नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले अहिले राज्य कमजोर अवस्थामा रहेको दाबी गरेका छन्। राज्यलाई बलियो बनाउनका लागि राज्य र जनताबिचको सम्बन्धलाई घनिष्ठ बनाउनुपर्नेमा उनको जोड छ।
शनिबार निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिको तेस्रो बैठकलाई सम्बोधन गर्दै उनले जनतासँग राज्यको सम्बन्ध घनिष्ठ बनाउन सरकारले सेवा प्रभावकारी बनाउनुपर्ने धारणा राखेका हुन्। उनले जनता र राज्यबिचका सम्बन्धलाई जीवन्त बनाउने भूमिका निजामती कर्मचारीको रहेको जिकिर समेत गरेका थिए।
उनले भने, ‘अहिले राज्य कमजोर अवस्थामा छ। यस्तो बेला राज्य बलियो बनाउने काम निजामती प्रशासनको हो। कमजोर अवस्थामा रहेको राज्यलाई स्थायी सरकारको नेतृत्व गरिरहेको निजामतीले बलियो बनाउने अगुवाइ गर्न सक्दछ’, उनले भने, ‘मुलुकको वर्तमान र भविष्यका लागि जागरूक तप्काका रूपमा निजामती कर्मचारी रहनुपर्दछ।’
महासचिव पोखरेलले नवयुवा राज्य र राजनीतिक दलसँग असन्तुष्टि रहेका बताउँदै गत भदौ २३ र २४ को घटना यसको उदाहरणका रूपमा रहेका उल्लेख गरेका छन्। उनले भने, ‘राज्यलाई बलियो बनाउनका लागि नागरिक हक सुनिश्चित गर्नुपर्दछ। राज्य र जनतालाई जोड्ने काम गर्नुपर्दछ। त्यसपछि मात्र हामी समृद्धिको यात्रामा अघि बढ्न सक्दछौँ’, महासचिव पोखरेलले भने।
सो अवसरमा उनले निर्वाचनलाई सामना गर्न राज्यका प्रमुख अंगबिच एकता र सहकार्य आवश्यक रहेकामा जोड दिएका थिए। उनले नवयुवाले अगाडि सारेका भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गर्नेलगायत विषयलाई राजनीतिक नेतृत्वले समाधान गर्ने कुरा पनि स्पष्ट पारेका छन्। रासस
प्रकाशित: २० पुस २०८२ ०७:३७ आइतबार





