२ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

तीन अर्ब लगानीमा चितवनको टाँडीमा भाटभटेनीको निर्माण सुरु

चितवनको टाँडीमा भाटभटेनीको २९ औं शाखा खुल्ने भएको छ। तीन अर्ब रूपैयाँ हाराहारीको लागतमा रत्ननगर नगरपालिका ३ स्थित टाँडीमा भाटभटेनीको सुपरमार्केट स्थापना गर्ने लक्ष्यका साथ बुधबार भवनको शिलान्यान्स समेत गरिएको छ।

एक वर्षभित्र स्टोर सञ्चालन गर्ने लक्ष्यसहित भवनको शिलान्यास गरिएको भाटभटेनी सुपरमार्केट्सका प्रबन्धक विनोद भट्टराईले जानकारी दिए। यो शाखा भाटभटेनीकै ठूलो सुपरमार्केट हुने उनले बताए।

‘चार विघा क्षेत्रफलमा फैलिएको भाटभटेनी तीन लाख २२ हजार स्क्वायर फिटको हुन्छ’, भट्टराईले भने ‘यो हाम्रो देशकै सबैभन्दा ठूला सुपरमाकेर्ट हुनेछ।’

पूर्वपश्चिम राजमार्गसँग जोडिएको यस भाटभटेनीले सौराहासहित पूर्वी चितवनको बजारलाई समेटने उनले बताए। यस सुपरमार्केटमा दुई वटा सिनेमा हल हुनेछन्। यस्तै फुड कोर्ड र बालबालिका लागि खेल क्षेत्रसमेत तयार हुनेछ। यस शाखाबाट करिव पाँच सय जनाले रोजगारी पाउने अपेक्षा लिइएको छ।

पोखरापछिको पर्यटकीय स्थल सौराहा रहेकाले पर्यटन प्रवद्र्धन गर्नसमेत यस सुपरमार्केटले सहयोग पुर्‍याउने लक्ष्य उनको छ। ‘यो सुपरमार्केट सुविधिा सम्पन्न हुनेछ। विशेष गरी हामीले विदेशी पर्यटक लक्षित सामानसमेत उपलब्ध गराउने योजना छ,’ उनले भने, ‘यसले पूर्वी चितवनलाई चलायमान समेत बनाउन सहज भूमिका खेल्नेछ।’

४० वर्षको अघि काठमाडौंको टंगालमा कोल्डस्टोरबाट सेवा सुरु गरेको भाटभटेनीले चितवनमा दोस्रो शाखा खोल्न लागेको हो। यसअघि भरतपुरमा १२ औं शाखाको रूपमा सुपरमार्केट सञ्चालनमा ल्याएको थियो। भाटभटेनीले उपत्यकामा मात्रै १३ वटा शाखा सञ्चालनमा ल्याएको छ।

यसका २७ वटा स्टोरले सेवा सञ्चालन गरेको छ । तीन वटा निर्माणको चरणमा रहेको प्रबन्धक भट्टराईले जानकारी दिए। देशका मुख्य सहरहरू काठमाडौं, ललितपुर, भक्तपुर, भरतपुर, बुटवल, नेपालगञ्ज, विराटनगर, जनकपुर, वीरगञ्ज सहरमा भाटभटेनी सञ्चालनमा छ।

देशको सबैभन्दा ठूलो सुपर मार्केट चेन भएको भाटभटेनी सुपर स्टोर्सले थप दुई हजार युवाका लागि रोजगारी दिने घोषणा गरी कार्यान्वयनमा ल्याइसकेको छ।

प्रकाशित: २७ भाद्र २०८१ ०७:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App