२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
खेल

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड :पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै यस विधामा पर्ने पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो । 

आगामी भदौ २८ गते हुने अवार्डका लागि क्रिकेटका गुल्सन झा, भलिबलकी कविता भट्ट, कबड्डीकी मानमति बिष्ट, फुटबलकी प्रीति राई र रग्बीका श्रीराम श्रेष्ठ पिपल्स च्वाइसको मनोनयनमा परेका हुन् । खेलक्षेत्रमा पाएको सफलता र लोकप्रियताको आधारमा यस विधामा खेलाडीलाई मनोनयन गर्ने गरिन्छ । शुक्रबार पत्रकार सम्मेलनमा प्रीति र गुल्सन भने उपस्थित थिएनन् ।
प्रीति एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको प्रतिस्पर्धाका लागि उनको क्लब एपिएफसँग मलेसिया पुगेकी छन् । गुल्सन भने भारतमा नेपाली क्रिकेट टोलीको प्रशिक्षणमा छन् । पत्रकार सम्मेलनमा पाँच खेलाडीमध्ये तीनले यो अवार्डको मनोनयनमा पर्नु नै गौरवको क्षण रहेको प्रतिक्रिया दिँदै आ–आफ्ना खेल संघ र टिमको साथले यहाँ आइपुगेको धारणा राखे । रग्बी खेलाडीका श्रीरामले १० वर्ष राष्ट्रिय टोलीबाट खेलेपछि यो सफलता पाएको उल्लेख गर्दै मनोनयनमा आफू एक्लै नभइ नेपालको रग्बी खेल परेको धारणा राखे ।


पिपल्स च्वाइसको विजेता चयन खेलपत्रकार, राष्ट्रिय प्रशिक्षक, समर्थक र ई–सेवाकोे भोटिङबाट हुनेछ । ५० प्रतिशत मतभार रहने ईसेवाको भोटिङ शुक्रबारदेखि नै सुरु भैसकेको छ । सामाजिक सञ्जाल फेसबुक मतभार २५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोटर््स अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजमा रहेको खेलाडीका फोटोमा लाइक), नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र एनएसजेफ सदस्यको मतभार १२.५ प्रतिशत रहनेछ ।

शुक्रबार नै मनोनयन सार्वजनिक हुनुअघि मञ्च र भोटिङ पार्टनरका रूपमा विद्युतीय भुक्तानीका लागि चर्चित सेवाप्रदायक कम्पनी ई–सेवासँग सम्झौता नवीकरण भएको थियो । मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी र ई–सेवाका प्रमुख बजार व्यवस्थापक आशिष गौतमबीच सम्झौता भएको हो । सो अवसरमा गौतमले विगत ६ वर्षदेखि भैरहेको यो सहकार्यप्रति सदैव गौरवपूर्ण रूपमा लिने बताए । 'हामीले पिपल्स च्वाइस आफ्नो क्यालेन्डरमा नै समावेश गर्न थालिसकेका छौं । राष्ट्रले गर्नुपर्ने काम पत्रकार मञ्चले गर्दै आइरहेको र यसमा हामी पनि सहभागी हुन पाउँदा धेरै खुसी छौं,'उनले भने ।

यस मनोनयनमा पर्ने पाँचै खेलाडीले इसेवा केयर प्रडक्ट पनि पाउने ई–सेवाका प्रमुख बजार व्यवस्थापक गौतमले जानकारी दिए । कमलादास्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने पल्सर स्पोर्ट्स अवार्ड २०८० मा उत्कृष्ट वर्ष पुरुष खेलाडी, उत्कृष्ट वर्ष महिला खेलाडी, उत्कृष्ट वर्ष प्रशिक्षक, उत्कृष्ट वर्ष युवा खेलाडी, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड र टिम अफ द इयर गरी कुल ९ विधामा अवार्ड प्रदान गरिँदै छ ।

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकको रूपमा गोल्छा ग्रुप हो ।यस पटक वर्ष पुरुष, वर्ष महिला, वर्ष प्रशिक्षक, वर्ष युवा र पिपल्स च्वाइस अवार्ड विजेतालाई पाँच थान बजाज पल्सर मोटरसाइकल प्रदान गरिँदैछ । पिपल्स च्वाइस अवार्डका विजेताले पल्सरको एनएस ४०० सिरिज प्राप्त गर्नेछन् । यो बजाजको नयाँ बाइक हो । अन्य चार विधाका विजेताले एनएस २०० पाउनेछन् । अन्य विधाका विजेतालाई जनही १ लाख रुपैयाँ प्रदान गरिनेछ । अन्य सह–प्रायोजक तथा सहयोगीमा ई–सेवा, सूर्य नेपाल प्रालि, प्लाजा गु्रप अफ होटल, रोयल सिंगी होटल, केल्मी नेपाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) रहेका छन् ।

प्रकाशित: ७ भाद्र २०८१ १९:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App