१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

नागरिककर्मी श्रीराम सम्मानित

खोटाङका साहित्यकार एवं पत्रकार श्रीराम राईले शंशाक भवानी–शंकर लघुकथा सम्मान पाएका छन्। नेपाली वाङ्मय जगतमा आख्यान विद्याका साथै साहित्यिक पत्रकारिताको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै राईलाई शंशाक भवानी–शंकर लघुकथा सम्मान प्रदान गरिएको हो।  

लुनार बोर्डिङ स्कुल टोखा, काठमाडौंमा शुक्रबार भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगत उपाध्याय प्रक्षितले राईलाई सम्मान–पत्र प्रदान गरेका हुन्। शंशाक मासिक काठमाडौंले प्रदान गर्ने शंशाक भवानी–शंकर लघुकथा सम्मान यसपल्ट नागरिक दैनिकमा कार्यरत पत्रकार एवं साहित्यकार राईले पाएका हुन्। १० वर्षे शिक्षण पेसा छाडेर काठमाडौं छिरेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडाका राईका बालकथा संग्रह ‘टोली नेता २०७५’, ‘आजका लघुकथा संयुक्त लेखन २०७४’ लगायत कृति प्रकाशित छन्। विशेषगरी बालकथामा दक्खल राख्ने राई लघुकथा, हाइकु, मुक्तक, गजल र कवितामा पनि उत्तिकै कलम चलाएका छन्।  

शंशाक मासिकले रामप्रसाद पन्त (काठमाडौं) लाई शंशाक यात्री नियात्रा सम्मान, सरिता अर्याल (खोटाङ)लाई शंशाक बहु–प्रतिभा साहित्य सम्मान, ध्रुवकृष्ण ताम्राकार (पनौती)लाई शंशाक तेज–शोभा गीत/गजल सम्मान, सरस्वती चिमोरिया (काभ्रे)लाई शंशाक खड्गध्वज (बलराम)लाई गंगादेवी सिग्देल लेख/रचना सम्मान र वासुदेव गुरागाईं (नुवाकोट)लाई शंशाक अनामणि समीक्षा सम्मान प्रदान गरेको छ। यस्तै, राजेन्द्र घिमिरे सागर (नुवाकोट)लाई शंशाक भद्रकुमारी केसी मुक्तक/हाइकु सम्मान, सदीक्षा वाग्ले (काठमाडौं)लाई शंशाक कौशिक बालप्रतिभा सम्मान, निबन्ध आचार्य (काठमाडौं)लाई शंशाक शुक्रमाया–मन्दिर जंग राई स्मृति साहित्य पत्रकारिता सम्मान र प्राज्ञ माया ठकुरी (ललितपुर)लाई शंशाक गोपालराज–मैयादेवी पाण्डे स्मृति सम्मान प्रदान गरिएको शंशाक मासिकले जनाएको छ।  

शंशाक सम्मान एवं पुरस्कार समर्पण समारोहमा भवानी मैयाँ पन्तको कवितासंग्रह ‘देश रोएको बेला’ को लोकार्पण गरिएको छ।

प्रकाशित: २ फाल्गुन २०७७ ०२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App