीबार टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमहरूको आयोजना गरी सेना दिवस मनाएको हो । सो अवसरमा कार्यक्रमकी प्रमुख अथितिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गर्दै शहिदहरूप्रति श्रद्धान्जलि अर्पण गरेकी थिइन् ।  

उक्त कार्यक्रममा नेपाली सेनाको हेलिकोप्टरद्वारा ‘महाशिवरात्री तथा सेना दिवस–२०७७’ अंकित व्यानर प्रदर्शन तथा पुष्पवृष्टि गरेको थिए । सेनाले षट्कोण फर्मेसन तथा नेपालको राष्ट्रिय झण्डाको आकृतिसमेत निर्माण गरी राईफल र तोपबाट महाशिवरात्रिको बढाइँ गरेको थियो । कार्यक्रममा नेपाली सेनाका हेलिकोप्टरमार्फत उद्धारसम्बन्धी विशेष कलाको प्रदर्शन, मार्च पास, खुकुरी नृत्य, आइकिडो, कराँते खेल, विकास निर्माण, नेपाली सैनिक व्याण्ड, विपद् व्यवस्थापन तथा प्रकृति संरक्षण सम्बन्धी विभिन्न हात/हतियार, भेहिकल तथा उपकरणको प्रदर्शन गरिएको थियो । त्यस्तै विशेष फौज बाहिनीबाट फ्रि–फल जम्प लगायत विभिन्न प्रदेशका संस्कृती झल्कने नाच एवं गतिविधि समेतको प्रदर्शन गरिएको थियो ।  

कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी, र चिनिया राजदूत होउ याङछीलाई कदरपत्रबाट सम्मान गरेका थिए । त्यस्तै आफ्नो कार्यकाल पूरा गरी स्वदेश फिर्ता हुन लागेको अमेरिकी राजदूतावासका सैनिक सहचारी लेफ्टनेन्ट कर्नेल माट सोभालाई प्रधान सेनापति प्रशंसा निशानद्वारा सम्मान गरिएको थियो ।  

कोभिड–१९ स्वास्थ्य मापदण्डलाई पालना गर्दै आयोजना भएको ’महाशिवरात्री तथा सेना दिवसमा राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति, प्रधानमन्त्री तथा रक्षा मन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रीहरू तथा विभिन्न संवैधानिक निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित: २८ फाल्गुन २०७७ ०१:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App