coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

गोकर्ण रिसोर्ट यती होल्डिङ्सको नाममा

काठमाडौं- यती होल्डिङ्स प्रालिले गोकर्ण फरेस्ट रिसोर्टको पूर्णस्वामित्व लिएको छ। यतीले सिंगापुरको एलएम सुभिर ब्रदर्सको नाममा रहेको बाँकी सेयर किनेको हो। चार वर्षअघि ४९ प्रतिशत सेयर लिएको यतीले एक साताअघि बाँकी ५१ प्रतिशत लिएको हो।
यतीले चार वर्षअघि ७६ करोड रुपैयाँमा गोकर्णको सेयर किन्ने निर्णय गरेको थियो। बाँकी सेयर एलएम सुभिर ब्रदर्ससँग ६६ करोड ३० लाखमा किनेको कम्पनी रजिस्ट्रारको कार्यालयले जनाएको छ। नेपाल ट्रस्टको नाममा रहेको जग्गा लिजमा दिँदा राखिएको कानुनी सर्तका कारण यसअघि यतीले गोकर्णको पूर्ण स्वामित्व पाउन सकेको थिएन। कानुनी समस्या हल भएपछि यतीले बाँकी सेयर किनेको हो। यतीले ४९ प्रतिशत लिएदेखि नै रिसोर्टको व्यवस्थापन सम्हाल्दै आएको छ।
१० करोड चुक्ता पुँजी रहेको यतीले ६६ करोड ३० लाखको सेयर किन्न लागेपछि रजिस्ट्रारको कार्यालयले किनबेच हुन नसक्ने भन्दै एक महिनाअघि राय माग्न फाइल उद्योग मन्त्रालय पठाएको थियो। मन्त्रालयले कम्पनी ऐनको दफा १ सय ७६ अनुसार कम्पनीबीचको कारोबारमा प्रतिबन्धअन्तर्गत कुनै पनि कम्पनीले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफ्नो चुक्ता पुँजी र सञ्चित मुनाफाको ६० प्रतिशत वा सञ्चित वा सञ्चित मुनाफाको सतप्रतिशतले हुने रकममध्ये जुन बढी हुन्छ सोभन्दा बढी हुने गरी कुनै अर्को कम्पनीलाई सापटी दिन वा कुनै अर्को कम्पनीले लिएको ऋणबापत जमानत दिन वा अन्य कम्पनीको धितोपत्रमा लगानी गर्न नसक्ने राय दिएकाले रजिस्ट्रारले कारोबार रोक्का गरेको थियो। यतीले माघ २३ गते खरिद गर्ने सेयर बराबरकै चुक्ता पुँजी ६६ करोड ३० लाख पुर्या एको थियो। त्यसपछि सेयर हस्तान्तरण गरिएको हो।
उद्योग मन्त्रालयका उपसचिव शंकर केसीले १० करोड चुक्ता पुँजी भएको कम्पनीले ६६ करोडको सेयर किन्न लाग्दा बाँकी रकम आएको विषय र अन्य कानुनी प्रावधानले गर्दा रोकिएको बताए। 'अहिले कम्पनीले रजिस्ट्रार कार्यालयलाई ६६ करोड चुक्ता पुँजी पुर्याीएको जानकारी गराएको छ,' उनले भने।
यसअघि सुभिर ब्रदर्सले यतीलाई सेयर बेच्न लाग्दा नेपाल ट्रस्टले सहमति नदिएपछि अख्तियारले चासो राखेको थियो। सेयर बिक्री गर्न सुभिरले नेपाल ट्रस्टलाई आग्रह गरेपछि सचिव श्रीधर गौतमले रोकेको भन्दै अख्तियारले गौतमलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको थियो। ट्रस्टका सहसचिव शरद विष्टको नेतृत्वमा डेढ वर्षअघि गठित एक समितिले सेयर स्वामित्व हस्तान्तरण गर्न मिल्ने सिफारिस गरेपछि यतीलाई बाटो खुलेको थियो।
