७ वैशाख २०८१ शुक्रबार
समाज

उर्लाबारी प्रकरणः बास्तोला हत्याका एक आरोपित थुनामा

मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेकामध्ये एकजनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको छ। बिहीबार मोरङ जिल्ला अदालतले रतुवामाई नगरपालिका –१० का निकेश शिवा भनिने मेहेरमान दर्जीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

अर्का आरोपी उर्लाबारी–९ का ३४ वर्षीय कुमार राईलाई भने तीन लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए। ‘न्यायाधीश सुदर्शन लाछिमानेको इजलासले कर्तव्य ज्यान मुद्दामा प्रतिवादी बनाइएकामध्ये दर्जीलाई थुनामा र राईलाई धरौटीमा छाड्न आदेश दिएको हो,’ दाहालले भने।  प्रवीणको हत्या भए पनि दोषीलाई प्रहरीले उन्मुक्ति दिएको भन्दै गत आइतबारदेखि स्थानिय र परिवारका सदस्यले आन्दोलन गर्दै आएका थिए। आफूविरुद्ध आन्दोलन सुरु भएपछि प्रहरीले अनुसन्धानको अन्तिम प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो। सरकारी वकिलको कार्यालयले घटनामा संलग्न भएको आशंकामा ६ जनालाई प्रतिवादी बनाउँदै अभियोगपत्र तयार गरेर जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको हो। मुद्दा दर्ता भएपछि प्रहरीले दुईजनालाई पक्राउ गरेको थियो। अन्य चारजना भने अझै फरार छन्।

मुद्दामा उर्लाबारी–६ का राजेश रणपहेली, सुदीप परियार, दिपेश पौडेल र रमेश गिरीसमेतलाई प्रतिवादी बनाइएको छ। यसअघि हाल प्रतिवादी बनाइएका सबै ६ जनालाई प्रहरीले पहिले पनि पक्राउ गरेको थियो। तर आवश्यक प्रमाण नपुगेको भन्दै सरकारी वकिलको कार्यालयले माघ २ गते हाजिरी जमानीमा छाडेको थियो। प्रहरीले पहिलेदेखि नै अनुसन्धान गरिरहेको घटना भए पनि अहिले आएर पोस्टमार्टम र भिसेरा परीक्षण रिपोर्टले हत्या भएको देखाएको मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले बताए।  

‘रिपोर्टले श्वास फेर्न नसकेर वा निसास्सिएर मृत्यु भएको भन्ने देखाएका कारण हत्या भएको दाबीसहित मुद्दा अघि बढाइएको हो,’ खड्काले भने। प्रहरीले घटनाको अनुसन्धानमा कुनै पनि कमजोरी नगरेको उनको दाबी छ। घटनाबारे प्रहरीले सुरुदेखि नै सुक्ष्म ढंगले अनुसन्धान गरेको उनले बताए। सरकारी वकिलको कार्यालयमा मिसिल पुगेपछि सो कार्यालयले विभिन्न ५ वटा बुद्धामा थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो।  

थप अनुसन्धानका लागि समय लागेकाले थुनामा राख्ने २५ दिनको म्याद गुज्रेपछि पक्राउ परेका ६ जनालाई छाड्नु परेको प्रहरी प्रमुख खड्काले बताए। बास्तोलाको गत पुस ५ गते साथिको कोठामा सुतैकै ठाउँमा शंकास्पद मृत्यु भएको थियो। प्रतिवादीमध्ये गिरीको घरमा डेरा गरेर बसेका साथीको कोठामा बस्नलाई माघ ४ गते पुगेका प्रवीणको मृत्यु भएको खबर भोलिपल्ट परिवारका सदस्यले पाएका थिए।  

मृतककी बहिनी सदीक्षाले प्रहरीमा रहेको मिसिल हेर्दा फोटो नै परिवर्तन भएको भेटेकी थिइन्। मृतकको फोटो हुनुपर्ने ठाउँमा अर्कै मान्छेको फोटो राखेको पाइएपछि घटनालाई कमजोर बनाउन प्रहरी नै लागेको आरोप लगाउँदै आफन्त र स्थानीय आन्दोलित बनेका थिए। घटनासँग सम्बन्धित मिसिल र फोटो हेरफेर गरेको विषयमा अनुसन्धान अधिकृत माथि नै छानविन गर्न जिल्ला प्रहरी कार्यालय मोरङले समिति गठन गरेको थियो। सो समितिले अझै छानविन गरिरहेको र अन्तिम प्रतिवेदन बुझाउन बाँकी रहेको प्रहरी प्रमुख खड्काले बताए।

प्रकाशित: १४ फाल्गुन २०७७ ०३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App