नेपाल आयल निगमले आसन्न चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ।
निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य प्राप्त भए पनि हाल कायम साविककै बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको हो।
मूल्य यथावत् राख्दा निगमलाई पाक्षिक (१५ दिन) रूपमा ३ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ।
विगत केही महिनादेखि मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र उतारचढाव आइरहेको छ।
सोही कारण स्वचालित मूल्य प्रणालीबमोजिम मूल्य समायोजन गर्नुपर्ने अवस्था रहे पनि चाडबाडको मुखमा उपभोक्तालाई मार नपरोस् भनेर मूल्य नबढाइएको निगमले जनाएको छ।
निगमले सार्वजनिक गरेको मूल्यसूचीअनुसार पेट्रोलको पहिलो वर्गको मूल्य प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको १९९ रुपैयाँ र तेस्रो वर्गको २०० रुपैयाँ कायम छ। त्यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गमा १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ प्रतिलिटर रहेको छ।
हवाई इन्धनतर्फ आन्तरिक उडानका लागि प्रतिलिटर २४९ रुपैयाँ कायम गरिएको छ। एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम छ।
यसैगरी, हवाई इन्धन (आन्तरिक र अन्तर्राष्ट्रियतर्फ) काठमाडौं, भैरहवा र पोखरा विमानस्थलका लागि तोकिएको साविककै दर कायम गरिएको निगमका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: २९ आश्विन २०८३ २१:२१ बिहीबार