कम्पनी रजिस्ट्रारको कार्यालयका रजिस्ट्रार प्रेमकुमार श्रेष्ठले एक साताअघि सुभिर ब्रदर्सको सेयर यतीको नाममा हस्तान्तरण भएको बताए। पहिला चुक्तापुँजीको कारण रोकिएको र चुक्तापुँजी बढाएपछि मिलेको उनले बताए।
यतीका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाले रिसोर्टको सम्पत्ति किन्न चुक्ता पुँजी सोबराबर हुनुपर्ने प्रावधानअनुसार बढाएको बताए। 'अब गोकर्णको स्वामित्व यतीको नाममा आयो,' उनले भने, कम्पनी ऐनको दफा १७६ को दोस्रो अनुच्छेदअनुसार निवेदन दिँदा कम्पनी रजिस्ट्रार र मन्त्रालयले काम नगरेपछि चुक्ता पुँजी थपेर काम गरेको शेर्पाले बताए।
दोस्रो अनुच्छेदमा बैकिङ वा वित्तीय कारोबार गर्ने कम्पनी, बिमा कम्पनी, धितोपत्रको खरिद–बिक्री गर्ने मूल उद्देश्य भएको कम्पनी बैंक वा वित्तीय संस्थाबाट ऋण नलिएको प्राइभेट कम्पनी, भौतिक पूर्वाधार सुविधा पुर्याेउने उद्देश्य भएको कम्पनी तथा मुख्य कम्पनीले आफ्नो पूर्ण स्वामित्व भएको सहायक कम्पनीमा गरेको लगानी, सो कम्पनीलाई दिइएको सापटी र सो कम्पनीले लिएको ऋणबापत दिइएको जमानत तथा यस ऐनअन्तर्गत जारी भएको हकप्रद सेयरमा गरिएको लगानीको सम्बन्धमा कम्पनीबीचको कारोबार सीमामा प्रतिबन्ध नलाग्ने उल्लेख छ।
तर यतीको दोस्रो अनुच्छेदअनुसारको प्रावधान पूरा नभएकाले चुक्ता पुँजी थप्नुपर्ने भएको रजिस्ट्रारको कार्यालयले जनाएको छ।
गणतन्त्र आउनुअघि दरबारको सम्पत्ति रहेको गोकर्णको जग्गामा रिसोर्ट सञ्चालन गर्न सुभिर ब्रदर्सले सन् १९९५ मा दरबारअन्तर्गतको राजकीय सम्पत्ति कोष विभागबाट अनुमति लिएको थियो। गणतन्त्रपछि दरबार र पूर्वराजपरिवारको सम्पत्ति राष्ट्रियकरण गर्ने क्रममा यसको स्वामित्व नेपाल ट्रस्टमा गएको थियो। १९९५ मा गरिएको लिज सम्झौता २०२५ सम्मका लागि हो। सम्झौताअनुसार रिसोर्टले ट्रस्टलाई वार्षिक १ लाख ४० हजार अमेरिकी डलर (करिब एक करोड ४० लाख रुपैयाँ) भाडा बुझाउँदै आएको थियो। २०७१ सम्म १ लाख ६० हजार डलर र २०७६ सालसम्म वार्षिक २ लाख ६० हजार डलर तिर्नुपर्ने सम्झौता छ।
४ सय ७० एकड क्षेत्रफलमा फैलिएको रिसोर्टमा १ सय कोठा छन्। रिसोर्टमा ६ वटा सुइट छन्। रिसोर्टभित्रै गल्फ कोर्ससमेत छ। गोकर्ण सञ्चालन गरेको यती होल्डिङसको यती एयरलाइन्स, तारा एयर, यती होलिडेज, यती इन्सेन्टिभ होलिडेज, यती माउन्टेन होलिडेज, थामसेर्कु ट्रेकिङ कम्पनीलगायत छन्।

प्रकाशित: ३ फाल्गुन २०७१ २१:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App