२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
खेल

हरिश्चन्द्र स्मृति फुटबल : बाल मन्दिरको विजयी यात्रा सुरु

म्यान अफ द म्याच लक्कीलाई पुरस्कार दिइँदै । तस्विरः महेश्वर

शुक्रवारदेखि कटारीमा सुरु भएको ‘प्रथम हरिचन्द्र साह स्मृति कप फुटबल प्रतियोगिता ०८१’मा त्रियुगा नगरपालिका १० को बाल मन्दिर मावि बोक्सेले विजयी यात्रा सुरु गरेको छ । कटारी टाइगर फुटबल क्लबको आयोजनामा भएको  प्रतियोगिताको उद्घाटन खेलमा सौगात एकेडेमी कटारीलाई ३–२ गोलले हराउँदै बाल मन्दिरले विजयी यात्रा थालेको हो ।

बाल मन्दिरका लागि छिरिङ शेर्पाले १ गोल गर्दा अर्का खेलाडी लक्की राईले २ गोल थपे । विपक्षी टिम सौगात एकेडेमीका लागि खेलाडीहरू गोकर्ण अधिकारी र विराज घिमिरेले समान १/१ गोल गरेका थिए । खेलको म्यान अफ म्याच वाल मन्दिरकै लक्की राई भए ।

कटारीका समाजसेवी स्वर्गीय हरिचन्द्र साहको स्मृतिमा आयोजित प्रतियोगिताको उद्घाटन जिल्ला फुटबल संघ उदयपुरका अध्यक्ष रन्जन कार्की र साह पत्नी सुनिता साहले संयुक्त रुपमा गरेका थिए । विद्यालय स्तरीय प्रतियोगितामा माध्यमिक तहमा पढ्ने कक्षा १० सम्मका विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको छ ।

उद्घाटन कार्यक्रममा एन्फा अध्यक्ष कार्कीले विद्यालय तहबाटै बालबालिकालाई खेलकुदप्रति आकर्षण दिनुपर्ने काम गरेकोमा आयोजक टाइगर क्लबको प्रशंसा गरे । बाल्यकालबाटै खेलकुद क्षेत्रमा लगाएर युवायुवतीलाई अनुशासित, गतिशील र सभ्य नागरिक बनाउन सकिने भन्दै कार्कीले यसका लागि तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्ने सुझाए ।

विजयी टिमले नगद ३० हजारसँगै ट्रफी, प्रमाणपत्र र मेडल पुरस्कार पाउने प्रतियोगिताको उपविजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र दिइने क्लबका अध्यक्ष दीपक राईले बताए । प्रतियोगितामा कटारी र त्रियुगा नगर तथा उदयपुरगढी गाउँपालिकाका साथै छिमेकी जिल्ला सिन्धुलीको दुधौली नगरपालिका गरी विभिन्न १४ विद्यालय सहभागी छन् ।

आगामी २० गतेसम्म सञ्चालन हुने प्रतियोगिता अवधिभर दैनिक म्यान अफ द म्याच घोषणा गरी पुरस्कृत गरिने क्लबका प्रशिक्षक रोहन जोशीले बताए । त्यसै गरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उदीयमान खेलाडी, सर्वाधिक गोलकर्ता घोषणा गरी मेडल तथा प्रमाणपत्र पुरस्कार दिइने छ । स्थानीय टाइगर फुटबल खेलमैदान कटारीमा आयोजित उद्घाटन कार्यक्रममा कटारी नगरका विभिन्न वडाका वडाध्यक्षहरू, सुरक्षाकर्मी तथा खेलप्रेमीहरुको सहभागिता थियो ।

प्रकाशित: ७ भाद्र २०८१ १९:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App