८ वैशाख २०८१ शनिबार
समाज

विमानस्थलको जग्गामा यतीको आँखा

यती समूहले आँखा लगाएको सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको जग्गा । तस्बिर : केशव थोकर/ नागरिक

सहरका मुख्य भागका सरकारी जमिन भाडामा लिएर व्यवसाय गर्न सफल यती समूहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा होटल खोल्न भाडामा दिने तयारी गरिएको छ। सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको गुरुयोजना बनाएर उक्त जग्गा होटल बनाउन यती समूहलाई दिने तयारी गरेको हो। पर्यटन मन्त्रालयका एक अधिकारीका अनुसार यतीलाई जग्गा दिने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भइरहेको छ। विगतमा यतीलाई जग्गा भाडामा दिने प्रयास पटकपटक असफल भएकोमा अहिले पर्यटनमन्त्रीमा भानुभक्त ढकाल आएपछि फेरि प्रयास सुरु भएको हो।

यती समूहले एयरपोर्टको सिनामंगलस्थित ९२ रोपनीभन्दा बढी जग्गा २०७२ सालमै भाडामा लिने प्रयास गरेको थियो। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालाका पर्यटनमन्त्री कृपासुर शेर्पाले यती समूहलाई यो जग्गामा होटल खोल्न दिने प्रस्ताव मन्त्रिपरिषद्मा पुर्‍याएका थिए। तर प्रधानमन्त्री कोइराला र मुख्य सचिव सोमलाल सुवेदीले रोकेपछि प्रयास असफल भएको थियो। अहिले फेरि यो समूहलाई जग्गा भाडामा दिनेगरी सरकारले तयारी गरेको हो।

सुरक्षा संवेदनशीलताका कारण यो जग्गा होटल वा अन्य जुनसुकै प्रयोजनका लागि पनि भाडामा दिन नहुने सरोकारवाला सबैको धारणा छ। तत्कालीन मुख्य सचिव सुवेदीले २०७२ मा पर्यटनमन्त्री शेर्पाले उक्त जग्गा यती समूहलाई भाडामा दिने प्रस्ताव मन्त्रिपरिषद्मा ल्याएको जानकारी दिए। विमानस्थल अन्डर ग्राउन्ड बनाउँदा पनि उक्त जग्गा चाहिने र सुरक्षालगायतका हिसाबले पनि त्यो जग्गा निजी क्षेत्रलाई होटल सञ्चालन गर्न दिन नहुने अडान राखेपछि मन्त्री शेर्पाले आफूमाथि हात उठाउने प्रयास गरेको सुवेदीले नागरिकलाई बताए। ‘त्यसपछि प्रधानमन्त्री कोइरालाले हस्तक्षेप गर्नुपरेको थियो’, उनले भने। सबैसँगको छलफलपछि मध्यमार्गी बाटो निकालेर त्यो प्रस्तावलाई मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिमा पठाइएको सुवेदीले जानकारी दिए।

सरकारी उच्च स्रोतका अनुसार पाँच वर्षअघि असफल भएको प्रयासलाई अहिले सफल बनाउन यती समूह लागि परेको छ। उक्त स्रोतले प्रधानमन्त्रीमा केपी शर्मा ओली भएकै समयमा जग्गा भाडामा लिनेगरी तयारी थालिएको दाबी गरेको छ। त्यसै पनि प्रधानमन्त्री ओली यती समूहका ‘प्रिय’ भएको आरोप लाग्दै आएको छ।

यसअघि पनि यो समूह सरकारका उच्चपदस्थ अधिकारीलाई मिलाएर सहरका मुख्य भागका सरकारी जग्गा कौडीको मूल्यमा भाडामा लिन सफल भएको थियो। यो समूहले नेपाल ट्रस्टको स्वामित्वमा रहेको दरबारमार्ग र ताहचलको जग्गा भाडामा लिएर व्यापारिक कम्प्लेक्स बनाएको छ। यस्तै गोकर्ण फरेस्ट रिसोर्ट, सोलुखुम्बुको होटल कोन्दे भ्यु, पाथीभरालगायतका सरकारी जग्गा पनि यतीले मिलेमतोकै आधारमा भाडामा लिएको थियो।  

यसको चौतर्फी विरोध भए पनि सरकार र अन्य निकायले नसुनेजस्तै गरिरहेका छन्। कतिपय विवादमा प्रधानमन्त्री ओलीले सरकारको निर्णय र यती समूहको बचाउसमेत गर्दै आएका छन्। यतीले भाडामा लिन खोजेको जग्गा सशस्त्र प्रहरीको भ्याली (विपत् उद्धार) गणले भोगचलन गरिरहेको छ। यही क्षेत्रमा पाँचतारे होटल सञ्चालन गर्न खोजिएको हो।

