७ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

केन्द्र सार्ने प्रस्ताव विरुद्ध मादीको कार्यालय तोडफोड

असन्तुष्ट पक्ष तालाबन्दी र तोडफोडमा उत्रियो

केन्द्र सार्ने निर्णय विरुद्ध तोडफोड भएको कास्कीको मादी गाउँपालिका कार्यालय र स्थानीयबासि । तस्बिरः नागरिक

कास्कीको मादी गाउँपालिकाको केन्द्र साझा–बेतेनीमा सार्ने प्रस्तावपछि उत्पन्न विवाद उत्कर्षमा पुगेको छ । साविक याङ्जाकोटमा रहेको मादीको केन्द्र साझा–बेतेनीमा सार्ने निर्णयलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाले प्रदेश सरकार र संघीय सरकारलाई एकवर्ष अघि नै अनुरोध गरेको थियो । तर, संघीय सरकारले निर्णय नलिएपछि प्रदेशले पनि संघीय सरकारलाईमा थप अनुरोध गरेपछि विवाद निस्केको हो ।  

मादीको केन्द्र साविक याङ्जाकोट वा याङ्जाकोट देउराली नै हुनुपर्ने माग गर्दै आएका स्थानियले सो निर्णयबिरुद्ध मादी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको थियो । असन्तुष्ट समूहले लगाएको ताला गाउँपालिका प्रमुख बेदबहादुर गुरुङको निर्देशनमा बुधबार खोलिएपछि स्थानियले दिनभर धर्ना दिनुका साथै कार्यालयको गेट, कार्यकारी अधिकृत चढ्ने गाडी तोडफोड गरेका छन् । साथै उनीहरुले गाउँपालिका प्रमुख गुरुङ र प्रशासकीय अधिकृतको नेमप्लेट उप्काएर फालिदिएका छन् ।  

कार्यालय खोलेर गाउँपालिका प्रमुख, प्रशासकीय अधिकृतसहितका जनप्रतिनिधि तथा कर्मचारी भित्र बसिरहँदा बाहिर भएका असन्तुष्ट पक्षले कार्यालयको गेट तोडफोड गरेर ढलाएका छन् । त्यस्तै प्रशासकीय अधिकृत चढ्ने ग.३ च.३३५२ नम्बरको स्कार्पियो गाडीको शिशा फोडिएको गाउँपालिका प्रमुख बेदबहादुर गुरुङले जानकारी दिए ।

आन्दोलनको नेतृत्व गरेका संघर्ष समितिका संयोजक तथा नेपाली कांग्रेस वडा नम्बर ३ का अध्यक्ष नारायण गुरुङले षडयन्त्रपूर्वक केन्द्र सार्ने निर्णयपछि आक्रोशित स्थानियले तोडफोड गर्नु सामान्य भएको बताए । उनले आन्दोलन जारी रहने बताउँदै ताला फोडेर खोलिएको कार्यालयमा पुनः ताला लगाइएको बताए । प्रशासकीय अधिकृतलाई गाउँपालिका प्रमुखको कार्यकक्षमा पठाएर पुनः तालाबन्दी गरिएको उनले बताए । प्रशासनिक काम गर्न नदिने नीति अनुरुप प्रशासकीय भवनमा तालाबन्दी गरिएको उनले बताए ।

असन्तुष्ट पक्षले स्थानिय स्वायत्त शासन ऐन र राजनीतिक सहमति विपरित मादीको केन्द्र मादी–३ याङ्जाकोटबाट साझा–बेतेनीमा सार्ने निर्णय गरेको आरोप लगाएको छ । मादी गाउँपालिकाको छैठौं साधारण सभाले मादीको केन्द्र वडा नम्बर ४ र ५ को मादी करिडोर छेउपर्ने बेतेनी, वडा नम्बर ३ स्थित याञ्जाकोट देउराली, वडा नम्बर ४ को तारकाङस्थित माजडी र साविक वडा नम्बर ३ स्थित याङ्जाकोटलाई बनाउन सिफारिस गर्ने सहमति भएपनि पालिका प्रमुख गुरुङले प्रदेश सरकार र संघ सरकारमा पठाउँदा बेतेनीलाई केन्द्र बनाउने निर्णय भएको भनेर गलत तरिका अपनाएकाले विरोध स्वरुप तालाबन्दी गर्नुपरेको संघर्ष समितिका संयोजक गुरुङले बताए ।  

गाउँसभामा चारै विकल्पलाई खुल्ला छलफल र सहमतिबाट टुंगो लगाउने भनिएपनि अहिले आएर षडयन्त्रपूर्वक बेतेनीमा केन्द्र सार्न खोजिएको उनीहरुको आरोप छ । स्थानिय स्वायत्त शासन अनुसार पालिकाको केन्द्र सार्न कि सर्वसम्मत निर्णय गर्नुपर्ने हुन्छ ननभए दुईतिहाई बहुमतबाट पारित गर्नुपर्ने हुन्छ । त्यसरी पारित गरेको निर्णय प्रदेश सभा र संघीय सरकारलाई सिफारिस गर्नुपर्ने प्रावधान रहेको छ ।  

गाउँपालिका अध्यक्षसहित नेकपाको बर्चस्व रहेको पालिकाको गत पुसमा सम्पन्न साधारण सभामा साझा बेतेनीमै केन्द्र बनाउने प्रस्ताव आएको थियो । तर नेकपाको पक्षमा दुई तिहाई बहुमत एकमतले नपुग्दा केन्द्रका लागि ४ विकल्प सारिएको थियो । उक्त चार प्रस्तावमा पछि छलफल गरेर सहमति गर्ने यसअघिको सहमति अनुसार पुनः सहमतिको प्रयास गर्नुपर्ने असन्तुष्ट पक्षको माग छ । तर अहिले छलकपट गरेर साधारणसभाको निर्णय भनेर गलत निर्णय सिफारिस भएको उनीहरुको आरोप छ ।

तालाबन्दी गर्ने समुह याङ्जाकोटमा केन्द्र हुनुपर्ने पक्षमा छ । आफुहरु याङ्जाकोटमा केन्द्र हुनुपर्ने पक्षमा भएपनि अहिले केन्द्र कहाँ राख्ने विवाद भन्दापनि केन्द्र सार्ने निर्णय प्रक्रियामा आफुहरुको असहमति रहेको आन्दोलनका नेतृत्वकर्ता गुरुङ बताउँछन् । ‘केन्द्र बेतेनीमै सार्ने हो भने प्रस्तावपनि त्यहि अनुसार आउनुपथ्र्यो,’ उनले भने, ‘प्रस्तावचाहिं एउटा आउने, अनि निर्णयचाहिं अर्कै भयो भनेर गलत सिफारिस गर्नु नाजायज छ, यो गलत हो ।’ उनले निर्णय नसच्चिएसम्म तालाबन्दी नखुलाउने अडान व्यक्त गरे ।

यसैबीच, संघर्षमा उत्रिएका असन्तुष्ट पक्षले सर्वोच्च अदलतमा मुद्धासमेत दायर गरेको छ । पालिकाको केन्द्र बेतेनीमा सार्ने मादी गाउँपालिकाका अध्यक्ष र कार्यकारी अधिकृतलाई विपक्षी बनाएर असन्तुष्ट समूहले रिट दायर गरेको हो ।

प्रकाशित: २१ माघ २०७७ ११:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App