२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

गोरखाका ८८ विद्यालयका १० हजार बढी विद्यार्थीलाई पोशाक र शैक्षिक सामाग्री

विद्यार्थीलाई पोशाक वितरण गर्दै पूर्व उपप्रधानमन्त्री सिंह, संभव नेपालका अध्यक्ष खत्री लगायत । तस्विर ः नरहरि÷नागरिक

संभव नेपालले गोरखाको चुमनुब्री गाउँपालिकाका एकहजार ४ सय १२ जना विद्यार्थीलाई पोशाक सहित शैक्षिक सामग्री बितरण गरेको छ । चुमुनब्री गाउँपालिका–३ सिर्दीबासमा आयोजित कार्यक्रममा विद्यार्थीलाई सामग्री बितरण गरेको हो ।  

चमुनब्रीबाट सुरु भएको उक्त कार्यक्रम गोरखाको तीनवटा गाउँपालिकाका ८८ वटा विद्यालयमा संचालन हुने संभव नेपालका अध्यक्ष प्रेम खत्रीले बताए । धार्चे गाउँपालिकाका २५ वटा विद्यालयका चारहजार २०, भिमसेन थापा गाउँपालिकाका ४३ वटा विद्यालयका पाँच हजार तीन सय विद्यार्थी सहित १० हजार छ सय ९३ जना विद्यार्थीलाई सामाग्री बितरण गरिने अध्यक्ष खत्रीले बताए । ‘चमुनब्री गाउँपालिका मार्फत सबै वडाका विद्यालयलाई विहीबार हस्तान्तरण भएको छ’ उनले भने ‘केही समयमा सबैतिर बितरण गर्छाै ।’

विद्यार्थीलाई ट्रयाक्सुट, टोपी, स्कुल ब्याग र होमवर्क डायरी बितरण गरिएको छ । एउटा विद्यार्थीका लागि करिब एकहजार सात सय रुपैयाँ बरावरको सामग्री बितरण गरिएको उनले बताए । सिर्दीबासमा चुमनुब्री गाउँपालिकामा भएको कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं कांग्रेस नेता प्रकाशमान सिंहले दुर्गम क्षेत्रका सबै विद्यालयका विद्यार्थीलाई पोशाक र शैक्षिक सामाग्री दिनु प्रभावकारी भएको बताए । उनले विद्यालय तहमा शिक्षा राम्रो दिन सकियो भने भविष्यमा विद्यार्थीको भविष्य उज्जवल हुने बताए । कांग्रेसका गोरखा सभापति हरिबहादुर घलेले शिक्ष बिना उत्तरी गोरखाको विकास नहुने बताए ।  

संभव नेपालका संस्थापक अध्यक्ष खत्रीले केही वर्षपछि विद्यालयका विद्यार्थीलाई अहिले दिएजस्तै पोशाक सहितको सामग्री सहयोग गर्ने बताए । होमवर्क डायरीले विद्यार्थी, शिक्षक, र अविभावकलाई पनि उत्तरदायि बनाउने हुँदा बालवालिकाको शिक्षा दिक्षामा सहयोग पुग्ने उनले बताए । निजी विद्यालयमा भएको अभ्यास सरकारी विद्यालयका बालवालिकामा पनि सिकाउने सक्ने हो भने गुणस्तर बढाउन र अविभावक शिक्षकलाई थप जिम्मेवारी बनाउन मद्दत पुग्ने उजले बताए ।

वुद्ध मावि सिर्दिबासका विद्यार्थीलाई पनि बिहीवार नै पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, सहयोगदाता संभव नेपालका अध्यक्ष प्रेम खत्रीले हस्तान्तरण गरे । अन्य वडाका विद्यालयको शैक्षिक सामग्री भने कार्यक्रममा गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङलाई हस्तान्तरण गर्दै गाउँपालिकालाई जिम्मा लगाइएको छ । उक्त सामग्री वडा मार्फत सबै विद्यालयमा पुरयाउने गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले बताए ।  

संभव नेपालको स्थापना गोरखाको आरुघाट गाउँपालिका ८ का प्रेमकुमार खत्रीले २०६५ सालमा गरेका हुन् । पर्यटन व्यवसायी खत्रीले यसअघि चुमनुब्री, धार्चे, आरुघाट, भिमसेन थापा गाउँपालिकामा १४० थान थर्मल गन, ५७ हजार थान कटन मास्क, २० हजार ५९२ थान हात धुने साबुन स्थानीय तह मार्फत सबै विद्यालयलाई बितरण गरेका थिए ।  

प्रकाशित: ३० माघ २०७७ ०५:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App