पर्यटन मन्त्रालयले २०७२ पुस २२ मा मन्त्रिपरिषद्मा लगेको प्रस्तावमा बुट प्रणालीमा एयरपोेर्ट होटल बनाउन विमानस्थलको जग्गा लिजमा दिने उल्लेख छ। त्यसपछि पुस २९ मा बसेको मन्त्रिपरिषद् बैठकले विमानस्थलको दीर्घकालीन सुधारका लागि आवश्यक पर्ने जग्गा र उपयोगको विविध पक्षसमेत दृष्टिगत गरी मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिमा छलफल गरी समितिको निर्णयबमोजिम गर्ने निर्णय गरेको थियो।

पर्यटन मन्त्रालयले २०७२ माघ २८ मा सिनामंगलस्थित विमानस्थल सुधार आयोजना कार्यालयको ९२ रोपनी जग्गा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्डबमोजिम विमानस्थललाई आवश्यक पर्ने सुरक्षालगायतका भौतिक पूर्वाधार विकास निर्माण गर्न बाधा नपर्ने सुनिश्चित गरी निर्माण स्वामित्वकरण, सञ्चालन र हस्तान्तरण (बुट) प्रणालीमा पाँचतारे होटल, मिटिङ, बृहत् सम्मेलन र प्रदर्शनका साथै एकीकृत पर्यटन प्रवद्र्धनको स्तरीय मनोरञ्जनात्मक पर्यटकीय पूर्वाधार स्थल (सांस्कृतिक हल, सिनेमा थिएटर, विविध नेपाली परिकारसहितको फुड कोर्ट, उपहार बिक्री कक्ष, फन पार्क, हरियाली उद्यम, एवं भूमिगत ट्याक्सी÷बस पार्क) को विस्तृत परियोजना तयार गरी नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अधिकतम लाभ हुनेगरी जग्गा लिजमा प्रदान गर्न स्वीकृति दिएको थियो।

यस्तो स्वीकृति पाए पनि यति समूहलाई मन पराउने सरकार नआएका कारण त्यसबेला प्राधिकरणले तत्काल प्रक्रिया अघि बढाएन। अहिले ओली सरकारको पालामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको गुरुयोजनामा समेट्ने बाहनामा यतीलाई दिन खोजिएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक भोलाप्रसाद गुरागाईंका अनुसार विमानस्थलको गुरुयोजनाबमोजिम विमानस्थल होटल, फ्लाइट, क्याटरिङ सेवासुविधाका लागि सिनामंगलस्थित ९२ रोपनी जग्गा उपयुक्त हुने पहिचान भएको छ।

२०७२ मा नै बुट प्रणालीमा पाँचतारे विमानस्थल होटललगायत संरचना निर्माण गर्न लिजमा प्रदान गर्ने स्वीकृति प्राप्त भएको तर प्राधिकरणले हाल यससम्बन्धी कार्य अगाडि बढाइनसकेको उनको भनाइ छ।

यसअघिका पर्यटनमन्त्री रवीन्द्र अधिकारी र योगेश भट्टराई ओलीका विश्वासपात्र थिएनन्। अहिले ओलीका विश्वासपात्र भानुभक्त ढकाल पर्यटनमन्त्री भएसँगै यती समूहलाई होटल सञ्चालन गर्न जग्गा भाडामा उपलब्ध गराउने प्रयास सुरु भएको हो। प्राधिकरण उच्च स्रोतका अनुसार प्राधिकरण सञ्चालक समितिको अध्यक्षसमेत रहेका मन्त्री ढकालकै निर्देशनमा सिनामंगलको जग्गामा होटल सञ्चालन गर्न सक्नेगरी विमानस्थल सुधार आयोजनाको गुरुयोजनामा समावेश गर्न खोजिएको हो।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको गुरुयोजना बनिरहेको बताउँदै प्राधिकरणको आयआर्जनका लागि होटल सञ्चालन गर्न जग्गा दिने कुरा समेट्न खोजिएको जानकारी दिए। प्राधिकरणले हालै जारी गरेको विज्ञप्तिमा व्यावसायिक दृष्टिले अत्यन्त उपयोगी रहेको विमानस्थलको जग्गालाई विमानस्थल सम्बद्ध उत्पादनशील व्यावसायिक गतिविधिमा उपयोग गरी विश्वका अन्य अन्तर्राष्ट्रिय विमानस्थलमा झैं हवाई यात्रुलाई अधिकतम सेवासुविधा उपलब्ध गराउनुका साथै आम्दानीको स्रोतलाई विविधीकरण गर्न प्राधिकरण संकल्पित रहेको उल्लेख छ।

 

यो पनि पढ्नुहोस्

गोकर्ण रिसोर्ट यती होल्डिङ्सको नाममा

 

 

प्रकाशित: १९ फाल्गुन २०७७ ००:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App