२ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

सर्लाहीका पालिकाहरूको खाता बन्द, विकास ठप्प !

खाता नखुल्दा बजेट रोकियो, दशैं खर्च संकटमा !

सर्लाहीका कुनै पनि स्थानीय पालिकाको खाता नयाँ आर्थिक वर्ष सुरु भएको दुई महिना बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन।

एघार नगरपालिका र नौ गाउँपालिका रहेको सर्लाहीमा खाता सञ्चालनमा ढिलाइ हुँदा विकास निर्माणका कामहरू पूर्ण रूपमा ठप्प भएका छन्।

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीले पालिकाहरूलाई खाता सञ्चालनका लागि पटक-पटक ताकेता गरिसकेको छ। दसैँ नजिकिँदै गर्दा पनि पालिकाहरूले खाता सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा नगरेको भन्दै कोलेनिकाले दबाब दिन थालेको हो। 

पालिकाहरूले खाता सञ्चालनका लागि कोलेनिकामा बुझाउनुपर्ने विवरणहरू अझै नबुझाएका कारण कोलेनिकाले खाता सञ्चालनको अनुमति दिन नसकेको बताइएको छ। जबसम्म कोलेनिका खाता सञ्चालनको अनुमति दिन सक्दैन, तबसम्म पालिकाहरूले बजेट खर्च गर्न नपाउने प्रावधान छ।

कोलेनिका सर्लाहीका प्रमुख पुष्पप्रसाद गुरागाईँले चालू आर्थिक वर्षको बजेट पारित भएको विवरण, अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन, निकासा भएको रकम खर्च विवरण, फिर्ता गरिनुपर्ने ससर्त अनुदानको विवरणजस्ता कागजात बुझाउनुपर्ने प्रावधान रहेको बताए। तर पालिकाहरूले यी आवश्यक विवरण नबुझाएको र खाता सञ्चालनको प्रक्रिया समेत सुरु नगरेको उनको भनाइ छ।

सर्लाहीका धेरैजसो पालिकाले गत असारमै बजेट अधिवेशन सम्पन्न गरिसकेका छन्, तर ईश्वरपुर नगरपालिका, हरिवन नगरपालिका, बागमती नगरपालिका र विष्णु गाउँपालिकाले विभिन्न कारणले चालू आर्थिक वर्षको बजेट अझै पारित गर्न सकेका छैनन्।

दसैँ नजिकिएसँगै पालिकाहरूले शिक्षा, स्वास्थ्य, कृषि, कर्मचारीहरूको तलब, भत्ता, तथा दसैँ खर्चको निकासा गर्नुपर्ने हुन्छ। साथै, सामाजिक सुरक्षा भत्ता पनि वितरण गर्नुपर्ने हुन्छ। तर, पालिकाहरूले खाता सञ्चालनमा ध्यान नदिँदा कोलेनिकाले बारम्बार ताकेता गर्नु परेको छ।

कोलेनिकाले कुनै पनि पालिका मर्कामा नपरोस् भन्ने चाहनासहित खाता खोल्न दबाब दिइरहेको हो।

प्रकाशित: २७ भाद्र २०८१ २१:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App